आँखा सम्बन्धी उपचार सर्वसुलभ बनाउने सरकारको तयारी

माघ १५, २०७९ | काठमाडौं

सरकारले आँखा सम्बन्धी उपचारलाई सर्वसुलभ बनाउने गरी काम अघि बढाएको छ ।

केही सरकारी अस्पतालमा मात्र आँखा सम्बन्धी उपचार रहेकोमा अब जिल्ला अस्पतालमा समेत सेवा पुर्‍याउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा सञ्जय कुमार ठाकुरले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रणनीतिक योजना कार्यान्वयन गर्ने निर्णय भएको हो । अब हरेक तहको स्वास्थ्य संस्थाबाट जनताको पहुँचमा पुर्‍याउने तयारी भएको उहाँले बताउनुभयो ।

सो रणनीतिक योजना कार्यान्वयन गर्ने विषयमा स्वास्थ्य राज्य मन्त्री डा तोसिमा कार्कीले हस्ताक्षर समेत गर्नु भएको छ । यस्तै सरकारले हरेक स्वास्थ्य संस्थाको गुणस्तर मापन गर्ने भएको छ ।

न्युनतम गुणस्तर सेवा, मानव स्रोत, पुर्वाधार लगायतलाई आधार बनाएर गुणस्तर मापन गर्ने प्रवक्ता ठाकुरले बताउनुभयो ।

पहिला ठूला अस्पतालको मात्र गुणस्तर मापन हुने गरेकामा अब हरेक तहको स्वास्थ्य संस्थामा न्युनतम मापदण्डको सेवा प्रवाह हुनुपर्ने सरकारले नीति अवलम्वन गरेको उहाँले बताउनुभयो ।

यसरी हरेक स्वास्थ्य संस्थाको सेवा प्रवाह मापन हुँदा चुस्त बन्न नसकेको स्वास्थ्य सेवामा सुधार हुने अपेक्षा रहेको पनि उहाँको भनाई थियो । 


प्रतिक्रिया