विश्लेषण

कांग्रेस सभापति देउवाको अभिव्यक्ति निन्दनीय र दु:खद

- पवन आचार्यकाठमाडौं

रौतहटको राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका पूर्वमन्त्री एवं कांग्रेस नेता महम्मद अफताब आलमलाई छुटाउन प्रयास गरिरहेको भन्ने अभिव्यक्ति दिएर शेरबहादुर देउवा पुन: विवादमा तानिनु भएको छ । 

यसअघि अदालतलको निर्णय पर्खिनु पर्ने र सो निर्णयलाई सबैले सम्मान गर्नुपर्ने अभिव्यक्ति दिएका देउवाले आफ्ना पक्षका नेताको बचाउ गर्न अदालतमा मुद्दा विचाराधीन छ भन्ने समेत बिर्सन पुग्नुभयो । कार्यकर्तालाई आश्वासन दिनकै लागि भए पनि त्यस्ता अभिव्यक्ति दिनु निन्दनीय र दु:खद भएको विश्लेषण राजनीतिक वृत्तमै हुन थालेको छ ।

बोलेर केही कुरा बिग्रिन गयो भने समाजमा त्यस्तालाई सुहाउने आहान छ–तित्राको मुखै वैरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि अहिले यस्तै मनोदशाबाट गुज्रिएका छन् । त्यसैले रौतहट पुगेर उनले भने, ‘आलमजी अहिले जेलमा हुनुहुन्छ । म आफ्नो तर्फबाट आफ्नै किसिमले छुटाउन लागिरहन्छु ।’ 

देउवाले रौतहटका प्रभावशाली नेता महम्मद अफताब आलम जो राजपुर बमकाण्डको आरोपमा अदालतको आदेशमा पुर्पक्षका लागि नख्खु कारागारमा छन् । उनलाई जेलमुक्त गर्नका लागि प्रयास जारी राख्ने आश्वासन कार्यकर्तामाझ दिएका हुन् । आलममााथि बम बिस्फोट गराएको र त्यसपछि मृत्यु भएका र घाईतेलाई नजिकैको इँटा भट्टामा लगेर पोलेर मारेको आरोप छ । 

सम्बोधनका लागि रौतहट जानुपरेपछि आलमका बारेमा बोल्नैपर्ने बाध्यता भएपनि अदालतमा विचाराधीन मुद्दाका बारेमा त्यो तहमा आश्वासन नदिनुपर्ने भनाइ कांग्रेसकै नेताहरुबाट आएका छन् । देउवा तिनै नेता हुन् जो प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गर्ने निर्णयपछि अदालतमा विचाराधीन विषयमा पार्टीले आन्दोलन गर्न मिल्दैन भनेर कार्यकर्तालाई संयमित हुन निर्देशन दिन पछि परेनन् । 

पार्टी केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भनेर निर्णय गराउने तर त्यसविरुद्ध आन्दोलन नगर्ने भनेर कांग्रेस त्यतिबेला सबैको तारो भएको थियो । पछि देउवाले अदालतको निर्णयलाई सम्मान गर्ने तर, अदालतलाई यस्तो निर्णय गर वा उस्तो गर भनेर दबाब दिन नहुने भन्दै आफ्नो भनाइमा स्पष्टिकरण दिनु परेको थियो । तर, अहिले अवस्था उनले बोलेको भन्दा फरक छ । 

अदालतको सम्मान गर्छु भन्ने तिनै देउवा आफ्ना पक्षका नेता जो व्यक्ति हत्याको आरोपमा पुर्पक्षका लागि जेलमा छन् उनलाई छुटाउन लागिपर्छु भनेर सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । यो सबै भन्दा डरलाग्दो अवस्था हो ।

देउवाले आलमका पक्षमा बोलेको यो पहिलो पटक हैन । २०७६ कात्तिक १ गते भक्तपुरमा आयोजित कार्यक्रममा पनि देउवाले १२ वर्ष पुरानो मुद्दा ब्यूँताएर सरकारले कांग्रेसमाथि आक्रमण गर्न खोजेको बताए । त्यतिबेला आलम पक्राउ परेका थिए र सो घटना षड्यन्त्र भएको देउवाको धारणा थियो । 

प्रमुख प्रतिपक्षी दल जहिले पनि गभर्मेन्ट इन वेटिङ हो । कुनै पनि बेला सरकारको नेतृत्व गर्नुपर्ने व्यक्तिले बम बिस्फोट र जिउँदै जलाएर मान्छे मारेको अभियोग लागेका व्यक्तिलाई छुटाउन प्रयास जारी राख्छु भन्नु दण्डहिनतालाई प्रश्रय दिने प्रपञ्च हो । 

अनुसन्धान मार्फत् निर्दोष वा दोषी सावित हुने प्रक्रियालाई सघाउनु नै लोकतान्त्रिक दलको चरित्र हो । निर्दोष कहिल्यै पनि दण्डित नहुने र दोषीले उन्मुक्ति नपाउने वातावरण नै कानूनी राजको बाटो हो । लोकतन्त्र, प्रजातन्त्र र समाजवादलाई मूल मन्त्र मान्ने पार्टीको शीर्ष नेतृत्वबाट कार्यकर्तालाई आश्वासन दिन नै सही यस्ता अभिव्यक्ति आउनु दु:खद र निन्दनीय हो ।

पछिल्लो समय कानून, विधि र विधान भन्दा ममाथि छु भन्ने प्रधानमन्त्री ओलीको चरित्र भन्दै आलोचना गर्ने कांग्रेसजनले अब आफ्ना पार्टी सभापतिबारे के अभिव्यक्ति सार्वजनिक गर्ने हो हेर्न बाँकी छ । 

तर, एउटा सत्य चाहिँ के हो भने कांग्रेसजनले भन्दै आएको ओली चरित्र तिनकै पार्टीमा र अझ शीर्ष तहमा धेरै पहिले देखिनै घुसिसकेको छ । यसलाई बेलैमा सुधार नगरे कााग्रेसको लोकतान्त्रिक कल्पवृक्षमा तानाशाही ऐंजेरु पलाउन बेर छैन ।