विश्लेषण

सरकारले एक सय दिन पार गर्दा सत्तारुढ दलभित्रै असन्तुष्टी

- तारा ढकालकाठमाडौं

गत फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा एमाले, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासहितका दलहरु सहभागी भएका थिए । नेपाली काँग्रेस सहितको गठबन्धन भत्काउँदै प्रधानमन्त्री दाहालले नयाँ समीकरण अनुसार सरकार सञ्चालन गरेको एक सय दिन पुरा भइसकेको छ । एक सय दिनको अवधिमा सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासोबीच सत्तारुढ दलकै असन्तुष्टी देखिन थालेका छन् । कतै त्यही असन्तुष्टी गठबन्धन सरकार अप्ठ्यारोमा पर्ने त होइन भन्ने संशय उत्पन्न भएको छ ।

एमाले, माओवादी केन्द्र, राष्टिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित भई बनेको अशोक राई नेतृत्वको पार्टी यतिवेला सरकारमा सहभागी छन् । तीमध्ये एमाले, रास्वपा र एकीकृत समाजवादीका नेताहरुले सरकारको कामकारवाहीबारे असन्तुष्टी जनाइरहेका छन् । ती मध्ये एक हुन्, सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओली । ओलीले केही दिन अघि संसदीय दलको बैठकमा बजेटको सन्दर्भमा एक÷दुई जनाको मुख हेरेर सरकारमा सहभागी भएको भनेर ढुक्क बन्ने आधार नभएको टिप्पणी गरेका थिए ।

ओलीको त्यो अभिव्यक्तिलाई कतिपयले गठबन्धन सरकारमा बढ्दै गएको विवादको संकेतको रुपमा अथ्र्याएका छन् । त्यही मेसोमा रास्वपाबाट मन्त्री बनेका नेताले नै राजिनामा खल्तीमा बोकेर हिडेको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री दाहाललाई दवावमा पारेको टिप्पणी समेत भए । गठबन्धनका दलका नेताहरुको अभिव्यक्तिबारे दुई दिनअघि प्रधानमन्त्री दाहालले मुख खोल्नुप¥यो ।

सत्तारुढ एक घटक राष्टिय स्वतन्त्र पार्टीबाट युवा तथा खेलकुदमन्त्री बनेका विराजभक्त श्रेष्ठले त सरकार पुरातन शैलीमा चलेको आरोप मात्र लगाएनन्, आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको समेत बताएका हुन् ।

मन्त्री श्रेष्ठको अभिव्यक्तिले कतै रास्वपा सरकारबाट बाहिरिने योजनामा त छैन भन्ने ढंगमा टिकाटिप्पणी भइरहेका छन् । तर रास्वपाका नेता सन्तोष परियारले भने सो अभिव्यक्तिलाई व्यक्तिगत रुपमा लिनुपर्ने र सत्ता नै फेरबदलको स्थिती नआउने बताए ।

सत्ता गठबन्धनकै अर्को घटक एकीकृत समाजवादी समेत सरकारको कामकारबाही प्रति असन्तुुष्ट छ । प्रदेशमा सरकारको फेरबदल देखि नै एकीकृत समाजवादीबाट विमत्तिका स्वरहरु सुनिदै आएका छन् । सरकारले सन्तोषजनक काम भने गर्न नसकेको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाको भनाइ छ ।

प्रमुुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने सरकारले सुुशासनका काम भन्दा पनि सरकार टिकाउन मात्र ध्येयका साथ अगाडी बढिरहेको बताएको छ । आकस्मात गठबन्धन परिवर्तन गरेर समीकरण फेरेका प्रधानमन्त्री दाहालसँग काग्रेस रुष्ट छ । वर्तमान सरकार गृहमन्त्रीलाई बचाउन र सरकारको आयुु लम्बाउन उद्दत रहेको कांग्रेसका काँग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए ।

सत्ता सहयात्रामा नयाँ दलको समर्थन पाएका प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले सय दिनको अवधि सुशासन, सामाजिक न्याय र समृद्धिका क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल गरेको दावी गदै आएको छ । संघीयता कार्यान्वयनसँगै जोडिएका निजामति विधेयकसहितका थुप्रै कानूनको निर्माण तथा संक्रमणकालिन न्यायसम्वन्धि अलपत्र विधेयकमा समेत सरकार अघि बढेको छैन । यस्तो अवस्थामा कतिपय मन्त्रीहरुले सय दिनको उपलव्धि भनेर आफ्नो काम सार्वजनिक गरिरहेका छन् भने सरकारको कामकारवाहीप्रति असन्तुष्टी समेत बढ्दै गएको छ ।