बाँकेमा ७ हजार बढीले लगाए दादुराको खोप

पुस २८, २०७९ | बाँके

दादुराको प्रकोप फैलिएर महामारीको रुप लिन थालेपछि खोप लगाउन सुरु गरिएको बाँकेमा संक्रमितको संख्या पनि बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आजसम्ममा सात हजार एक सय ६३ जना बालबालिकाले दादुरा विरुद्ध खोप लगाएका छन् । जिल्लाका १० हजार ९ सय ९६ जनालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार नेपालगञ्जमा संक्रमितको संख्या बढ्दै गएपछि दादुरा विरुद्धको खोप अभियान चलाइएको हो । १३ वटा केन्द्रमा खोप सेवा प्रदान गरीएको छ । संक्रमण देखिएका वडाका ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको नेपालगञ्ज उपमहानगरका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

 जिल्लामा १ सय १३ बालबालिकामा दादुरा संक्रमण भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । दादुरा संक्रमण तीव्र भएपछि अहिलेसम्म दुई बालबालिकाको उपचारका लागि भेरी अस्पतालमा भर्ना गरिएको छ । 


प्रतिक्रिया