राष्ट्रिय

वैदेशिक रोजगारीका नाममा एक करोड १५ लाख ठगी गर्ने महिला पोखराबाट पक्राउ

- केएफएम डेस्ककाठमाडौंं

वैदेशिक रोजगारीका लागि टर्की पठाइदिने भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । 

३० जनासँग गरी एक करोड १५ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा सुरुची भुजेललाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेको ब्यूरेका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो ।

 पक्राउ परेकी भुजेलले केही महिना अघि गएको भूकम्पबाट क्षतिग्रस्त टर्कीमा रोजगारीका लागि संयुक्त राष्ट्रसंघको सहयोग स्वरुप पठाउने आश्वासन देखाई ३० जनासंग सो रकम ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । 

ठगी गरेको भन्दै ब्यूरोमा उजुरी परेपछि अनुसन्धान सुरु गरेको प्रहरीले भुजेललाई ६ गते पक्राउ गरेपनि आजमात्र सार्वजनिक गरेको हो । उनीमाथि अदालतबाट सात दिनको म्याद थप गरि ठगी सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।