विश्लेषण

प्रधानमन्त्री केपी ओलीको लोकप्रियता खँस्कदो !

- खिलनाथ ताजपुरिया

नेकपा एमाले अध्यक्ष केपी ओली चौथो पटक प्रधानमन्त्री भएको तीन महिना व्यतित हुँदैछ । कंग्रेस र एमाले जस्ता ठूला दल मिलेर सरकार बनेपछि जनभावना अनुसार मुलुकलाई अघि बढाउने अपेक्षा सबैतिरबाट गरिएको थियो । राजनीतिक स्थायित्वका लागि संविधान संसोधन गर्ने लगायत सहमतिबाट शुरु भएको सत्ता सहयात्राको भविष्य निक्र्यौल गर्न कठिन छ । तर यतिखेर सरकार प्रमुख एवम् कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीको लोकप्रियता भने खस्कदै गएको टिप्पणी हुन थालेका छन् । यसअघि प्रधानमन्त्री हुँदा चर्चा र लोकप्रियता दुवै कमाएका ओलीको आलोचना र विरोध बढ्नुको कारण के हो त ?

असोजको दोस्रो साता अविरल वर्षासंगै आएको बाढी, पहिरोले अकल्पनीय रुपमा जनधनको क्षति पुु¥याएपछि नागरिकले सरकारप्रति निकै धेरै प्रश्न उठाए । प्राकृतिक विपत्ति आइपर्दा तत्काल गर्नुपर्ने उद्धार तथा राहतका काममा ढिलासुुस्ती भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्नहरुको ओइरो लाग्यो किनभने उनी अमेरिकाको भ्रमण छोट्याएर तत्काल स्वदेश फर्किएनन् । जब फर्किए तब उनले सहानुुभूूति दिन छाडेर प्राकृतिक विपत्तीबारे दिएको अभिव्यक्तिका कारण नागरिकस्तरबाट नै आलोचना खेप्नुुप¥यो । स्वदेश फर्किएर प्रधानमन्त्री ओलीले भनेका थिए–‘फरकास्ट गरेको थियो रेड अलर्ट भनेर तर कहाँ–कहाँ पहिरो जान्छ भनेर त भनेको थिएन । अब गएपछि थाहा हुने कुरा हो । काठमाडौं यति डुबान हुने गरि यस्तो गरि आउला भनि त्यो कल्पना पनि थिएन ।,’ ओलीले थपे ‘अलर्ट त थियो यस्तो कुराहरुलाई हामीले वस्तुपरक ढंगले नै लिनुपर्छ । विरोधका लागि विरोध होला । बाढी आउने कुरालाई त रोक्न सकिदैनथ्यो ।’

पहिलो दल नेपाली कंग्रेस समेतको समर्थनमा गत असारको ३१ गते प्रधानमन्त्री भएका ओलीप्रति विपद्को बेला भएको आलोचना एक उदाहरण मात्र हो । सरकारको काम प्रभावकारी नदेखिएको भन्दै नेतृत्वको रुपमा प्रधानमन्त्रीको आलोचना बढ्दो छ । र, संसदकै ठूलो दल कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओली संसदीय अंकगणितले बलियो भएपनि जनताकाबीचमा बलियो ढंगमा किन प्रस्तुत हुन सकेका छैन ?, के २०७२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्दा उनले पाएको लोकप्रियता अहिले आएर खस्किदै गएको हो ?जस्ता सवाल यतिबेला सतहमा देखिन्छन् । त्यसमाथि संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन पुुगेका अमेरिका पुगेका प्रधानमन्त्री ओलीको विरोध हुने भएपछि एउटा कार्यक्रम स्थगित भएको बिषयको निकै चर्चा भयो । कोलम्बिया विश्वविद्यालयको आयोजनामा गरिएको एक कार्यक्रममा प्रधानमन्त्रीको प्रस्तुुतिलाई लिएर पनि आलोचना र टिप्प्णी गर्नेहरुको कमी छैन । भलै एमालेका नेताहरुले त्यसको बचाउ नगरेका भने होइनन् । देशभित्रै रहँदा पनि प्रधानमन्त्री भएपछि ओलीसँग काठमाडौंका मेयर बालेन्द्र शाहसँग चलेको घोचपेचले उनको आलोचना नभएको होइन । मेयर साहसँग नोकझोक भएपछि खासगरी युवा जमात प्रधानमन्त्री ओलीप्रति सन्तुुष्ट देखिएका छैनन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको अकाउन्ट अनफलो अभियान नै चलेको थियो । प्रधानमन्त्री ओलीको बढ्दो आलोचनालाई उनको पार्टी एमालेले भने सरकारमा पुग्नेबित्तिकै आलोचना बढि गर्ने प्रवृतिले गलत सन्देश गएको बताएको छ । पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भन्छिन्,‘सरकारमा बसिसकेपछि जोसुकै होस्, सरकारमा रहेपछि अलिअलि कमीकमजोरी त हुन्छ नै । राम्रै राम्रा सबैलाई चित्त बुझाउने खालको त गाह्रो नै छ नी । सबैलाई चित्त बुझाउन पनि त सकिदैन ।,शाक्यले भनिन्, ‘सरकारमा पुग्यो की आलोचना सुरु गर्ने, राम्रो काम गरोस भनेर सबैले सहयोग गर्नुपर्छ, यो देश र जनताका लागि काम गर्नुपर्ने भनेर सुझाव दिनुको सट्टा सकारात्मक चिन्तन अलि बढि कमजोर भएको देख्छु म ।’

