विश्लेषण

प्रधानमन्त्रीमा प्रमुख दलका नेताको “म्युजिकल चेयर”

- खिलनाथ ताजपुरिया काठमाडौं

दोस्रो जनआन्दोलनपछि अन्तरिम सरकार हुँदै अहिलेसम्म१३ पटक प्रधानमन्त्री फेरिएको छ । यो अवधिमा काँग्रेस र एमालेका तीन÷तीन जना, माओवादी केन्द्रका दुई जना प्रधानमन्त्री बनेका छन् भने एकपटक गैरदलीय व्यक्ति समेत मुलुकको कार्यकारी पदमा पुगेका छन् । यसरी हेर्दा झन्डै दुई दशकको अवधिमा प्रमुख दलका नेताहरुबीच नै सत्ताको नेतृत्व गर्ने होडबाजी चल्दै आएको देखिन्छ । राजनीतिमा पुस्तान्तरणको बहस भइरहँदा फेरि पनि विगतमा प्रधानमन्त्री भएका शीर्ष नेता नै सत्तामा पुग्ने ध्याउन्नमा छन् । सरकारले जनचाहना अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टी र आक्रोश बढ्दै जाँदा नेताहरुको सत्ता मोह भने हट्न सकेको छैन ।

२०६२÷०६३ साल जनआन्दोलनपछि संसद पुर्नस्थापित भएपछि नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका थिए । केही समय राष्ट्राध्यक्ष समेत भएका कोइराला नेतृत्वको सरकारले पहिलो संविधानसभाको निर्वाचन गराएको थियो । सो निर्वाचनपछि ठूलो दल तत्कालिन विद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री भएका थिए । त्यसपश्चात् मुलुकमा पटक–पटक सरकारको नेतृत्व फेरिंदा प्रमुख दलका शीर्ष नेता नै प्रधानमन्त्रीको कुर्सीमा पुगेका छन् । दाहालपछि पहिलो संविधानसभाको अवधिमा माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री भएका थिए । दोस्रो संविधानसभाको निर्वाचन गर्ने सरकारको नेतृत्व त्यतिवेलाका प्रधानन्यायाधीश खिलराज रेग्मीले मन्त्रीपरिषद् अध्यक्षको रुपमा गरेका थिए ।

दोस्रो संविधानसभा निर्वाचनपछि काँग्रेसको तर्फबाट सुशील कोइराला प्रधानमन्त्री भए भने उनलाई विस्थापित गर्दै केपी ओली पहिलो पटक प्रधानमन्त्री बनेका थिए । ओली सरकारलाई विस्थापित गर्दै पुष्पकमल दाहाल र त्यसपछि शेरवहादुर देउवा प्रधानमन्त्री भए । देउवा नेतृत्वको सरकारले २०७४ सालमा आम निर्वाचन गराएको थियो । सो निर्वाचनपछि एमालेका अध्यक्ष ओली दोस्रो पटक प्रधानमन्त्री भए, नेकपाभित्रको विवाद चुलिदै जाँदा सो पार्टी विभाजन मात्र भएन, ओली सत्ताच्युत भए । त्यसपश्चात् शेरवहादुर देउवा फेरि प्रधानमन्त्री भए र २०७९ साल मंसिरमा आमनिर्वाचन गराएका थिए । त्यो निर्वाचनमा काँग्रेस पहिलो पार्टी भएपनि सत्ता समीकरण आफू अनुकूल बनाउँदा तेस्रो पार्टी माओवादीका अध्यक्ष दाहाल अहिले प्रधानमन्त्री छन् ।



यी घटनाक्रमले प्रधानमन्त्री पदमा कतिपयको शव्दमा “म्युजिकल चेयर” चलिरहेको छ । पुराना अनुहारको वर्चश्व प्रधानमन्त्री पदमा रहँदा जनताको निराशा भने बढ्दो छ । नेताहरुले सत्ताप्राप्ति र राज्यका स्रोतको दोहन गर्ने मात्र काम गरेकाले यस्तो अवस्था आएको विश्लेषक डम्वर खतिवडा बताउँछन् । मुलुकमा लोकतन्त्र बहाली भएको झन्डै दुई दशक हुँदा कार्यपालिकामा देखिएको अस्थिरता, कुशासन, भ्रष्टाचार र वेथिति मौलाउँदै गएको छ । जनचाहना अनुसार काम हुन नसक्नुमा लोकतान्त्रिक परिपाटीलाई वेवास्ता गर्ने दलहरु र तिनका नेताहरुको प्रवृत्तिलाई जिम्मेवार ठानिएको छ ।

दलका नेताहरु प्रधानमन्त्री भएको इतिहास हेर्न हो भने रोचक दृश्य देख्न पाइन्छ । २०५२ सालमा शेरवहादुर देउवा पहिलो पटक प्रधानमन्त्री भएको १३ बर्षपछि २०६५ सालमा पुष्पकमल दाहाल प्रधानमन्त्री भएका थिए । समयक्रममा देउवा पहिलो चोटी प्रधानमन्त्री भएको २० बर्षपछि केपी ओली पहिलो पटक मुलुकको कार्यकारी प्रमुख बनेका थिए । र, अहिले पनि प्रधानमन्त्रीको दौडमा यिनै नेताहरु देखिएका छन् । यही परिस्थितिलाई चित्रण गर्दै राजनीतिमा पुस्तान्तरण र रुपान्तरणको बहस चलिरहेको छ ।

परम्परागत भनिएका दल र नेताप्रति असन्तुष्टी बढ्दै जाँदा ती दलका अर्को पुस्ता नेतृत्व आउनुपर्ने वा नयाँ शक्ति बन्नुपर्ने माग हुँदै आएका छन् । यही क्रममा पछिल्लो निर्वाचनबाट नयाँ दल र अनुहार संसदमा आएपछि मुलुकको राजनीतिक कोर्सलाई रोचक बनाएको छ । तर, नयाँ दल र नेता पनि पुराना दल जस्तै भएको टिप्पणी शुरु हुन थालेका छन् ।

२०७९ मंसिरमा भएको निर्वाचनपछि सत्ता समीकरणको फाइदा उठाउँदै तेस्रो पार्टी माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री भएका छन् । उनै प्रधानमन्त्री दाहालले तीन पटक सत्ता सहयात्री फेरिसकेका छन् । शुरुमा एमाले, रास्वपा र राप्रपा तथा त्यसपछि कंग्रेस र अहिले आएर एमाले र रास्वपासहितका दलको समर्थनमा दाहालले प्रधानमन्त्रीमा आफूलाई निरन्तरता दिएका छन् । नयाँ गठबन्धन बनेको दुई महिना नपुग्दै फेरि सत्ता परिवर्तन हुने आशंका बढिरहेको छ । र, प्रधानमन्त्री हुने सम्भावित दौडमा उनै पुराना राजनीतिक पात्र देखिन्छन् ।