विश्लेषण

राज्यको आँखा नपरेको नेत्रहीन क्रिकेट

- पुजनी श्रेष्ठकाठमाडौं

नेपालले क्रिकेट विश्वकपमा सहभागिता जनाएको नेत्रहीन क्रिकेटबाट हो । दुई पटक टी–२० विश्वकप खेलेको नेत्रहीन क्रिकेट टोलीले एकदिवसीय विश्वकपमा पनि अनुभव बटुलिसकेको छ । छोटो समयमै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता दिलाए पनि नेत्रहीन क्रिकेट टोलीको चर्चा खासै हुँदैन । आफ्नै श्रोत, साधन र इच्छाशक्तिले खेलिरहेका नेत्रहीन क्रिकेट टोलीलाई राज्यको तर्फबाट भरथेग छैन । यसका बाबजुद वर्षमा एकाध घरेलु प्रतियोगिता खेल्दै आएका दृष्टिहीन क्रिकेट टोलीले विश्वकप जित्ने लक्ष्य लिएका छन् ।

मुलुकमा राजनीतिक उथलपुथल चलिरहँदा २०६३ सालमा नेत्रहीन क्रिकेट संघ स्थापना भयो । स्थापनाको छोटो समयमै नेत्रहीन क्रिकेटले मुलुकलाई अन्तर्राष्ट्रिय सफलता दिलायो । नेत्रहीन पुरुष क्रिकेट टोलीले टी–२० विश्वकपसँगै एकदिवसीय विश्वकप नै खेलिसकेको छ । तर, अहिले नेपालमा नेत्रहीन क्रिकेट कहाँ छ ? भनेर खोज्नुपर्ने अवस्था आएको छ । छोटो समयमै उचाइ लिएको नेत्रहीन क्रिकेट निरन्तर ओरालो लाग्ने त हैन भन्ने प्रश्न उब्जिएको छ । खेलाडी भएर गर्नुपर्ने मेहनत उस्तै, जितका उत्सव र हारका पीडा पनि उस्तै, खेल उस्तै, खेल भावना उस्तै तर उनीहरुलाई हेरिने दृष्टि फरक । वर्षमा एकाध नेत्रहीन क्रिकेट प्रतियोगिता भएपनि त्यो राष्ट्रिय स्तरका नभएको राष्ट्रिय नेत्रहीन क्रिकेट टोलीका उपकप्तान सागर लामाले बताए ।

स्थापनाकालमै पाकिस्तानबाट आएका प्रशिक्षकले नेपालमा दृष्टिविहीन खेलाडीका लागि क्याम्प राखेका थिए । सोही वर्ष काठमाडौं, भक्तपुर र कीर्तिपुरका गरि तीन टिम बनाएर पुल्चोक मैदानमा प्रतियोगिता गरियो र औपचारिक रुपमा नेपालमा नेत्रहीन क्रिकेट सुरु भयो । पाकिस्तानमा सन् २००८ मा नेपाली नेत्रहीन क्रिकेट टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेको थियो । ९ खेलको सो मैत्रीपूर्ण सिरिजमा नेपालले मात्रै ३ खेल जित्नसक्यो । तर, नेत्रहीन टोलीले सन् २०१२ मा पहिलोपटक टी–ट्वान्टी विश्वकप खेलेकोमा सन् २०१७ मा पनि टी ट्वान्टी र सन् २०१८ मा एकदिवसीय विश्वकप नै खेलिसकेको छ । 

पछि अवस्था कतिसम्म दुरुह भयो भने २०१४ मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा छनोट भए पनि आर्थिक अभावकै कारण टोली सहभागि हुन सकेन । धेरै प्रतियोगितामा अन्तर्राष्ट्रिय सहभागिता जनाइसक्दा पनि आर्थिक कारणले खेल्न जान नपाउनु दुःखद भएको राष्ट्रिय पुरुष नेत्रहीन क्रिकेट टोलीका पूर्वकप्तान कृतन श्रेष्ठ दुवालले बताए । सन् २०१८ मा एकदिवसीय विश्वकप खेल्न पाकिस्तान जाँदाको कष्टपूर्ण यात्रापछि सन्यास लिएका उनले अझै भुलेका छैनन् ।

सातै प्रदेशमा संरचना भएको नेत्रहीन क्रिकेटको १० जिल्ला शाखाहरु छन् । तर, नियमित प्रतियोगिता आयोजना गर्ने ल्याकत र हैसियत उनीहरुको छैन । संघले आफ्नै पहलमा वर्षमा कम्तिमा ८ प्रतियोगिता गर्दै आएको अध्यक्ष पवन घिमिरे बताउँछन् । नेपाली नेत्रहीन क्रिकेट पाकिस्तानमा आगामी नोभेम्बरमा हुने टी–२० विश्वकपमा तेस्रो पटक सहभागी हुँदैछ । विश्वमा नेत्रहीन क्रिकेट खेल्ने देश कम भएकाले स्वत छनोट हुने व्यवस्था छ । हाल १९ खेलाडी नियमित अभ्यासमा रहेको र आगामी कार्तिकमा यस मध्येबाट अन्तिम १५ खेलाडी छनोट गरिने संघले जनाएको छ ।

