विश्लेषण

विपदबाट मानवीय र भौतिकसँगै बहुआयामिक असर पर्ने जोखिम

- दिपशीखा रेग्मी काठमाडौं

हरेकजसो विपद्बाट हुने मानवीय र भौतिक क्षतिलाई लिएर प्राथमिकताका साथ बहस र विश्लेषण हुने गरेका छन् । र, क्षतिका तथ्याङ्क समेत सार्वजनिक गर्ने गरिएको छ । वर्षेनी विपद्बाट हुने मानवीय क्षति र भौतिक संरचनामाथिको असर मात्र नभई यसले निम्त्याउने सामाजिक, मनोवैज्ञानिक र राजनीतिक प्रभावलाई समेत महत्वपूर्ण रुपमा हेर्नुपर्ने कतिपयको बुझाइ छ । तर्सथ ठूला विपद्पछि सामाजिक र राजनीतिक पक्षमा पार्ने असरको मध्यनजर गर्दै राज्यप्रतिको भरोसा बढाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था सम्बन्धी ऐनले विपद्लाई दुई तरिकाले वर्गीकरण गरेको छ । पहिलो, गैरप्राकृतिक विपद् जस अन्तर्गत महामारी, अनिकाल, डढेलो, कीट तथा सूक्ष्म जीवाणु आतङ्क, जनावर आतङ्क, खानी, हवाई, सडक, औद्योगिक दुर्घटना, आगलागी, विषाक्त खाद्य सेवन, वातावरण प्रदूषण लगायत पर्दछन् । त्यस्तै दोस्रो, प्राकृतिक विपद् हो, जसमा हिमपात, हिमपहिरो, आँधी, हुरी–बतास, शीतलहर, भूकम्प, चट्याङ, बाढी, पहिरो, डुबान आदि पर्छ । पहिलो विपद् मानव सिर्जित प्रकोप÷विपद्सँग सम्बन्धित छ भने दोस्रो प्राकृतिक रुपमा उत्पन्न हुने जुनसुकै विपद्मा सम्बन्धित छन् ।

दुवै खालका विपद्बाट जनधनको क्षति मात्र नभई त्यसले सामाजिक, मनोवैज्ञानिक र राजनीति प्रभावहरु समेत निम्त्याउने गरेका छन् । विपद्का कारण आममानिसको दैनिक जीवन, आम्दानीका स्रोतसाधनका साथै पारिवारिक वातावरण समेत असर पार्ने गरेकोे समाजशास्त्रीहरु बताउँछन् । समाजशास्त्री नारायण ज्ञवालीले भने–‘बाढी एक छोटो समयमा आउने प्राकृतिक विपद् हो, जुन निश्चित समयमा सुरु भएर निश्चित समयमा सकिन्छ । तर पनि विभिन्न साना–ठूला नदीहरूको छेउछाउमा बसोबास गर्ने गाउँ, बस्ती वा सहरहरूलाई वर्षेनि मनसुनसँगै बाढी र डुबानको त्रासले सताउने हुँदा मानिसको जनजीवन,र पारिवारिक सम्बन्धहरु खल्बलाइरहेको छ । ’

प्राकृतिक विपद् कुनै निश्चित भौगोलिक सिमानासँग मात्र जोडिएको हँुदैन् । यस अर्थमा पनि विपद्को नकारात्मक असर कुनै निश्चित जात, जाति, धर्म, लिङ्ग, उमेर, वर्णका आधारमा मात्र पर्छ भन्ने हुँदैन । तर अविकसित मुलुकमा गरिएको अनुसन्धानहरुले विपन्न वर्गका मानिस बढी प्रभावित भएको देखाएको छ । यसरी हेर्दा बाढी र डुबानले मानव जीवनका विविध पक्षमा प्रभाव पारेको देखिन्छ । पहिलो, भौतिक संरचनामा भएको क्षति जसमा घर, जग्गा–जमिन, सडक, पुल, खानेपानी, नहर, पोखरी, स्कूल, अस्पतालका साथै अन्य सार्वजनिक स्थलहरू पर्छन् ।

दोस्रो, उत्पादनमूलक वा आय आर्जनको स्रोतमा पारेको प्रभावलाई लिईन्छ भने यसमा मुख्य कृषि र पशुपालन पर्छन् । र, अन्त्यमा विपद्का घटनाले घरपरिवार र पारिवारिक सम्बन्धमा प्रभाव पार्छ । यसको अर्थ पारिवारिक तथा सामाजिक सम्बन्ध, बस्ती, समुदाय, सामाजिक संस्था र संस्कृतिमा पनि प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । पारिवारिक सदस्य गुम्नु, बासस्थानमा परिवर्तन हुनु, छरछिमेकीहरु बदलिनु, साथीभाइ फेरिनु, नयाँ जीवनशैली अपनाउनुपर्ने बाध्यताको सिर्जना हुनुले समाजमा बहुआयामिक प्रभाव देखा पर्ने समाजशास्त्रीले बताएका छन् । त्यसैले विकासलाई दीर्घकलीन सोच अनुसार अघि बढाएर विपद्का घटनालाई कम गर्न सकिने समाजशास्त्री ज्ञवालीको बुझाइ छ ।

प्राकृतिक विपद्को क्षतिलाई पूर्वानुमान गर्न नसकिए जस्तै यसबाट हुने मानवीय क्षतिको पीडालाई गणना गर्न सकिँदैन । नेपालको सन्दर्भमा हेर्ने हो भने जनअपेक्षा अनुसार काम नहुँदा राज्यका निकाय र राजनीतिक नेतृत्वप्रति असन्तुष्टी चुलिएका बेला विपद्ले निम्त्याएको संकटले थप समस्या ल्याउन सक्ने कोणबाट समेत विश्लेषण भइरहेका छन् । राज्यका निकायको भूमिका कमजोर हुँदा त्यस्तो अवस्था आउने बुझाइ कतिपयको छ । विज्ञहरुका अनुसार नेपालमा बाढीले विपद् निम्त्याएपछि मात्र विभिन्न समस्या र समाधानका उपायबारे प्रश्नहरु उठ्ने गर्छन् । त्यसपछि लगभग ७÷८ महिनासम्म ती प्रश्नहरु लुप्त भएर बस्छन् । राजनीतिक विश्लेषक केशव दाहालले भने–‘फेरि पुन मनुसन सुरु भएसँगै बिर्सिएका ती सवाल जुर्मुराएर एकैचोटी आउजे प्रवृत्तिका कारण पनि विपद् न्युनीकरणको सवालमा राज्यको भूमिका न्यून देखिएको छ ।’

विपद्का बेला आममानिसको भरोसा भनेकै राज्य र यसका निकायप्रति बढी देखिन्छ । तसर्थ विपद्पछि आहत बनेका नागरिकको पीडामा मल्हम लगाउन उनीहरुबाटै प्रभावकारी कदमको अपेक्षा गरिएको हो ।