विश्लेषण

इतिहास बोकेको दशरथ रंगशालाको खस्कँदो साखः सरोकारवाला आरोप–प्रत्यारोपमा

- पुजनी श्रेष्ठकाठमाडौं

नेपालमा खेलकुद र दशरथ रंगशाला एक–अर्काका परिपुरकजस्तै हुन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला देशको एक मात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त रंगशाला हो । नेपाली फुटबलको पर्यायका रुपमा रहेको दशरथ रंगशालामा एकपछि अर्को पुस्ताका खेलाडी खेल्दै हुर्के ।

रंगशालाको इतिहासमा कतै सुखद पक्ष छन् भने कतै दुखद् । गत फागुनमा अन्तर्राष्ट्रिय मान्यता गुमाएको यस रंगशालाले गत साउनमा पुनः मान्यता पायो । रंगशालाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपनि मैदान खेल्न अयोग्य भएपछि पछिल्लो समय यसको आलोचना हुँदै आएको छ । फुटबल खेलाईने मैदानमा अन्य कार्यक्रम आयोजना गर्न दिइएको भन्दै विवाद पनि उत्पन्न भएका छन् ।

काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित नेपालको एक मात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशाला २०१३ सालमा निर्माण भएको हो । तत्कालिन राजा महेन्द्रको राज्याभिषेकको अवसरमा विभिन्न खेल आयोजना गर्ने निर्णय भएपछि किरण शमशेरको नेतृत्वमा रंगशाला निर्माणको योजना अघि बढाइएको थियो ।

विगतलाई हेर्ने हो भने रंगशाला बन्नुअघि त्यहाँ शव जलाउने तथा गाड्ने काम गरिन्थ्यो भनिन्छ । हाल रंगशाला परिसरमा बनेको कभर्ड हलको जग्गामा खाली मैदानलाई सानो टुँडिखेल भन्ने गरिन्थ्यो । दशरथ रंगशालाको इतिहासबारे जानकारहरुका अनुसार, राजा महेन्द्रको राज्याभिषेकको अवसरमा खेलकुद प्रतियोगिता आयोजना गर्न दुई महिनाको समयमा खाल्डो पुरेर मैदान तयार पारिएको थियो । राज्याभिषेक कपअन्तर्गत खेलाइएको प्रतियोगितामा पहिलो पटक बिजुली अड्डाबाट झिकाइएर फ्लड–लाइटको समेत प्रयोग गरिएको थियो ।

२०२२ सालमा नेपाल र चीन सरकारबीचको सम्झौतापछि चीन सरकारबाट सिमेन्ट, छडलगायतका सामान उपलब्ध भएपश्चात् रंगशालाको दोस्रो चरणको निर्माण कार्य सुरु भयो । सोही समय प्यारापिट निर्माण गरिएपनि रकम अभावका कारण काम बीचैमा रोकियो । २०२४ सालमा कुमार खड्ग विक्रम शाह पुर्नगठित राष्ट्रिय खेलकुद परिषद्कोे सदस्य–सचिव भएपछि रंगशाला निर्माण कार्य पुनः सुरु भयो ।

 त्यसपछि २०२७ सालमा पुर्व र उत्तरतर्फ ५÷५ लाइनको प्यारापिट तथा कभर्डहल निर्माण भएको हो । २०३१ सालमा तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकको समारोहका लागि निर्णय भएपछि पुनः चीन सरकारसँग रंगशाला निर्माणका लागि सम्झौता भयो । राज्याभिषेकमा आयोजना हुने खेलकुद प्रतियोगिताका लागि रंगशालाको पुर्व र उत्तरतर्फको पनि प्यारापिट निर्माण गरियो ।

२०३४ सालमा शरदचन्द्र शाह राखेपको सदस्य सचिव नियुक्त भएपछि रंगशालाको संरचनामा सुधार गरिएको थियो । रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन २०३५ सालदेखि निर्माण कार्य सुरु गरेर २०३७ सालमा पूरा गरियो । रंगशाला निर्माणसँगै २०३८ सालमा दशरथ रंगशालामा पहिलो वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । त्यसको दुई वर्षपछि अर्थात् २०४० सालमा दशरथ रंगशालामा पहिलो दक्षिण एसियाली खेलकुद साफ प्रतियोगिता आयोजना भएको थियो ।

रंगशालाको इतिहाससँग अहिलेसम्मकै एक दुःखद घटना समेत जोडिएको छ । २०४४ फागुन २९ गते जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धाबीच त्रिभुवन च्यालेन्ज सिल्ड फुटवल प्रतियोगिताको फाइनल चलिरहँदा हुरीबताससँगै मुसलधारे पानी परेपछि भागदौडका क्रममा ९३ जनाले ज्यान गुमाएका थिए । सो घटनापछि राखेपका सदस्य सचिव शरदचन्द्र शाह र मन्त्री केशरवहादुर बिष्टले राजिनामा दिएका थिए । यस्तो इतिहास बोकेको दशरथ रंगशालाको हालको स्वरुप भने २०५५ सालमा आठौं साफका लागि तयार पारिएको हो । र, त्यसका लागि चीन सरकारको सहयोगमा रंगशालामा फ्लडलाइट र स्कोर बोर्ड जडान गरिएको थियो ।