नेपालले सन् २००९ मा विश्वमै पहिलो नेत्रहीन महिला राष्ट्रिय टोली निर्माण गरेर कीर्तिमान बनायो । तर टोलीलाई पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न त्यसको ५ वर्ष अनि विदेश भ्रमण गर्न १० वर्ष लाग्यो । नेपालले पाकिस्तानमा भएको विश्वकै पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज ४–० ले जित्यो । सीमित साधन स्रोतका बाबजुत नेपाली नेत्रहीन महिला क्रिकेट टोलीले गरेको यो योगदानको जति नै प्रसंशा गरे पनि कम हुन्छ । नेपालमा दृष्टीहीन खेलाडीको अवस्था निकै दयनिय रहेको र सरकारबाट केही सहयोग प्राप्त नभएको नेपाली नेत्रहीन महिला क्रिकेट टोलीकी कप्तान गीता पौडेलले बताइन् । यसका साथै दृष्टिहीन क्रिकेटबारे सामाजिक बुझाई पनि नकारात्मक भएको उनको भनाई छ ।

नेत्रहीन क्रिकेट केही भिन्न छ । नेत्रहीन क्रिकेटमा एकदीवसीय खेल ४० ओभरको हुन्छ । खेल्ने मैदान, पिच, ब्याट अरु क्रिकेटको जस्तै भएपनि यसमा बज्ने खालको बल प्रयोग हुन्छ, जुन सामान्य क्रिकेट बलभन्दा अलि ठूलो आकारको हुन्छ । स्टम्प केही ठूलो हुन्छ र त्यसमा छुँदा सजिलै पहिचान गर्न सक्ने गरी बनाइको हुन्छ । नेत्रहीन खेलाडीलाई बी वान, बी टू र बी थ्री गरि विभाजन गरिएको हुन्छ । बी वानमा पूर्ण दृष्टिविहीन खेलाडी पर्छन् भने कतिसम्म देख्न सक्ने भन्ने आधारमा बी टू र बी थ्री मा खेलाडी विभाजन गरिएको हुन्छ । एउटा टिममा बी वानका चार, बी टू का तीन र बी थ्री का चार जना खेलाडी रहन्छन् ।

टी–२० मा बलिङ गर्दा ६ ओभर बी वानका खेलाडीले गर्नै पर्ने नियम हुन्छ भने एकदिवसीयमा बी वानका खेलाडीले २० ओभर बलिङ गर्नुपर्ने हुन्छ । नेपालमा नेत्रहीन क्रिकेटमा अहिले ५ सय ५३ जना पुरुष र २ सय १४ जना महिला खेलाडी रहेको संघका अध्यक्ष पवन घिमिरे बताउँछन् । सबैको साझा समस्या भनेकै खेल्न त खेल्ने आ–आफ्नो जिविकोपार्जन कसरी गर्ने ? वार्षिक तालिका बनाएर काम गरे पनि आर्थिक अभावका कारण समस्याहरु आइरहँदा अप्ठ्यारो हुने गरेको संघका अध्यक्ष घिमिरेले बताए ।

नेत्रहीन क्रिकेट संघ काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपनि संघ नेपाल पारा ओलम्पिक कमिटीमा अवद्ध छ । दुई संस्थाको विवादका कारण नेत्रही क्रिकेट गतिविधि चलायमान बन्न नसकेको संघका अध्यक्ष घिमिरे बताउँछन् ।

नेपालले एकदिवसीय क्रिकेटको मान्यता पाएको कुराले होस् या एक दशकपछि विश्वकपमा सहभागीताको कुराले नेपाली खेल जगत, समर्थक जति खुशी भए त्यस्तो खुशी नेत्रहीन टोलीले तीन विश्वकप खेल्दा पनि देखिएन । खेल भावना उस्तै, तर नियती फरक । नेत्रहीन क्रिकेट खेलाडीहरुले पारिश्रमिकको त कुरै छाडौं, खेल्ने मैदानको समेत अभाव झेल्नु परेको छ ।

नेपालमा नेत्रहीन क्रिकेट भित्रिएको १८ वर्षमा खेलाडीले पाएको लोभलाग्दो सफलता सम्बन्धित निकायले बुझ्न सकेको छैन । विगतका दिनमा न्युजल्यान्ड, अष्ट्रेलिया, बंगलादेश, दक्षिण अफ्रिका जस्ता बलिया राष्ट्रलाई हराएको इतिहास बनाको नेत्रहीन क्रिकेट टोली हाल अलपको संघारमा छ ।