विश्लेषण

उत्तर कोरियाले काठमाडौंस्थित दूतावास बन्द गरेपछि कुटनीतिक वृत्तमा विभिन्न कोणबाट बहस

- असिम सापकोटा काठमाडौं

उत्तर कोरिया विश्व राजनीतिमा अलग पहिचान बनाएको एउटा देश हो । क्षेत्रीय र विश्व शक्ति राष्ट्रहरुसँग उतारचढावपूर्ण सम्वन्धको सामना गर्दै आएको उत्तर कोरियाले तीन साताअघि काठमाडौंस्थित दूतावास बन्द गरेपछि कुटनीतिक वृत्तमा विभिन्न कोणबाट विश्लेषण भएको छ । आर्थिक मन्दीका कारण दूतावास बन्द गरिएको उत्तर कोरिया सरकारको भनाइसहितका विवरण सार्वजनिक भएका छन् । नेपालमा आफ्नो प्रभाव विस्तार गर्ने शक्ति राष्ट्रहरुको होडबाजीकाबीच काठमाडौंबाट दूतावास फिर्ता लैजाने उत्तर कोरियाको कदमको असर कुटनीतिक क्षेत्रमा पर्ने निश्चित छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म नेपालको १ सय ८१ वटा देशसँग कूूटनीतिक सम्बन्ध छ, जसमध्ये उत्तर कोरिया पनि एक हो । नेपाल र उत्तर कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि नेपालले चीनको बेइजिङस्थित दूतावासमार्फत् उत्तर कोरियासँगको कुटनीतिक सम्वन्धलाई जोड्दै आएको थियो भने उत्तर कोरियाले सोही बर्ष नेपालमा दूतावास खोलेको थियो । द्धिपक्षीय सम्वन्ध कायम भएसँगै उत्तर कोरियाले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

त्यस्तै, नेपाल र उत्तर कोरियाबीच इलेक्ट्रोनिक्स, होटल उद्योग, रसायनिक उद्योग, औषधीजन्य वस्तु, मिनरल वाटरलगायतका क्षेत्रमा पनि संयुक्त लगानी हुँदै आईरहेको छ । यही पृष्ठभूमिमा नेपालमा रहेको दूतावास उत्तर कोरियाले गत नोभेम्वर ८ बाट बन्द ग¥यो । दूतावास बन्द गर्ने उत्तर कोरियाको निर्णयपछि कुटनीतिक वृत्तमा विभिन्न कोणबाट व्याख्या र विश्लेषण भइरहेका छन् । चीनका लागि पूर्व राजदूत टंक कार्की नेपालको पछिल्लो वैदेशिक नीति लगायत कारण उत्तर कोरियाले दूतावास बन्द गरेको हुन सक्ने बताउँछन् ।

नेपाल र उत्तर कोरियाबीच लामो सम्बन्ध रहेकाले दूतावास बन्द गर्ने निर्णय कसरी उत्पन्न भयो भन्ने विषयमा गहन अध्ययन हुन आवश्यक भएको प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिका सदस्य एवम् नेपाली काँग्रेसका सासंद उदय शमशेर जबराको भनाइ छ । दूतावास बन्द गर्ने उत्तर कोरियाको निर्णयको सन्देश के हुन सक्छ भन्ने प्रश्नमा सांसद जबराले दूतावास बन्द गर्ने निर्णय गर्दा अन्तराष्ट्रिय जगतमा राम्रो सन्देश नजाने बताए । यो समस्या कुटनीतिक नभई उत्तर कोरियाको आन्तरिक समस्या भएको उनको बुझाई छ ।

कुनैपनि देश विशेषले आफ्नो प्राथमिकता र अवस्था हेरेर दूतावास बन्द गर्ने वा सञ्चालन गर्ने लगायत निर्णय गर्नु स्वाभाविक हो । तर लामो समयदेखि रहेको दूतावास बन्द हुँदा त्यसका नकारात्मक र सकारात्मक असरबारे विश्लेषण हुनुपर्ने देखिएको छ । उत्तर कोरियाले दूतावास बन्द गर्दा त्यती धेरै प्रभाव पर्ने अवस्था भने नभएको परराष्ट्र मामिलाकी विज्ञ इन्द्र अधिकारी बताउँछिन् ।

पछिल्लो समय आर्थिक मन्दिले उत्तर कोरियाको अथतन्त्र्रमा केही चाप परेका कारण दूतावास बन्द गरिएको कतिपयको बुझाइ छ । त्यति मात्र नभई विश्वका शक्ति राष्ट्रहरुले उत्तर कोरियामाथि लगाएका नाकाबन्दी समेत जोडिएको हुन सक्ने अनुमान छ । त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्वन्ध तथा कुटनीतिक विभागका उपप्राध्यापक प्रेम खनाल भन्छन्, “पछिल्लो समय अन्तराष्ट्रिय जगतले उत्तर कोरियालाई जसरी नाका बन्दी लगाएको छ । नाका बन्दी लगाए पछि उत्तर कोरियाको गतिविधिलाई कुनै पनि सरकारले सहयोग नगरुन भन्ने अमेरिकाको चाहना छ । उत्तर कोरियाको क्रियाकलापलाई खुम्चाउदै लगिएको प्रभावले गर्दा हुन सक्छ । ”

अन्तराष्ट्रिय सम्वन्ध, भूराजनीतिको प्रभाव र दवाव दुवै महसुस गर्दै आएको नेपालबाट दूतावास फिर्ता लैजाने उत्तर कोरियाको कदमले कुटनीतिक वृत्तमा एक खालको तरंग ल्याएको छ । त्यसैले यसको असरको पूर्वानुमान गर्न भने सहज छैन । किनकी नेपालमा क्षेत्रीय र विश्व राजनीतिका शक्ति राष्ट्रको प्रभाव पेचिलो बन्दै गएका बेला उत्तर कोरियाको दूतावास बन्द भएको हो ।