पछिल्लो समय खराब मैदानका कारण रंगशाला व्यवस्थापनको बिषयलाई लिएर आलोचना हुँदै आएको छ । मैदानको खराव हालतलाई देखाउँदै एसियाली फुटबल महासंघले गत जेठमा दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो । सोही कारण नेपालले फिफा विश्वकप २०२६ छनोटका दुई खेल रंगशालामा गर्न पाएन ।

त्यसपछि यो बिषय राष्ट्रिय मुद्धा बनेको छ । हालै आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने–दशरथ रंगशालाको खेल मैदान यति सारो विग्रिएको मैले अहिलेसम्म देख्या थिइन् । अहिले त हिलै छ । अस्ति एउटा खेल देख्दा त देशकै वेइज्जत भएजस्तो लाग्यो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त एउटै मैदान छ , त्यसको हालत पनि यस्तो छ । यो मैदान त चुस्तदुरुस्त चाहिन्छ नै । यसको दुरुपयोग नहोस् । खासगरी यो फुटबलजस्ता खेलहरुका लागि हो, त्यसमै प्रयोग होस् । अरु खेलहरु खेल्नुछ भने तदअनुसारका खेल मैदानहरु तयार गर्नुपर्छ ।

दशरथ रंगशालामा सुरुमा घरेलु र स्थानीय प्रतियोगिता मात्रै हुन्थे । २०४० सालमा नेपालले पहिलो पटक रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो । त्यसयता नेपालले सबै अन्तर्राष्ट्रिय फुटबल यही रंगशालामा गर्दै आएको छ । रंगशालासँग नेपाली फुटवलको सफलता र असफलताका थुप्रै कथा जोडिएका छन् । रंगशालामा पहिलो पटक आयोजना भएको अन्तर्राष्ट्रिय तथा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले माल्दिभ्ससँग खेल्दै अन्तर्राष्ट्रिय खेलमा डेब्यू ग¥यो । सोही प्रतियोगितामा नेपालले भुटानलाई यहि रंगशालामा ७–० को फराकिलो गोलअन्तरले हरायो । यो जित नेपाली फुटबल इतिहासकै सबैभन्दा फराकिलो जित हो । सोही प्रतियोगितामा घरेलु समर्थकमाझ नेपाल भारतसँग ४–० ले पारजित भयो । 

नेपालले व्यहोरेको त्यो नै आजसम्मको सबैभन्दा फराकिलो हार हो । नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा ६ खेलाडीले ह्याट्रिक गरेका छन् । पछिल्लो पटक अञ्जन विष्टले २०७९ असोज ११ मा बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए । यसअघि नवयुग श्रेष्ठले बंगलादेशको बंगबन्धु गोल्डकपमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गर्दा, नीराजन रायमाझीले विश्वकप छनोट सन् २००१ मा मकाउविरुद्ध, नरेश जोशीले सन् १९९९ मा श्रीलंकाविरूद्ध र गणेश थापाले सन् १९८७ को दक्षिण एसियाली खेलकुदमा भुटानविरूद्ध ह्याट्रिक गरेका थिए । रंगशालामा खेलेर फुटवल जीवनलाई उचाइमा पु¥याएका सबैजसो खेलाडीका आफ्नै अनुभव छन् ।

 एएफसी च्यालेन्ज कप छनोट सन् २०१३ मा नर्दन मारियाना आइल्यान्डविरूद्ध ह्याट्रिक गरेका भरत खवास भन्छन्–होम ग्राउण्डमा खेल्दाको अनुभव अर्कै हुन्छ र अवे म्याच खेल्दा अर्कै हुन्छ । त्यसैले गर्दा सकेसम्म धेरैभन्दा धेरै प्रतियोगिता दशरथ रंगशालामै गराए राम्रो । यसले खेलाडीहरुको वृत्ति विकासमा मद्धत गर्छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त यहि एक मैदान छ । यसलाई पनि संरक्षण गर्न सकेन भने खेलाडीहरुको मनोवल त घट्छ नै । त्यसैले सम्बन्धित निकायहरु मिलेर, कस्तो जिम्मेवारी छ, सोचविचार गरेर गेम हुने वातावरण गरिदिए राम्रो हुन्छ ।

