विश्लेषण

महिला खेलाडी : पदक र उपलब्धीमा अब्बल, लगानीमा उपेक्षित

- पुजनी श्रेष्ठकाठमाडौं

खेलकुदमा अन्तर्राष्ट्रिय सफलताको गणना गर्ने हो भने पुरुषका तुलनामा महिला अब्बल छन् । नेपालले तेक्वान्दो, भारोत्तोलन, जुडो, एथलेटिक्स, पौडी, फुटबल र भलिबलमा महिला खेलाडीबाट अन्तर्राष्ट्रिय उपाधि जित्दै आएको छ । अझ पछिल्लो समय नेपाली महिला भलिबलले दिलाएको एकपछि अर्को सफलता लोभलाग्दो छ । तर, जे जति सफलता हात लागेको छ– त्यो खेलाडीको एकल प्रयासबाट मात्रै सम्भव भएको छ । उपाधि आश गरिएका र प्राप्त भैराखेका खेलमा अहिलेबाटै पूर्वाधार र खेलाडीमाथि लगानी बढाइएन भने यो सफलता लामो समयसम्म टिकिराख्ने छाँट छैन ।

नेपाली खेलकुदमा महिला खेलाडीको अलग पहिचान बनाउने खेलाडीको सूची लामो छ । तेक्वान्दोकी सविता राजभण्डारी, संगिना वैद्य र आयशा शाक्य, भारोत्तोलनकी तारादेवी पुन, जुडोकी देवु थापा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, पौडीकी गौरीका सिंह, पारा खेलाडी पलेशा गोवर्धन, कराँतेकी एरिका गुरुङ, फुटबलकी सावित्रा भण्डारी लगायत महिलाले नेपाली खेलकुदमा आफ्नो अमिट छाप छाडेका छन् । पछिल्लो पटक नेपाली खेलकुदमा महिला फुटबल र भलिबल टोलीको चर्चा बढी छ ।

सन् १९८६ को एएफसी महिला च्याम्पियनसिमार्फत अन्तर्राष्ट्रिय फुटबलमा कदम राखेको महिला फुटबल टोलीले अहिले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता भनेकै साफ महिला फुटबल च्याम्पियनसिप हो । सन् २०१० बाट सुुरु भएको साफ च्याम्पियनसिपमा सहभागीता जनाउन थालेको महिला टोलीले प्रतियोगिताको छैटौं संस्करणसम्म आईपुुग्दा ५ पटक फाइनल र एक पटक सेमिफाइनलसम्मको यात्रा तय गरेको छ । नेपालले ४ पटक फाइनलमा भारत र एक पटक बंगलादेशसँग हार व्यहोर्यो। गत वर्ष साउदी अरबमा सम्पन्न वाफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पनि नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भयो ।

वाफ च्याम्पियनसिप कै दौरान महिला टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारीले आफ्नो ५३ अन्तर्राष्ट्रिय गोल पूरा गरिन् । यो महिला टोलीको लागि सानो उपलब्धि होइन । महिलाभन्दा पुरुष टोलीले पहिले अन्तर्राष्ट्रिय फुटबल खेलेको हो । तर, पुरुष खेलाडीले अहिलेसम्म सबैभन्दा बढी १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । त्यसको दाँजोमा महिला खेलाडी निकै अघि छन् । यसका साथै महिला फुटबल खेलाडी विभिन्न विदेशी क्लबमा आबद्घ छन् । इजरायली क्लब हापोएल रानानाबाट व्यावसायिक फुटबल खेलेकी साम्बा हाल फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुुबन्ध छिन् । यस्तै, भारतको महिला आई लिग नेपालका ६ जना महिला खेलाडीले खेल्छन् ।

यस्तै केही दिन अघि मात्रै महिला फुटबल टोलीकी स्ट्राइकर रेखा पौडेल संयुक्त अरब इमिरेट्स युएई प्रो लिगका लागि अनुुबन्ध भएकी छन् । यसले महिला टोलीले आफूहरुमा प्रचुर क्षमता भएको प्रमाणित गर्छ । खेलाडी उत्पादनका लागि एन्फाले लिग फुटबल आयोजना गर्नुका साथ साथै घरेलु प्रतियोगितामा पनि उत्तिकै जोड दिन आवश्यक रहेको राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङको भनाई छ ।

महिला टोलीमा अधिक सम्भावना देखिए पनि सम्बन्धित निकायले चासो देखाउन भने कन्जुस्याई गरेको छ । नाम मात्रको राष्ट्रिय लिग र विभागीय टोलीबाहेक एकाध प्रदेशले महिला खेलाडीलाई मौका दिन्छन् । महिला फुटबलमा न त उमेर समूह, न त ग्रासरुटकै प्रभावकारी कार्यक्रम छ ।

