विश्लेषण

राप्रपा बलियो शक्तिको रुपमा संसद फर्किदै, एजेण्डा की नेतृत्वको प्रभाव ?

- तुल्सी अर्याल

निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य सँगै गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहासले ३० बर्ष भन्दा बढी समय व्यतित गरिसकेको छ । तीन दशकको अवधिमा पटक पटकको विभाजन झेलेको राप्रपा कुनै समय सत्ता राजनीतिको निर्णायक शक्ति समेत बनेको थियो । गणतन्त्र स्थापनापछि पुरानै एजेन्डासहित हरेक जसो चुनावमा प्रतिस्पर्धा गदै आएको राप्रपाले यो पटक भने केही उत्साहजनक सफलता पाएको छ । अघिल्लो पटक राष्ट्रिय पार्टी समेत बन्न नपाएको राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ७ सिट जितिसकेको छ भने समानुपातिकमा सिट पाउनका लागि चाहिने भन्दा बढी नै मत पाएको छ । चुनावी सफलतापछि राप्रपाले संसदमा खेल्ने भूमिकाप्रति धेरैको चासो छ ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि पूर्व पञ्च भनिएकाहरुको पार्टीको पहिचान बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निकै उतारचढाव झेलेको छ । बहुदलीय व्यवस्था बहाली भएपछि राप्रपा थापा र राप्रपा चन्दको नामबाट दुई पार्टी बनेका थिए । पूर्व प्रधानमन्त्री सुर्यवहादुर थापाको पार्टी र अर्का पूर्व प्रधानमन्त्री लोकेन्द्रवहादुर चन्दको पार्टीले २०४८ को आम निर्वाचनमा खासै उल्लेख्य प्रदर्शन गर्न सकेनन् । । त्यतिवेला थापा नेतृत्वको पार्टीले १ सीट जित्यो भने चन्द नेतृत्वको पार्टीले ३ सिटमा विजयी भयो, निर्वाचनपछि पार्टी एकता गरेका थिए । २०५१ को मध्यावधि निर्वाचनमा सो पार्टीले प्रतिनिधिसभामा २० सिट जित्न सफल भयो र संसदको तेस्रो ठूलो दलको रुपमा स्थापित बन्यो ।

त्यसबेला कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्दा चन्द नेतृत्वमा रहेको एउटा समूह एमालेसँग गठबन्धन सरकारमा सामेल भएपछि दलमा पुन विभाजनको श्रुङखला सुरु भयो । एमालेसँग गठबन्धन सरकारमा सामेलपश्चात २०५३ फागुन २९ गते चन्द तेस्रो पटक नेपालका प्रधानमन्त्री बने । सूर्यबहादुर थापाको नेतृत्वमा रहेको समूहले काग्रेससँग गठबन्धन गरेको थियो । गठबन्धन गरेर सरकारमा सामेल हुने विषयले पुन राप्रपाभित्र फुटको अवस्था आयो । पार्टीले लोकेन्द्र बहादुर चन्द र नौ समर्थकलाई निष्कासन पनि गर्‍यो । पछि चन्दले आफ्नै पार्टी सुरु गरे । २०५६ को निर्वाचनमा पनि दुबै पक्ष एक्ला एक्लौ सहभागि भए । सूर्यबहादुर थापाले ११ सिट जिते भने लोकेन्द्र बहादुर चन्द नेतृत्वको पार्टीले कुनै पनि सिट जित्न सकेन । पुन चुनावपश्चात यी दलबीच फेरि एकीकरण भयो ।

दोस्रो पटक भएको एकीकरणको केहि समयमै पुन २०६१ मा पार्टी पुन विभाजीत भयो । पार्टीका पूर्व अध्यक्ष थापाले राष्ट्रिय जनशक्ति पार्टी नामक नयाँ दलको गठन गरे । २०६३ मा राष्टिय प्रजातन्त्र पार्टीको विभाजनको रुपमा कमल थापाले राष्टिय प्रजातन्त्र पार्टी नेपाल दल गठन गरे । संविधानसभा पहिलो निर्वाचन २०६४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ ८ सीट जितेको थियो । जसको पार्टीको नेतृत्व पशुपती शमशेर जवराले गरेका थिए । कमल थापा नेतृत्वको राष्टिय प्रजातन्त्र पार्टी नेपालले ४ सीट जितेको थियो । २०७० मा राष्ट्रिय जनशक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गाभियो । त्यसबेला सूर्यबहादुर थापाले पार्टीको नेतृत्व गरेका थिए । दोस्रो संविधानसभामा सो दलले प्रत्यक्षमा ३ र समानुपातिकतर्फ १० सिट सहित १३ सीट जितेको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले समानुपातिकमा २४ सीट जत्दै दोस्रो संविधानसभाको चौथो ठूलो राजनीतिक दल बन्न पुग्यो ।

