मुख्य समाचार

तीन महिनामै भत्किएको कालोपत्रे सडक

- अर्जुन राजवंशीबिर्तामोड

– भद्रपुर नगरपालिका ९ र १० नम्बर जोड्ने सडकको कालोपत्रे निर्माण सम्पन्न गरेको तीन महिना नबित्दै भत्किएको छ । चारआली–चन्द्रगढी सडक खण्डदेखि पश्चिम देउनिया पुल छेउसम्मको सडकअन्तर्गत करिब एक किलोमिटर कालोपत्रे पुरै भत्किएको हो । सडक कालोपत्रे इलामको गजुरमुखी निर्माण कम्पनीले गरेको थियो । सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले ठेक्का लगाएको उक्त सडक ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेकाले निर्माण सम्पन्न भएको तीन महिनामै कालोपत्रे पुरै भत्किएको स्थानीय रमेश न्यौपानेको आरोप छ ।

चन्द्रगढी सामुदायिक वनको कार्यालयदेखि पश्चिम चन्द्रगढ हुँदै देउनिया पुलसम्म उक्त सडकको लम्बाई ४ किलोमिटर रहेको छ । सडक कालोपत्रे गर्ने कार्य गत चैतमा सम्पन्न गरेको निर्माण कम्पनीकातर्फबाट साइड इन्चार्ज प्रकाश कडरियाले जानकारी दिए । 

‘चैत अन्तिमतिर कालोपत्रे गरेको सडक जेठ अन्तिमदेखि भत्किन सुरु भएको हो’ स्थानीय सन्तोष भण्डारीले भने,‘एक–दुई ठाउँ मात्र होइन, एक किलोमिटर जति सडक पुरै कामै नलाग्नेगरी भत्किएको छ ।’ उनले सघन सहरी तथा नगरपालिकाबाट अनुगमन र परीक्षणको काम नहुँदा ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेको आरोप लगाए । ‘गुणस्तरीय भएको भए, निर्माण गरेको दुई महिनामै कसरी भत्किन्छ ? त्यो पनि एक–दुई ठाउँमा होइन, एक किलोमिटर लामो सडक कामै नलाग्नेगरी भत्किएको छ’ उनले भने ।

सडकको गुणस्तरबारे पटकपटक कुरा उठाउदा कसैले वास्ता नगरेको भीम खतिवडाले बताए । ‘ठेकेदारका मान्छे र काम गर्नेहरुलाई सडक राम्रो बनेना भनेर हामीले सुरुदेखि नै भन्दै आएका थियौं । तर, उहाँहरुले हाम्रो कुरालाई वास्तै गर्नु भएन’ खतिवडाले भने,‘उल्टो, सघन सहरीबाट जस्तो बनाउन भनेको छ हामीले त्यस्तै सडक बनाएको भनेर ठेकेदारका मान्छेले हामीलाई जवाफ फर्काए ।’ गजुरमुखी निर्माण कम्पनीले सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत भद्रपुर नगरपालिकाभित्र ३१ किलोमिटर सडक र २ किलोमिटर पक्की नाला निर्माणको ठेक्का पाएको छ । उक्त ठेक्का ६५ करोडमा लिएको निर्माण कम्पनीका कडरियाले बताए ।

०७४ असार २० गते २४ महिनामा निर्माण सम्पन्न गर्नेगरी पाएको ठेक्का अझै सकिएको छैन् । पहिलो पटक ७ महिनाको थप गरिएको म्याद गुजारेको निर्माण कम्पनीले दोस्रो पटक म्याद थपको प्रक्रिया अघि बढाएको सघन सहरीका इन्जिनियर बिनोद मिश्रले जानकारी दिए । सडक निर्माण लगत्तै पानी परेको तथा १० चक्के टिपर कुदेकोले कालोपत्रे चाडै भत्किएको निर्माण कम्पनीका साइड इन्चार्ज कडरियाको भनाइ छ । 

नयाँ ट्रयाकमा ग्राभेल र कालोपत्रे संगै गर्नुपरेकोले सडक भत्किएको उनको दाबी छ । उनले भत्किएको सडक तत्काल निर्माण गर्ने बताए । ‘भत्किएको स्थानको कालोपत्रे हटाएर गिटी झारिसकेका छौं । बर्खापछि फेरि कालोपत्रे गर्छाै’ उनले भने । सघन सहरी कार्यालयका साइड इन्जिनियर बिनोद मिश्रले क्षमताभन्दा बढी लोड भएका गाडी चलेकाले कालोपत्रे भत्किएको बताए । 

सडक भत्किएकोबारे निर्माण कम्पनीको ध्यानाकर्षण गराउने कार्य भइसकेकाले बर्खापछि पुन: कालोपत्रे गर्ने काम हुने उनले बताए । उनकाअनुसार उक्त सडकमा सब–बेस र बेस १५/१५ सेन्टिमिटर तथा पिच ३ सेन्टिमिटरको गरिएको थियो ।