नेपालले महिला फुटबल मार्फत विश्वकव खेल्ने तयारी स्वरुप लिगहरु अखिल नेपाल फुटबल संघले प्राथमिकतामा राखे पनि महिला फुटबलको स्थायी संरचना नहुँदा समस्या भएको महासचिव किरण राईले बताए । एन्फाले आगामी भदौं १६ गतेबाट सुरु हुने भनिएको महिला लिगमा १० टोली सहभागी हुँदैछन् । अर्को वर्षदेखि क्लब संरचनामा जाने एन्फाको तयारी छ ।

नेपालमा महिला फुटबलको तुलनामा भलिबलका गतिविधि अलि बढी देखिन्छ । यसकै कारण महिला भलिबल टोलीले केही उपाधिमाथि कब्जा पनि जमाएका छन् । सेन्ट्रल एसियन भलिबल संघ काभाको दुई संस्करणको च्याम्पियन बन्दा महिला भलिबल टोली १३ औं दक्षिण एसियाली खेलकुद सागमा उपविजेता बन्न सफल भयो । उपाधि नजितेपनि महिला भलिबल टोलीले लगातार जसो मेडल दिलाईरहेकै छ । गत बुधबार काठामाडौंमै सम्पन्न काभा महिला नेसन्स भलिबल लिगमा पनि नेपालले रजत पदक हात पा¥यो । फाइनलमा भारत तगारो बन्दा नेपालले उपाधि चुम्न सकेन । यो उपाधि नेपालले आफ्नो पक्षमा पार्न सकेको भए महिला भलिबल टोली एउटा उचाईमा पुग्ने थियो । तर त्यसो हुन नसकेको भन्दै राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले भलिबलप्रेमी समक्ष माफि मागे । नेपालले फाइनलमा प्रतिस्पर्धात्मक चुनौती पेश गरे पनि भारतसँग ३–२ को सेटमा पराजित हुन पुग्यो ।

सरकारले राष्ट्रिय खेल घोषणा गरेपनि भलिबललाई त्यसपछि थप केही उपलब्ध गराएको छैन । न इन्डोर हल, न ग्रास रुटका कार्यक्रम । भलिबल संघले आफ्नै पहलमा वर्षमा एक÷दुुई प्रतियोगिता त आयोजना गर्छ, तर खेलाडीका लागि त्यो पर्याप्त छैन । भलिबल संघले इन्फिनिटी ड्रिम्स प्रालिसँगको सहकार्यमा नेपालमा पहिलो पटक भलिबलको फ्रेन्चाइज लिग आयोजना गर्दैछ । लिगमा ६ टोली सहभागी हुने भनिएपनि मिति भने तय भईनसकेको संघका महासचिव रोशन श्रेष्ठ बताउँछन् ।

नेपालमा भलिबलको ७७ वटै जिल्ला शाखाहरु छन् । यद्यपि आप्mनै पुर्वाधार नभएको संघमा भलिबल संघ गनिन्छ । प्रशिक्षणका लागि एउटा कोर्ट नभएको यही भलिबलको महिला टीमले नेपाललाई अविस्वसनीय सफलता दिलाइरहेको छ । तर, अपर्याप्त पूर्वाधार, कम लगानी र थोरै समयको तयारीले सफलता सधैं दिइराख्दैन । खेलाडीको मिहनेतको बलमा मात्रै टीम गेममा लामो समय राज गर्न सकिन्न । नेपाली खेलाडीसँट पर्याप्त रुपमा अनुभन नभएका कारण अन्तिममा गई उपाधि हातबाट फुत्कने गरेको खेलकुद पत्रकार प्रकाश तिमल्सिना बताउँछन् । तर पछिल्लो समय फुटबल संघले भन्दा भलिबल संघले नियमित रुपमा गतिविधि संचालन गर्दै आएका कारण पनि भलिबलले उपाधि जित्न वञ्चित भएपनि मेडल मात्रै भए पनि दिलाउँदै आएको उनको भनाई छ ।

फुटबलमा महिलाहरुका लागि भनेर आयोजना हुने नियमित लिग नै रोकिएको छ । दुई वर्ष पछि बल्ल छनोट चरण भयो । फुटबलको दाँजोमा महिला भलिबललाई हेर्ने हो भने पछिल्ला पाँच वर्षलाई आधार मान्दा नियमित रुपमा गतिविधि भईरहेका छन् । फलतः अहिले उपाधि नै हासिल गर्न थालेका छौं । यो उपलब्धिसँगै दर्शक र खेलाडीले थप आशा गर्ने कुरा स्वभाविक हो । घरेलु संरचना राम्रो बनाउन सक्यांै भने मात्रै उत्कृष्ट नतिजा अपेक्षाकृत हो । अहिले पदक दिलाउने खेलमा तत्काल संरचनागत विकास गरिएन भने यसले पनि निकट भविष्यमै सबैलाई निराश नतुल्याउला भन्न सकिन्न ।