नेपाली टोलीले इतिहासमै सबैभन्दा छिटो गोल दशरथ रंगशालामै गर्यो। यस्तै, भारतविरुद्ध इतिहासकै एक मात्र जित पनि यही रंगशालामा गरेको थियो । सन् २००९ को एएफसी च्यालेन्ज कपमा विराज महर्जनले नेपालका लागि खेलको २ मिनेट मै गोल गर्दा, सन् २०१३ को साफ च्याम्पियनसिपमा भारत नेपालसँग पराजित भएको थियो । नेपाली फुटबलको लामो इतिहास र विरासत बोकेको दशरथ रंगशालाले फागुन २४ मा अन्तर्राष्ट्रिय मान्यता गुमाएपनि गत साउन २४ मा पुनः मान्यता प्राप्त गरेको छ ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपनि मैदानमा हाल खेल्नै नमिल्ने अवस्था रहेको भन्दै आलोचना भइरहेका छन् । रंगशालाको बिषयमा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दिपक खतिवडा भन्छन्–हामी फुटबलको विकासका लागि अगाडी बढ्ने, राज्यका खेलकुदसँग जोडिएका अंगहरुले चाँही अफ्ठ्यारो पारिरहने अवस्थालाई अन्त्य गर्ने पक्षमा हामी छौं । फुटबल खेल्नको लागि बनइएको मैदानमा अन्य विभिन्न खेलहरु आयोजना गरेर त्यो ग्राउण्डलाई ध्वस्त बनाउने जुन किसिमको यहाँभन्दा अगाडी काम भयो, त्यो काम अब त्यो मैदानमा हुँदैन । एन्फाले त्यसको स्वामित्व लिएर काम गर्छ ।

अन्तर्राष्ट्रिय मापदण्ड पूरा नहुँदा र यसको उचित संरक्षण नभएपछि राखेपले गत चैतदेखि यसको संरक्षण गर्दै आएको छ । मैदानको अवस्था दयनीय बनेको अवस्थामा एकअर्कालाई दोषारोपण गर्नुभन्दा यसको समाधान खोज्नतर्फ लाग्नुपर्ने राखेपका सदस्य सचिव टंकलाल घिसिङ बताउँछन् । उनले भने–विषयान्तर गरेर दोषारोपण गर्ने भन्दा पनि जिम्मेवार बन्ने कुरा मुख्य कुरा हो । ग्राउण्ड हिजो आफैंले लिदाँ पनि एन्फाले त्यो स्तरीय कायम गर्न नसकेको कुरा परिणामले प्रष्ट हुन्छ । तर फुटबलको टेक्नोलोजी अहिलेको प्रवृत्ति अनुसार कसरी स्तरोन्नती गर्नुपर्छ भन्ने कुराको परिषद्लाई प्रस्ताव पेश गर्नलाई एन्फालाई निर्देशन गरिसकेको छ । त्यसअनुुसार परिषद्ले आफ्नो तर्फबाट आफ्नो निर्माणको लागि सम्पूर्ण रुपले पहल गर्ने कुरामा सहजिकरण गर्नेछौं ।

दशकौं अघि निर्माण भएको दशरथ रंगशालालाई व्यवस्थित गर्न नसक्नु लज्जाको बिषय भएको छ । तीन दशकभन्दा बढी समयदेखि खेलकुद पत्रकारीतामा सक्रिय खेल पत्रकार निरञ्जन राजवंशी भन्छन्–पछिल्लो समय हामीले मैदानको अवस्था देख्यौं र फिफादेखि एएफसीले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय खेलको लागि योग्य ठानेन । त्यसको कारण भनेको मैदान खाल्डाखुल्डी प¥यो र माथिबाट माटो थप्दै गयो । माटो थप्ने काम मात्रै भयो, तर यसलाई राम्ररी सिस्टममा काम गरिएन । जसले गर्दा हिलाम्य मैदान हामीले देख्यौं । एक किसिमले अन्तर्राष्ट्रिय रुपमा नेपालको प्रतिष्ठामा नै धक्का लाग्न गयो । यसको उपाय भनेकै दशरथ रंगशालाको राम्रो हेरचाह नै हो । पुरानो रंगशाला छ, यसलाई नियमित मर्मत गर्न जरुरी छ ।

दशरथ रंगशालाको अवस्थाका कारण यहि भदौंमा सम्पन्न साफ यू–२० फुटबल च्याम्पियनसिपका खेलहरु ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमै भए । यस्तै, एन्फाको आयोजनामा पहिलो पटक भएको महिला लिग अन्तर्गतका खेलहरु हाल एन्फाकै मैदानमा भईरहेका छन् । आगामी कात्र्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामै साफ महिला फुटबल च्याम्पियनसिप २०२४ आयोजना हुँदैछ । १५ हजार दर्शक क्षमता भएको दशरथ रंगशालाले नेपाली फुटबलको लामो इतिहास र विरासत बोकेको छ । त्यसैले यसलाई व्यवस्थित गर्न सम्वन्धित निकाय गम्भीर हुनुपर्ने बेला भइसकेको छ ।