आर्थिक

अत्यधिक चिसोका कारण पदमार्गमा घटे पर्यटक

- आश गुरुङलमजुङ

एक महिनाअघिसम्म चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको घुइँचो लाग्ने गरेको थियो । अत्यधिक चिसो हुन थालेपछि पर्यटक आगमन ह्वात्तै घटेको छ । लगातारको हिमपात र चिसोले पर्यटक घटेका पर्यटन व्यवसायी बताउँछन् । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार एक महिना अघिसम्म पदमार्गमा पर्यटकको लस्कर देखिन्थ्यो । 

चिसो बढेपछि पर्यटक आउन छाडेको उहाँले बताउनुभयो । नोभेम्बरमा औषत दैनिक १ सय ४२ जना पर्यटक आउने गरेको अन्नपूर्ण पदमार्गमा अहिले दैनिक २५/३० जना आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानी चेकपोष्टले जनाएको छ ।

कहिलेकाहीं दैनिक १५ जनासम्ममात्रै आउने गरेका छन् । ‘हिमपात भयो । मौसम चिसो भयो । पर्यटक आउन छोडेको छ’ धारापानी चेकपोष्टकी पर्यटन सहायक सोमी गुरुङले भनिन् ।

उनका अनुसार अक्टोबर महिनामा ६ हजार ८ सय ६६ जना पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिएका थिए । नोभेम्बरमा घटेर ४ हजार २ सय ८३ पर्यटक पदमार्गमा आए । ‘डिसेम्बर महिनादेखि घट्न थालेको पर्यटक आगमन डिसेम्बर दोस्रो सातादेखि दैनिक २०/२५ जनामा सीमित भयो’ उनले भनिन् । 

यसवर्ष चाँडै हिमपात भएकाले चिसो पनि बढेको उनले बताइन् । ‘चिसो बढेपछि तलबाटै पर्यटक आउादैनन्’ उनले भनिन्, ‘चिसो चााडै बढेपछि गमीपनि चााडै होला र पर्यटक आउला ।’

बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्गको बाटो हुँदै पर्यटक लमजुङको उत्तरी क्षेत्र, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत भएर कास्कीको पोखरा पुग्ने गर्छन् । पदमार्गमा पर्ने संसारकै अग्लो पदमार्ग भञ्ज्याङ थोराङला (५,४१६ मि. उचाई) र तिलिचो (४९१९ मि. उचाई) पर्यटकको प्रमुख गन्तव्य हो । चिसो बढेसंगै पदमार्गको गन्तव्यमा पर्यटक कम गएका एक्यापले जनाएको छ ।

एक्याप मनाङका पर्यटन सहायक बृजबहादुर गुरुङका अनुसार थोराङलातिर पर्यटक दैनिक १५/२० जना गइरहेका छन् । एक महिनाअघि डेढसय पर्यटक थोराङला भञ्ज्याङ चढेर मुक्तिनाथ पुग्थे । अहिले भञ्ज्याङमा हिउँ छ । मनाङमै पनि हिउँ जमेको छ । तिलिचोतर्फ २/४ जना पर्यटक जाने गरेको उनले बताए । 

बाटोभरी हिउँ जमेकाले तालसम्मै भने पुग्न सकेको छैन । उनका अनुसार राती माइनस १५ डिग्री सेन्टीग्रेटसम्म तापक्रम झरेको छ । दिउँसो घाम नलाग्ने बेला माइनस ५/६ डिग्री तापक्रम हुन्छ । ‘चिसो बढेको छ’ उनले भने ।

पर्यटकका लागि सेप्टेम्बर, अक्टोबर र नोभेम्बर साथै मार्च, अप्रिल र मे महिनालाई सिजन मानिन्छ । यतिबेला पर्यटक चक्रीय अन्नपूर्ण पदमार्ग भररी नै आउने गर्छन् । यसबाहेकका महिनामा पर्यटक घट्ने एक्यापले जनाएको छ । पर्यटक कम हुने महिना जुलाईमा ३ सय ७८ पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा आएका थिए । 

अगष्टमा ४ सय ७६ पर्यटक आएका थिए । जनवरीमा ४ सय ७२ र फेब्रुअरीमा ५ सय १४ पर्यटक आएका थिए । जुनमा ४ सय ४६ पर्यटक आएका थिए । यी महिना पर्यटक कम आउने महिनाको रुपमा लिइन्छ ।

एक्यापका अनुसार चक्रीय अन्नपूर्ण पदमार्गमा सन् २०१८ मा २९ हजार ४ सय ८० पर्यटक आएका थिए । सन् २०१७ मा २७ हजार ६८ जना पर्यटक आएका थिए । सन् २०१६ मा २२ हजार १ सय ८ पर्यटक पदमार्ग घुम्न आएका थिए ।

प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार शान्ति सुरक्षाको प्रत्यायभूति, चक्रीय अन्नपूर्ण पदमार्गको प्रचारप्रसार, यहाँका प्राकृतिक तथा सांस्कृति स्वाद लगायतले पर्यटकको आकर्षण बढ्दो छ । तर, चिसो र हिमपात हुने समय भने पर्यटक घटेको छ ।

उहाँले भन्नुभयो, ‘एक महिनाअघि पर्यटकको चाप थियो । अहिले त कहींकतैमात्रै देखिन्छ ।’

डीएसपी टीकाबहादुर कार्कीले हिमपातका समय र हिमपातपछि पर्यटकलाई सुरक्षित स्थानतर्फ पठाउन पर्यटकलाई प्रहरीले संगसंगै गन्तव्यमा पुर्‍याउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले पर्यटकलाई अलपत्र पर्न दिएका छैनौं । हिमपातको बेला गन्तव्यमा नजान भनेका छौं । कतिपयलाई हामी आफैंले लगेर गन्तव्यमा सुरक्षितसाथ पुर्‍याएका छौं ।’

चक्रीय अन्नपूर्ण पदमार्गलाई अहिले विश्वको उत्कृष्ट १० सूचीमा छैन । ६ वर्षअघि हिमाली फेदसम्म सडक पुगेपछि उत्कृष्ट १० को सूचीबाट हटेको हो । पदमार्गमा आउने पर्यटक बेंसीसहरबाट सीधै मनाङका विभिन्न ठाउँ पुग्छन् ।

चिसो र हिमपातले चामे भन्दा माथि सवारी साधन सहज रुपमा गुड्न सकेका छैनन् । चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा २१ दिनको हो । पदमार्गको मुस्ताङ र मनाङका हिमाल फेदसम्मै गाडी गुड्न थालेपछि यात्रा छोटिएर एक सातादेखि १० दिनसम्म झरेको छ ।