खेलकुद

प्रदेश १ सरकारद्वारा सागका पदक विजेता पुरस्कृत

- देवनारायण साहमोरङ

प्रदेश १ सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई बुधबार पुरस्कृत गरेको छ । सागमा ९८ वटा पद विजेता प्रदेश १ का ८८ जना खेलाडीलाई प्रदेश सरकारले ८० लाख रुपैयाँ प्रदान गरेर पुरस्कृत गरेको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उनीहरुलाई पुरस्कृत गरेका हुन् ।

एकलतर्फ स्वर्ण पदक विजेतालाई ३ लाख, रजत पदक विजेतालाई २ लाख र कास्य पदक विजेतालाई १ लाख, डबल तथा टीमतर्फ खेलाडी संख्याको आधारमा स्वर्ण जित्नेलाई १ लाख र ७५ हजार ५ सय रुपैयाँ वितरण गरिएको थियो । रजत जित्नेलाई १ लाख र ६० हजार र कास्य जित्नेलाई ५० हजार र ४१ हजारको दरले वितरण गरेको सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्द कार्कीले बताउनुभयो ।

एकलतर्फ स्वर्ण पदक विजेताले १८ लाख, रजत विजेताले ८ लाख र कास्य विजेताले १० लाख गरी कूल ३६ लाख प्राप्त गरेका छन् । यस्तै, डबल र टीमतर्फ स्वर्ण विजेता १५ जनाले १२ लाख ३० हजार ५ सय, रजत विजेता २२ जनाले १३ लाख ६२ हजार ५ सय र कास्य विजेता ४१ जनाले १८ लाख ७ हजार गरी कूल ४४ लाख प्राप्त गरेका हुन् ।

एकलतर्फ स्वर्ण विजेता जुडोमा झापाकी देविका खडका, तेक्वान्दोमा सुनसरीकी सिना लिम्बु मादेन र मोरङको भुपेन श्रेष्ठ, कराँतेमा उदयपुरकी अनुपमा मगर, उसुमा इलामकी जुनी राई र साइक्लिङमा सोलुखुम्बुको राजेश मगरले ३/३ लाख प्राप्त गरे ।

रजत विजेता जुडोमा पाँचथरकी मनिता श्रेष्ठ प्रधान र धनकुटाकी विनिता मगर, तेक्वान्दोमा भोजपुरकी अप्सरा कार्की र साइक्लिङमा संखुवासभाको राजीव राईले २/२ लाख प्राप्त गरे । कास्य विजेता तेक्वान्दोमा खोटाङकी युनिसा राई, लन टेनिसमा मोरङकी प्रेरणा कोइराला, व्याडमिन्टनमा भोजपुरको रत्नजित तामाङ, भारोतोलनमा उदयपुरकी संगीता राई र झापाकी राजलक्ष्मी थापा, बक्सिङमा झापाको अर्जुन सिंगु, उसुमा मोरङको अशोक खालिङ्ग र धनकुटाको चित्रसिंह ठकुरी, गल्फमा सुनसरीको शुक्रबहादुर राई र एथलेटिक्समा ओखलढुंगाको टंक कार्कीले १/१ लाख प्राप्त गरे ।

डबल र टीमतर्फ स्वर्ण विजेता तेक्वान्दोमा भोजपुरकी स्वस्तिका तामाङ, सुनसरीका निता गुरुङ र शुशीला राई र कराँतेमा उदयपुरकी संगिता मगरले १/१ लाख र गल्फमा सुनसरीका शुक्रबहादुर राई, निरज तामाङ र टंकबहादुर कार्की र फुटबलमा कप्तान धनकुटाको सुजल श्रेष्ठ, मोरङका विकास खवास र मिक्चेन तामाङ, झापाको अनन्त तामाङ र रेजिन शुब्बा, इलाको छिरिङ्ग गुरुङ र सुनसरीको हेमन्त थापा मगरले ७५ हजार ५ सयको दरले पुरस्कार प्राप्त गरे ।

टिमतर्फ रजत विजेता महिला फुटबलका ८ खेलाडी, महिला ह्याण्डबलका ७, महिला कबड्डीका २, महिला भलिवलका १, महिला बास्केटबलका २ जनाले ६० हजारका दरले, महिला फेन्सिङमा झापाकी कमला श्रेष्ठले ६२ हजार ५ सय र आर्चरीमा खोटाङकी इमायुम राईले एक लाख पुरस्कार प्राप्त गरिन् ।

यस्तै, कास्य विजेता पुरुष क्रिकेटमा मोरङको ललित राजबंशी, जुडोमा ३ जना, महिला क्रिकेटमा ६ जना, पुरुष खोखोमा १, टेनिसमा २, पुरुष बास्केटबलमा १, महिला र पुरुष व्याडमिन्टनमा ४ पुरुष र महिला ८ जना र महिला टेवन टेनिसमा १ जनालाई ४१ हजारको दरले, तेक्वान्दोमा २, आर्चरीमा २, बीच भलिबलमा १, टेनिसमा ३, महिला बास्केटबलमा २, मिक्स डबल व्याडमिन्टनमा २, गल्फमा १ र कराँतेमा १ जनालाई ५० हजारको दरले पुरस्कार प्रदान गरेको छ ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले यस प्रदेशमा खेलकुद क्षेत्रलाई कहिले पनि छायाँमा र राजनीतिक प्रभावमा पर्न नदिने प्रतिबद्धता जनाए । उनले प्रदेश १ लाई खेलकुदको हब बनाउन प्रदेश सरकार सदैब तत्पर रहने उनले बताए ।

सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यसहित कुल २ सय ६ पदक जितेको थियो । संघीय सरकारले स्वर्ण विजेतालाई ९, रजतलाई ६ र कांस्य विजेतालाई ३ लाखको दरले पुरस्कार प्रदान गरिसकेको छ ।