नेपालको खेतबारीमा विषादीको प्रयोग बढ्दै, जनस्वास्थ्य र वातावरणमा पर्ने असरबारे सचेत हुन सुझाव
- काठमाडौंनेपालमा पछिल्लो केही वर्षयता खेतबारीमा प्रयोग हुुने विषादीको आयात बढ्दै गएको छ । जलवायु परिवर्तनका कारण बालीनालीमा उत्पत्ति भएका नयाँ प्रकारका रोग तथा किरालाई न्युनीकरण गर्न विषादीको प्रयोग बढेको देखिन्छ । जथाभावी रुपमा हुने बिषादीको प्रयोग हटाउनुपर्ने अवस्थामा अवैध रुपमा भित्रिने विषादीलाई रोक्नुपर्ने चुनौती देखिएको सम्वद्ध अधिकारीहरुको भनाइ छ । त्यस्तै, विषादीको प्रयोगबारे जनचेतना अभिवृद्धि गर्नुपर्ने उनीहरुले सुझाव दिएका छन् ।
महालेखा परीक्षक कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा नेपालमा विषादीको आयात ४६ दशमलव ३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५÷ ७६ मा ८ लाख ९ हजार ९३ केजी विषादीको आयातबाट ९५ करोड ६१ लाख ४९ हजार रुपैयाँ बाहिरिएको छ । ७६÷ ७७ मा ६ लाख ८१ हजार ६ सय २७ केजीको विषादी आयत गर्दा ७९ करोड ३८ लाख ३ हजार रुपैयाँ खर्च भएको छ ।
७७÷७८ मा ७ लाख ८३ हजार ३ सय ४३ केजी विषादी आयत गर्दा १ अर्ब ६ करोड १८ लाख २३ हजार रुपैयाँ बाहिरिएको सरकारी तथ्याङ्क छ । ७८÷ ७९ मा ११ लाख ३५ हजार ५ सय ४ केजीको विषादी आयत भएकोमा १ अर्ब ६२ करोड ३८ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै, आर्थिक वर्ष ७९ ÷८० मा ११ लाख ८३ हजार ७ सय ४१ केजी विषादी आयात गर्दा १ अर्ब ६९ करोड ६३ लाख ६१ हजार रुपैयाँ देशबाट बाहिरिएको छ । यी तथ्याङ्क हेर्दा हरेक बर्ष करोडौं रुपैया बाहिरिने अवस्थामा छ ।
विषादीको बढ्दो प्रयोगले उत्पादकत्व वृद्धि भएपनि माटोमा असर गर्ने कृषि क्षेत्रका जानकारहरुले बताउदै आएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषिमा लगानी दशक घोषणा लगायत थुप्रै महत्वकांक्षी आयोजनाहरु घोषणा गरेपनि विषादीको प्रयोगका कारण माटोमा परेको असर न्युुनीकरणबारे चासो नदिएको विज्ञहरुको भनाइ छ । कृषि विज्ञ डा कृष्ण प्रसाद पौडेल सरकारले कृषिलाई प्राथमिकतामा राखे पनि माटो जागाउने कुनै ठोस योजना नभएको बताउँछन् ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा रासायनिक विषादीको उपयोगलाई निरुत्साहित गरी जैविक विषादीका प्रर्वद्धन गरिने बताएको छ । सरकारले कृषिलाई प्राथमिकतामा राखेको भन्दै आएपनि विषादीको न्युुनीकरण गर्न भने कुनै ठोस योजना बनाएको छैन । बजारको माग अनुसार अन्नबाली, तरकारी र फलफुुल बढी उत्पादन गर्नुपर्ने बाध्यताले विषादीको प्रयोग बढ्दै गएको सरकारी अधिकारीहरुको भनाइ छ । त्यसमाथि विषादीको जथाभावी प्रयोग रोक्नका लागि गर्नुपर्ने नियमनमा समेत समस्या देखिएको छ ।
बढ्दो विषादीको प्रयोगलाई निरुत्साहित गर्न संघीय सरकारको अभ्यासले मात्र नपुग्ने भएकाले स्थानीय तह देखि नै विषादीको असरबारे सचेतना बढाउनुपर्ने विज्ञहरुको सुझाव छ । विभिन्न कारणले यसको प्रयोग बढेको भन्दै कृषि विज्ञ एवंम नेपाल कृषि अनुसन्धान परिषदका पूर्व निर्देशक राम बहादुुर केसी विषादीको प्रयोगबारे बुझाइमै कमी भएको बताउँछन् ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५÷ ७६ देखि हाल सम्म ८६ दशमलव ८३ प्रतिशत विषादी पञ्जीकरण बढेको सरकारी तथ्यांक छ । पञ्जीकरण गरिएका विषादीहरुमा कीटनाशक, ढुुसीनाशक, ब्याक्टेरियानाशक, सुलसुलेनाशक, शंखेकीरानाशक, मुसानाशक किरानाशक बानस्पतिक र जैविक समूहका विषादीमा सामान्य नामका आधारमा १ सय ६८ र व्यापारिक नामका आधारमा ५ हजार ८ सय ७ विषादी हाल सम्म पञ्जीकरण भएको छ । सरकारले हाल सम्म २ दर्जन भन्दा बढी विषादीको विक्रि वितरणका लागि प्रतिबन्ध लगाएको छ । अनधिकृत रुपमा विषादी भित्रिने क्रमलाई रोक्न नसकिएकोे केन्द्रका सूचना अधिकारी पौडेलले बताए ।
विषादीको बढ्दो प्रयोगले मानव, जीव जनावर र समग्रमा वातावरणमा प्रतिकूूल प्रभाव पर्ने भएकाले यसको आयात, उपयोग र भण्डारणको उचित व्यवस्थापन गर्नुको विकल्प छैन । विषादीले मानव स्वास्थ्यमा समेत निम्त्याउन सक्ने भएकाले यसको प्रयोगकर्ता आँफै पनि सचेत हुन आवश्यक छ ।