सिद्धार्थनगरमा निःशुल्क शारीरिक अपांगता परीक्षण गरिंदै

माघ ६, २०७९ | तिलोत्तमा

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले निःशुल्क शारीरिक अपांगता परीक्षण शिविर सञ्चालन गर्ने भएको छ । सिद्धार्थनगर नगरपालिका र अपांग बाल अस्पताल तथा पुनःस्थापन केन्द्रको संयुक्त आयोजनामा माघ ७ गते (शनिबार) शारीरिक अपांगता परीक्षण शिविर सञ्चालन हुने भएको हो ।

स्वास्थ्य शिविर सिद्धार्थनगरस्थित भीम अस्पताल परिसरमा सञ्चालन हुनेछ । सर्वसाधारणको हितका लागि नगरमा शारीरिक अपांगता परीक्षण स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताउनुभयो । 

‘शारीरिक अपांगता भएपनि आर्थिक अभाव वा अन्य समस्याका कारण सर्वसाधारणले सहायक सामग्री वा परीक्षण समेत गराउन नसकेको अवस्था छ’, उहाँले भन्नुभयो, ‘यस शिविरले सर्वसाधारण लाभान्वित हुने विश्वास लिएका छौं ।’ 

नगर प्रमुख खानका अनुसार १८ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर शिविर सञ्चालन हुने भएपनि सो उमेर समूह भन्दा बढीका कोही सर्वसाधारण आएको अवस्थामा समेत सेवा प्रवाह गरिनेछ । 

नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले शिविरको क्रममा शारीरिक अपांगता भएका व्यक्तिको स्वास्थ्य परीक्षणका साथै आवश्यकता अनुसार व्हीलचेयर, बैसाखी लगायत सहायता सामग्री समेत उपलब्ध गराउने जानकारी दिनुभयो । 

उहाँका अनुसार सो शिविरमा कृत्रिम अंगको आवश्यक भएका शारीरिक अपांगता व्यक्तिको नापजाँच गरिने र सो नाप अनुसार उनीहरुलाई शिविर पश्चात कृत्रिम अंग उपलब्ध गराइनेछ ।


प्रतिक्रिया