विश्लेषण

‘स्वदेशी उत्पादनलाई निर्यात प्रवर्द्धन गर्ने भनिएपनि सोचे अनुरुप हुन सकेन’

- असिम सापकोटा

सरकारले मुलूकको व्यापार घाटा तथा आयत प्रतिस्थापन गर्नका निम्ती स्वदेशी उत्पादनलाई निर्यात प्रवर्द्धन गर्ने भनिएपनि सोचे अनुरुप हुन नसकेको सरोकारवालाले बताएका छन् । कान्तिपुर पब्लिकेसन्स्ले आयोजना गरेको कान्तिपुर समिट २०२४ मा बोल्ने अधिकांश बक्ताले पछिल्लो समय मुलुकको बाहिर अर्थतन्त्र मजबुत बन्दै गएपनि आन्तरिक अर्थतन्त्रमा सुधार ह्ुन नसकेको बताएका हुन् । कोरोना महामारी, मध्य पुर्वी राष्ट्रमा भइरहेको युद्ध लगायत कारण अर्थतन्त्रको प्रणालीमा असर पुगेको छ । यसवर्षको बजेट , निती तथा कार्यक्रमले अहिले भईरहेको विद्यमान समस्यालाई समाधान गरी परिणाम आउने खालको बजेट ल्याउन आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिना सम्म विदेशी विनिमय सञ्चिती २४ दशमलव २ प्रतिशतले वृद्धि भई १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । सो विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२ दशमलव पाँच महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । चैत मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोड र चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा छ । यो अवधिसम्ममा विप्रेषण आप्रवाह १९ दशमलव आठ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ । सरकारको कुल खर्च नौ खर्ब नौ अर्ब ३९ करोड र राजस्व परिचालन सात खर्ब ४८ अर्ब चार करोड रुपियाँ रहेको बैंकको तथ्यांक छ । त्यसैगरी, विस्तृत मुद्राप्रदाय सात दशमलव पाँच प्रतिशतले बढेको छ । 

आयात २ दशमलव ८ प्रतिशत , निर्यात ३ दशमलव ७ प्रतिशत र कुल वस्तु व्यापार घाटा २ दशमलव ८ प्रतिशतले घटेको हो त्यस्तै निक्षेपको वृद्धिदर १२ दशमलव ५ र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४ दशमलव ९ प्रतिशत रहेको बैंकको आर्थिक तथा वितीय स्थिती प्रतिवेदनमा उल्लेख छ । सोही तथ्यांक अनुसार पछिल्लो तथ्यांक अनुसार मुलुकको बाहिरी अर्थतन्त्र सबल देखिएपनि आन्तिरिक अर्थतन्त्रमा पनि केही चाप परिरहेको विज्ञहरुले बताउदै आएका छन् । त्यस्तै पछिल्लो समय मुलुकको आर्थिक क्षेत्रमा शिथिलता देखिएपनि सबै क्षेत्र धरासायी नभएको नीति अनुसन्धान प्रतिष्ठानकी वरिष्ठ अनुसन्धानकर्ता कल्पना खनालले बताईन् । औद्योगिक र निर्माण क्षेत्र अहिले चलायमान नभएपनि पर्यटन क्षेत्रले गति लिईरहेको उनको भनाई छ । सरकार आगामी आर्थिक वर्षको बजेटको पुर्वसन्धयामा रहेकाले गर्दा दीर्घकालीन औद्योगिक रणनीतिमा सुधार गर्नुपर्नेमा उनले जोड दिएकी छन् ।

विश्वव्यापाी रुपमा फैलिएको कोभिड महामारी, रुस युक्रेन युद्ध लगायत कारण मुलुकको अर्थतन्त्रमा केही दबाब यथावत छ । नेपाल सरकारले चाहिनेभन्दा बढी कडाइ गर्दा यहाँका उद्योगी व्यवसायीको आत्मविश्वास घटेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द« ढकालले बताए । पछिल्लो समय वाणिज्य बैंकहरुमा तरलता बढेको भन्दै आगामी बजेट माफर्त आत्मविश्ववास बढाउन तर्फ सरकार लाग्नुपर्ने उनको भनाई छ ।

अहिले भईरहेको आयत निर्यात तथा व्यापार घाटाको विद्यमान समस्यालाई समाधान गर्न सरकारले बजेट, नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्नुपर्छ । वार्षिक आयत र व्यापार घाटा बढ्दै जादा मुलुक आर्थिक रुपमा आत्मनिर्भर बन्न नसक्ने अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताए । बाहिरका घटनाहरूले पनि नेपालको अर्थतन्त्रलाई प्रभाव पार्ने गरेको उनको भनाई छ । उनले वाह्य असर न्युनिकरणका लागि आर्थिक रूपमा सबल हुन सक्नुपर्ने बताए ।

महत्वकांक्षी बजेटको पछि लाग्दा हरेक वर्ष जसो सरकार आलोचित बन्दै आएको छ । सरकारले बजेट बनाउँदा अर्थतन्त्रको विद्यमान समस्यालाई हल गर्ने तथा आम नागरिक तथा व्यवसायीहरुले अपनत्व महसुस गर्ने खालको हुुनुपर्नेका सरोकारवालाको जोड छ ।