विश्लेषण

‘कांग्रेसले वीपीको विचार अंगीकार गर्न सकेन’

- सन्तोष गन्धर्वकाठमाडौं

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको स्मरण गर्दै ४१ औं स्मृति दिवस मुलुकभर आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता कोइरालाको सम्झनामा देशका विभिन्न स्थानमा वृक्षारोपण गर्दै १० लाख बिरुवा रोपेको छ । लोकतान्त्रिक आन्दोलनमा वीपीको योगदानको चर्चा भइरहँदा कतिपय वृत्तबाट भने उनको पार्टी नेपाली कांग्रेसले नै उनको विचार र सिद्धान्तलाई अंगीकार गर्न नसकेको आरोप लागिरहेको छ ।

‘हामी गरीब मुलुकको मान्छे, हाम्रो मुलुकमा किसान छ, जस्ले किसानको भलाई गर्दछ, जस्ले हलो जोत्नेको भलाई गर्छ, जस्ले गाउँलाई श्रृगार छ, गाउँमा बस्ने मानिसको भलाई गर्छ, त्यही समाजवादी हो, हाम्रो समाजवाद भनेको गाउँका जनताको भलाई जुन नीति र कार्यक्रमले हुन्छ, त्यही नीति र कार्यक्रम समाजवादी हो ।’ प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको यो भनाई अहिले पनि नेपाली समाजमा उत्तिकै सान्दर्भीक छ । कांग्रेस संस्थापक सभापति वीपी कोइरालाको ४१ औं स्मृति दिवस मनाईरहँदा कांग्रेसले अहिलेसम्म वीपीको विचार र सिद्धान्त अनुशरण गर्न नसकेको भन्दै नेतृत्वको आलोचना हुने गरेको छ ।

देशका राजनीतिक दल मुख्यगरि जनताप्रति उत्तरदायि हुनुपर्छ भन्ने वीपीको सिद्धान्तमा मुख्यगरि उनैकै पार्टी कांग्रेस अडिग हुन नसकेको आरोप लागिरहेको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि वीपीले गरेको कठोर संघर्ष र त्यागको अहिले पनि उत्तीकै चर्चा हुने गरेको छ । बि.स.१९७१ भदौ २४ गते जन्मेका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । जहानियाँ राणा शासनको अन्त्यसंगै देशमा प्रजातन्त्र स्थापनाका लागि कोइरालाले निकै महत्वपुर्ण योगदान गरेका थिए । वि.स.२०१५ को आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाको नेपालको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनामा कहिल्यै विचलित भएनन् । उनी राष्ट्रियताको सवालमा जहिले पनि गम्भीर थिए ।

वि.स. २०१७ पुस १ गते तत्कालीन राजाले कु गर्दै पहिलो जननिर्वाचित सरकार आफ्नो हातमा लिएसंगै कोइराला लगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत त्यतिबेलाका मन्त्रीले सुन्दरीजल बन्दीगृहमा बन्दी जिवन विताउनु पर्‍यो । त्यसपछि विस.२०२५ मा स्वास्थ्यका कारण जेल मुक्त भएका कोइरालाले आठ वर्ष भारतमा निर्वासित जीवन बिताए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई कोइराला पुनः स्वदेश फर्किएका थिए । मेलमिलापको नीति लिएर स्वदेश फर्किएका कोइरालाले मुख्यगरि जनता र राजाबीचको सम्बन्धलाई प्रगाढ बनाउन अभियान चलाएका थिए ।

देशको प्रजातान्त्रिक आन्दोलनका योद्धा कोइरालाको बिचार र सिद्धान्तमा कांग्रेस अडिन नसकेको आरोप लाग्ने गरेको छ । कांग्रेसले वीपीको विचारलाई आफ्नो नीति भनेता पनि व्यवहारमा उर्तान नसकेको कतिको विश्लेषण छ । उसो त, वीपीको जीवन राजनीतिमा मात्रै सिमिति भएन उनले नेपाली साहित्य क्षेत्रलाई एउटा उचाईमा पुर्‍याउन ठुलो योगदान दिएका छन् । १६ बर्षको कलिलो उमेरबाटै लेखनमा रुची राख्ने कोइरालाका …(कथाहरु कुसुमा), (श्वेत भैरुवी), (दोषी चश्मा) हुन भने, (तीन घुम्ती), (नरेन दाई), (सुम्निमा), (मोदिआइन्न), (हिटलर र यहुदी) र बाबु आमा र छोरा, वीपीका उपन्यासहरु हुन् ।