विश्लेषण

महाधिवेशनको एक महिना नबित्दै कांग्रेसभित्रको असन्तुष्टी छताछुल्ल

- प्रिन्स गौतमकाठमाडौं

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सकिएको एक महिना पनि भएको छैन । दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित शेरबहादुर देउवाले, एकलौटी ढंगले पार्टी चलाउन थालेको भन्दै नेता शेखर कोइरालाले गुट भेला कै झल्को दिने गरी आफू पक्षधर नेताको भेला सुरु गर्नुभएको छ । 

गुट उपगुट र कोठे बैठकबाट आफू टाढै रहने भन्दै ४७ सय महाधिवेशन प्रतिनिधिसँग वाचा गरेका कोइरालाले किन एक महिना नपुग्दै आफ्नो निर्णयबाट पछि हट्नु भयो त ? कोइराला समुहको पछिल्ला प्रतिक्रियाले कांग्रेसभित्रको असन्तुष्टी छरपस्ट भएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको अन्तिम मतपरिणाम पौष ८ गते सार्वजनिक भएको थियो । तर, सभापतिमा पराजित शेखर कोइराला समूहले पुस २१ गते बुधबार काठमाडौंको एक होटेलमा आफू निकट नेताहरुको भेला गरेर २ सातामै सभापति शेरबहादुर देउवाको निर्णयप्रति कडा रुपमा विरोध गर्‍यो । 

भेलामा नवनिर्वाचित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्रि पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यद्वय अर्जुननसिंह केसी र बलबहादुर केसी तथा महाधिवेशनमा पराजित प्रभावशाली नेताहरुको उपस्थिति थियो । कोइराला समूहले खास गरी सभापतिले मनोनयन गर्ने ३३ जना केन्द्रीय सदस्यमा भाग खोजेको सन्देश भेला मार्फत् दिएको छ । 

सभापति देउवाले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिसक्नु भएको छ । देउवाले मनोनित गरेका नेता महाधिवेशनमा प्रतिनिधिले नचुनेका नेताहरु हुन् । उनीहरु सबै देउवालाई सभापतिमा विजयी गराउन भूमिका खेलेका नेताहरु थिए । यस्तै, महाधिवेशनमा मौनता साधेका रामचन्द्र पौडेललाई केन्द्रीय समितिमा देउवाले मनोनयन गर्नुभएको छ । 

कोइरालाको असन्तुष्टि केन्द्रीय सदस्य मनोनितमै सीमित छैन । कोइराला समूहले राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छान्ने प्रकृयाको समेत विरोध गरेको छ । देउवाले आफूसँग छलफल नगरी उम्मेदवार तय गरेको आरोप कोइराला समूहको छ । संसदीय समिति गठन गरेर उम्मेदवार टुंगो लगाउनुपर्ने कांग्रेको विधानमा उल्लेख छ । 

सभापति देउवाले सो संसदीय समितिलाई पनि पूर्णता दिनुभएको छैन । उहाँले ११ जनालाई संसदीय समितिमा मनोनीत गर्न पाउनुहुन्छ । सो समितिमा कांग्रेसका पदाधिकारी पदेन सदस्य हुने व्यवस्था छ । देउवाको यस किसिमका गतिविधिले कांग्रेसलाई नयाँ उचाईमा पुर्‍याउने अभियानमा विश्राम लाग्ने कोइरालाको ठहर छ ।

१४ औं महाधिवेशपछि पार्टीमा कोइराला समूहको उपस्थिति बलियो छैन । पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कोइराला समूहका नेता थोरै छन् । महाविधेशनपछि कोइराला निकटका प्रभावशालि नेताहरु पदीय जिम्मेवारीबाट बाहिर छन् । एक सय ६७ सदस्यीय केन्द्रीय समितिमा १ सय ३४ जना निर्वाचित भइसकेका छन् । 

यस्तै, देउवाले १३ जनालाई मनोनित गरिसक्नुभएको छ । योसहित कांग्रेस केन्द्रीय समिति १ सय ४७ सदस्यीय भएको छ । २० जनालाई देउवाले मनोनयन गर्न बाँकी छ । पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी रहेको कोइरालाको भनाई छ । 

कोइरालाले भन्ने जस्तै कांग्रेसीजनले अहिले उहाँको गतिविधिलाई समेत नजिकबाट नियालिरहेका छन् । त्यसकारण कोइराला अग्नि परीक्षामा हुनुहुन्छ । पार्टी भित्र कटुता, विभाजन र असहयोगी भावना कसैमा पनि आउन नहुने कोइराला बताउँछन् ।

यो भनिरहँदा कांग्रेसका असन्तुष्ट पक्ष, सभापति देउवालाई पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्ताहरुलाई नियोजित किसिमले पाखा लगाउने छुट नहुने बताइरहेका छन् । त्यसो त पार्टीभित्रको गुट–उपगुटले जकडिएको कांग्रेसलाई त्यस्तै गोलचक्करमा फसाउने छुट कोइरालालाई पनि नभएको सभापति देउवा पक्ष नेताहरु बताउँछन् । 

देउवा निकट नेता एवम् सहमहामन्त्री महेन्द्र यादव भने यति छिट्टै नआत्तिन नेता कोइराला समूहलाई आग्रह गर्नुहुन्छ । केन्द्रीय सदस्यमा मनोनीत गर्न बाँकी भएकोले अब सभापति देउवाले सबैलाई समेटने दाबी गर्नुहुन्छ ।

कम्युनिष्टहरु मिल्न सक्दैनन्, फुट उनीहरुको मौलिक चरित्र हो भनेर सधैं वामपन्थीलाई सत्तोसराप गर्ने कांग्रेस महाधिवेशनको केही साता नपुग्दै आन्तरिक विवादमा फस्न थालेको संकेत देखिएको छ । २०७४ को चुनावी हारले थलिएको कांग्रेसलाई पुर्नताजगी दिन कार्यकर्ताले दोस्रो कार्यकालका लागि नेतृत्वमा पुगेका देउवाबाट धेरै आश गर्नु स्वाभाविक हो । 

अस्वाभाविक त नेतृत्वले कार्यकर्ताको मनोभावना नबुझ्नु हो भन्छन् कांंग्रेस नेताहरु । पार्टीभित्रको तुस नामेट पार्दै नयाँ शक्ति सञ्चार गर्ने कोइरालाको सपनामा देउवाले पानी नखन्याईदिए मात्र पनि अहिलेलाई कांग्रेसले पुनर्जीवन पाउनेमा कुनै शंका नभएको कांग्रेसीजनहरुको बुझाई छ । यो अवस्थामा, मुलुक राष्ट्रिय निर्वाचनहरुको संघारमा पुग्न लागेका बेला कांग्रेसभित्रको आन्तरिक एकता कमजोर हुन सक्ने ठानिएको छ ।