मुख्य समाचार

प्रदेश २ ले नाम पाएन, सत्तारुढ दलकै प्रस्ताव अस्वीकृत

- सन्तोष सिंहजनकपुर

प्रदेश २ को नामाकरणका लागि दलहरुले दर्ता गराएको चार वटै प्रस्ताव प्रदेशसभाको आजको बैठकले अस्वीकृत गरेको छ । सत्तारुढ राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीले दर्ता गराएको मधेश प्रदेश प्रस्तावमाथि समेत दुई तिहाई समर्थन जुट्न सकेन ।

प्रदेशसभा सञ्चालनको २ वर्षपछि बल्ल प्रदेश २ ले आज नामका लागि प्रस्ताव गरेपनि प्रदेश सभाले अस्वीकृत गरेको हो । राजधानीका लागि अहिले केहीबेरमा बैठक बस्दैछ । जनकपुर क्षेत्रमा राजधानी बनाउन दलहरु सहमत देखिएपनि नामाकरणमा देखिएको क्रस भोटिङका कारण सत्तारुढ दल अप्ठ्यारोमा पर्ने सम्भावना प्रवल रहेको छ । 

प्रस्ताव पारितका लागि दुई तिहाई अर्थात ७२ मत आवश्यक पर्ने थियो । प्रदेश सभामा सत्तापक्ष समाजवादीको ३०, राजपाको २५ सांसद गरी ५५ जना छन् । प्रदेशसभामा नेकपाको ३२, कांग्रेसको १९ र संघीय समाजवादी पार्टीको एक सांसद छन् ।

नामका लागि परेका प्रस्तावमाथि अस्थायी राजधानी जनकपुरमा दिउँसो साढे २ बजेबाट मतदान सुरु भएको थियो । सत्तारुढ दलको मधेश प्रदेश प्रस्तावमाथि क्रस भोटिङ हुने डरले नेकपा र कांग्रेसले आफ्ना सांसदलाई ह्विप लगाएका थिए । 

नेकपाले सांसदबाटै आफ्ना सांसदको मतपत्र हेर्न लगाएको थियो भने कांग्रेसले सांसदलाई घेराबन्दीमा राखेको थियो । सो प्रस्तावको पक्षमा ६० र विपक्षमा ४६ मत खसेको थियो । एक मत बदर भएको थियो । यसअघि नेकपाले प्रस्ताव गरेको जानकी, कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा र नेपाली कांग्रेसका सांसद राजेश्वरप्रसाद साहले प्रस्ताव गर्नुभएको मध्य प्रदेश बहुमतले अस्वीकृत भएको हो ।

 १ सय ७ सदस्य प्रदेशसभामा प्रदेशको नाम ’जानकी’ राख्ने नेकपाको प्रस्तावको पक्षमा ३७ मत मात्रै खसेको थियो । प्रदेशसभामा नेकपाका ३२ सांसद रहेपनि थप ५ सांसदले सो नाममा सहमति जनाएका थिए ।

यस्तै कांग्रेसले राखेको मिथिला भोजपुरा नामको पक्षमा २८ मत मात्रै खसेको थियो । प्रदेशसभामा कांग्रेसका १९ सांसद छन् । थप ९ मतबारे कांग्रेस आफै अनिभिज्ञ छ ।

यस्तै सांसद साहको मध्य प्रदेश नाममा भने ४२ जना सांसदले समर्थन जनाएका थिए । कांग्रेस ईतर सांसदहरुले समेत उहाँको प्रस्तावमा समर्थन जनाए