विश्लेषण

सर्पदशंको उपचारका लागि चाहिने औषधि स्वदेशमै उत्पादन गर्ने तयारी

- नविन कोइराला काठमाडौं

सर्पदशंको उपचारका लागि नेपालमा वर्षिक रुपमा झण्डै २० हजार भाइल एन्टी स्नेक भेनम खरिद हुँदै आएको सरकारी तथ्याङ्क छ । जसले देशभर विभिन्न जिल्लामा सञ्चालित सर्पदंश उपचार केन्द्रमा पुग्ने प्रभावितको उपचार हुँदै आएको छ । तर महत्वपूर्ण मानिएको सो भेनमका लागि भने भारत लगायतका देशको भर पर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा केहि समय अघि कानुनी रुपमा देखिएको अड्चन समाधान भएसँगै स्वेदशमानै सो भेनम उत्पादन गर्ने तयारी गरेको एक कम्पनीलाई व्यवसायिक उत्पादनका लागि अनुमति दिइएको छ । जसले औषधीका लागि मुलुक आत्मनिर्भर हुने बाटो औँल्याएको छ भने सहज रुपमा छिटो सेवा दिन टेवा पुग्ने विश्वाश लिइएको छ ।

विगत लामो समयदेखि कागजी रुपमा रहेको एन्टी स्नेक भेनम उत्पादन गर्ने तयारीले अब भने सार्थकता पाएको छ । पछिल्लो १२ देखि कागजमामात्रै सिमित भएको सो कामले पूर्णता पाउन लागेको हो । सर्पदशंको उपचारका लागि प्रयोग गरिने औषधीका रुपमा चिनिएको सो एन्टी स्नेक भेनम सुनसरीमा उत्पादन गर्ने तयारी भएको हो । जसका लागि सुनसरीको वराहक्षेत्र नगरपालिका–३ स्थित एन्टी स्नेक भेनम उत्पादन उद्योग स्थापना भइसकेको छ । जसले औषधी उत्पादनको अनुमति पाएको हो । निजी क्षेत्रको ठूलो लगानीमा स्थापना भएको सो उद्योगलाई अनुमति पाउन लामो समय लाग्नुमा कानुनी व्यवस्था बाधक भएको बताइएको छ । कानुनमा भएको ब्यवस्था परिमार्जन हुन नसक्दा र नियामक निकायले औषधीको महत्व नबुझ्दा आफूहरुलाई अनुमति पाउनमा ढिला भएको उद्योगका सञ्चालक लक्ष्मीप्रसाद फुयाँल बताउँछन् ।

सो उद्योगले  नेपालमै पहिलो पटक सर्प पार्कको अनुमति पाएको बताइएको छ । हाल नेपालका अधिकांश तराइका जिल्लामा समस्याका रुपमा रहेको सर्पदंशको उपचारका लागि एन्टी भेनम महत्वपूर्ण आषैधी हो । सो उद्योगले सरकारबाट स्नेक भेनम उत्पादनका लागि सर्प पाल्ने अनुमति पाएसँगै अब औषधी उत्पादनमा सहज हुने देखिएको छ । नेपालमा प्रत्येक वर्ष सर्पको टोकाइबाट कति मानिसले ज्यान गुमाउँछन् भन्ने एकिन तथ्याङ्क छैन । पर्याप्त एन्टी भेनम उत्पादन नहुँदा विशेष गरि तराई भेगका जिल्लाहरु प्रभावित हुँदै आएका छन् । स्वदेशमानै उत्पादन गर्न सकिए सर्पको टोकाइबाट अकालमै हुने मृत्युवरण रोक्न र थप सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न सहयोग हुने झापाको कचनकवल गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा सर्पदशंको उपचार गर्दै आएका चिकित्सक नवीन मिश्रले बताए ।