२०७३ मंसिर ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भयो र पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राखियो । एकीकरणपश्चात २०७३ फागुनमा पार्टीको अध्यक्षमा कमल थापा चुनिएपछि गत २०७४ को निर्वाचनमा थापाकै नेतृत्वमा पार्टी चुनावमा सहभागि बन्यो । प्रतिनिधिसभा निर्वाचन २०७४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले केबल एक सीट जितेको थियो । जसमा राजेन्द्र लिङ्देन मात्र निर्वाचित भएका थिए । समानुपातिकमा तीन प्रतिशत पार गर्न असफल भएपछि सो पार्टी राष्ट्रिय पार्टी हुन असमर्थ भयो । यसले १, ३ र ६ प्रदेश सभामा एक एक सिट जितेको थियो । यसपटकको निर्वाचनमा हालसम्म सार्वजनिक मतपरिणाम अनुशार राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ७ स्थानमा जीत हाशिल गर्दै छैठौ स्थानमा छ भने प्रदेशसभाको प्रत्यक्षतर्फ ११ स्थानमा जित सुरक्षित गरेको छ । यता विश्लेषकले भने राप्रपाको यस पटकको चुनावी परिणामलाई पार्टीको एजेण्डा भन्दा पनि नेतृत्वमा आएको फेरबदलको सफलता दर्शाउछन् । विश्लेषक दाहाल भन्नुहुन्छ, “पार्टीमा नयाँ नेतृत्व आयो, आम नागरिकमा यसको राम्रो सन्देश प्रवाह हुन पुग्यो । पूरानाको विकल्प राप्रपा पनि हुन सक्छ भन्ने प्रभाव पर्‍यो । त्यसैले यस पटक राप्रपाले ल्याएको मत पार्टीको एजेण्डा भन्दा पनि पार्टीमा भएको नेतृत्व परिवर्तनको प्रभाव नै हो ।”

गत २०७८ मंसिरमा भएको एकता महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र लिङदेन चुनिएपछि, राप्रपाका पूर्व अध्यक्ष कपल थापाले पार्टी परित्याग गरेका थिए । थापा यसपटक पनि एमालेको चुनाव चिन्हसहित मकवानपुर क्षेत्र नं १ बाट चुनाव लडेका थिए । तर थापाले राप्रपाका दिपकबहादुर सिंह सँग पराजय व्यहोरे । सिंह २७ हजार ८ सय १६ मतसहित विजयी हुँदा थापा २५ हजार ४ सय २० मतसहित तेस्रो स्थानमा खुम्चिए । अध्यक्ष लिङदेनको उदयपछि यो निर्वाचनमा राप्रपाले आफूलाई नयाँ शक्तिको रुपमा उभ्याएको छ । जसलाई उनको योगदानको रुपमा हेरिएको छ । झापा ३ बाट लगातार दोस्रो पटक जितेका अध्यक्ष लिङदेनले भने अघिल्लो निर्वाचनको तुलनामा पार्टीको मत सन्तोषजनक भएपनि परिणाम अपेक्षाकृत नभएको बताउनुहुन्छ , “हामीले अहिले जुन मतपरिणाम प्राप्त गरेका छौँ, विगतको तुलनामा राप्रपाले धेरै उपलब्धी हाशिल गरेको देखिए तर अहिले आएको यो मतपरिणाम हामीले अपेक्षा गरेअनुरुप आएको भने होइन ।”

लिङदेनसँगै चितवन ३ बाट विक्रम पाण्डे, मकवानपुर १ बाट दिपकबहादुर सिंह, नवलपरासी पश्चिम २ बाट धुब्रबहादुर प्रधान, बाँके २ बाट धवलशमशेर जबरा, रुपन्देही ३ बाट दीपक बोहरा, जुम्ला १ बाट ज्ञानेन्द्र शाहीले चुनाव जितेका छन् । अघिल्लो पटक राष्ट्रि पार्टी बन्न नसकेको राप्रपाले यो पटक पाएको सफलतालाई राजनीतिक रुपमा निकै महत्वपूर्ण मानिएको छ । राप्रपाको विरासत बोकेकामध्ये एक प्रमुख पात्र पूर्व प्रधानमन्त्री चन्द विगतलाई स्मरण गर्दै भन्नुभयो, “पार्टी सुरु गर्दा भर्खरै बहुदलीय व्यवस्था आउँदै थियो । राप्रपा भनेर आम नागरिकमाझ जानै गाहे थियो । त्यो बेला पनि पार्टीले २२ सिट सम्म जितेको छ । गत निर्वाचनको तुलनामा परिणाम सुधारउन्मुख देखिएपनि यो पर्याप्त छैन । ”

राजनीतिक रुपमा सक्रिय नभएका चन्द मुलधारका ठूला पार्टीबाट जनता असन्तुष्ट हुँदा त्यसको लाभ राप्रपालाई मिलेको विश्लेषण गर्छन् । पार्टीले पाएको सफलतापछि आगामी दिनमा अझ सशक्त पार्न नेतृत्वलाई सुझाव दिँदै चन्दले रेडियो कान्तिपुरसँग भन्नुभयो, “बोलेको कुरा कार्यान्वयन गर्न पर्‍यो, पार्टीभित्र सबै पक्षसँग समन्वय र सहकार्य हुन पर्‍यो, अहिलेको परिणाम सन्तोष नै गरिहाल्ने अवस्था छैन । आगामी निर्वाचन ४० /४५ सीट जित्ने लक्ष्य राख्नुपर्छ । ”

निर्वाचनमा प्राप्त उपलव्धिपछि राप्रपाले अब कस्तो नीति लिन्छ र राजनीतिक कदम चाल्छ भन्ने चासो बढी देखिएको छ । चुनावमा पाएको जनमतलाई अहिले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको मतको रुपमा अथ्र्याउन खोजेपनि संसदीय अंकगणितले राप्रपाको एजेन्डालाई फाइदा पुर्‍याउने खालको देखिदैन ।