मनव स्वास्थ्यसँग सम्बन्धित विभिन्न खोज तथा अध्ययन गर्दै आइरहेको संस्था नेशनल लाइब्रेरि अफ मेडिसिनका अनुसार विश्वमा प्रत्येक वर्ष झण्डै २७ लाख व्यक्तिहरु सर्पको टोकाइबाट प्रभावित हुने गरेका छन् भने वार्षिक रुपमा १ लाख ३८ हजार जनाले सरदरमा ज्यान गुमाउने गरेका छन् । सन् २०१० बाट २०२२ सम्मको १२ वर्ष वर्षको अवधिमा गरिएको अध्ययन अनुसार नेपालमा वार्षिक १ हजार देखि ३ हजार २ सय २५ जनाले ज्यान गुमाउने गरेको पाइएको हो ।

नेपालमा विशेषगरि तराई भेगका जिल्लाहरुका सर्पदंशको घटनाहरु बढी हुने गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल नेपालका ३१ जिल्लामा विभिन्न ८७ वटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् । तीमध्ये अधिकांश तराई क्षेत्रमै छन् । यस्तो अवस्थामा स्वदेशमानै सर्पदंशको उपचारका लागि आवश्यक पर्ने एन्टी भेनम पर्याप्त उत्पादन गर्न सहज भने नदेखिएको एन्टी स्नेक भेनम उत्पादन उद्योगका सञ्चालक फुयाँलले बताए ।

सर्पको टोकाइका कारण विषेशगरी तराईका २६ जिल्ला प्रभावित छन् । इपीडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷७९ मा ९ हजार ३ सय ४६ जनालाई सर्पले टोकेको थियो । सो मध्ये ९ सय ६७ वटा विशालु सर्पले टोकेको घटना दर्ता भएको छ । यस्तै २०७९÷८० मा ९ हजार १ सय २० जनालाई सर्पले टोकेको छ । सो मध्येपनि १ हजार २ सय २३ जनालाई विशालु सर्पले टोकेको सरकारी तथ्याङ्क छ । पछिल्लोे आर्थिक वर्ष २०८०÷८१ मा ७ हजार ५ सय ६ जना सर्पको टोकाइबाट प्रभावित भएकोमा यो वर्ष १ हजार ३ सय ९२ जनालाई विशालु सर्पले टोकेको घटना सरकारी निकायको छ । जलवायुजन्य विपद्का कारण समेत सर्पको टोकाइका घटना हुने गरेको र अपाङ्गता भएका व्यक्ति र महिलाहरु बढी प्रभावित हुने गरेको पाइएको वातावरण तथा जलवायु परिवर्तन सम्वन्धि विज्ञ उज्वल उपाध्यायको भनाई छ ।

सरकारी तथ्याङ्क अनुसार समग्रमा सर्पदशंका घटना कम भएको देखिएपनि विशालु सर्पले टोेकेको तथ्याङ्क भने बढ्दो क्रममा छ । जसले आगामी दिनमा सर्पदंशको उपचारका लागि आवश्यक पर्ने स्नेक एन्टी भेनमको खरिद बढाउनुपर्ने देखिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत जुनोटिक तथा सङ्क्रामक रोग नियन्त्रण शाखा प्रमुख डा. हेमन्तचन्द्र ओझाले जानकारी दिए ।

नेपालमा अन्य देशबाट खरिद गरेर ल्याइएको भेनम पर्याप्त हुने अवस्थामा एन्टी स्नेक भेनम उत्पादन गर्दा बजारीकरण र उपयोग प्रक्रियामा भने समस्या देखिन सक्ने जानकारहरु बताउँछन् । नेपालमा हाल विभिन्न ८२ प्रजातिका सर्पहरु पाइने गरेको जानकारहरु बताउँछन् । तीमध्ये करिब २१ प्रजाति विषालु छन् । विशालुमध्ये गोमन, करेत, रुसेल्स भाइपर, किङ कोब्रा र कोरल स्नेक सबैभन्दा धेरै विषालु वर्गका सर्प हुन् ।