माओवादीसंँगको सत्तागठबन्धन छाडेर असारको तेस्रो साता संसदको ठूूलो दल कंग्रेससँंग सत्ता सहकार्य गर्न पुुगेपछि ओली नेतृत्वको सरकारका कामप्रति अहिले माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलहरुले प्रश्न उठाइरहेका छन् । कंग्रेस र एमाले जस्ता ठूला दलको सत्ता साझेदारीपछि जनचाहना अनुसार सरकारले काम गर्ने अपेक्षा गरिएको हो । तर तरप्रतिपक्ष दलबाट मात्र होइन,नागरिक स्तरबाट सरकार र प्रधानमन्त्री ओलीले चर्को आलोचना खेप्नुुपरेको छ । यस्तो अवस्थामा ओलीको सत्ता साझेदार दल कंग्रेसले सरकारको मूल्यांकन कसरी गरेको छ त ? काँग्रेस नेता मीन विश्वकर्मा विगतको सरकार सञ्चालनमा केही अस्थिरताहरु देखा परेको जसका कारण राजनीतिक अस्थिरताहरु सिर्जना परेको बताउँछन् । ‘आम नेपाली जनताले यो साना–साना दलहरुले च्याँखे दाउ थाप्ने कारणले यो राजनीतिक अस्थिरता भयो । ठूला दलहरुले एकपटक सरकार चलाइदिए हुन्थ्यो, जसका कारणले राजनीति स्थिरता पनि हुन सक्छ भन्ने जनताको भावना अनुसार सरकार बनेको हो । उनले भने, ‘ यो सरकारले राजनीतिक स्थीरतार सुशासनका लागि आन्तरिक तयारीका साथ जसरी अगाडी बढ्दैछ । बाहिर हल्ला त केही नभएको भन्ने छ तर भित्रचाही तयारी राम्रो गरेकोले परिणाम देख्नका लागि केही समय पर्खिनुपर्ने अवस्था छ ।’

संविधान जारी गर्दा भारतले लगाएको अघोषित नाकाबन्दीको चर्को विरोध गरेका ओलीको लोकप्रियता भने त्यहिबाट अगाडी बढेको थियो । चीनसँग पारवहन सम्झौता गरेर होस् वा भारतबाट अतिक्रमित भूमिसहितको चुच्चे नक्साजारी गर्दा लिएको अग्रसरताले ओलीको छवि निकै उचो बनाएको हो । त्यस्तै, घरघरमा पाइपलाइनबाट ग्यास, पानीजहाजका सपना अनि विकास र समृद्धिका लागि गरेको अगुवाइबाट लोकप्रियता बढाएका ओली अहिले भने आम जनताको नजरमा कमजोर देखिन थालेका छन् । विश्लेषकहरु भने ओलीको पछिल्लो राजनीतिले उनको लोकप्रियता घट्दै गएको बताउँछन् । विश्लेषक डम्बर खतिवडा भन्छन् ‘मलाई लाग्छ ओलीको लोकप्रियता आज होइन उहाँको त्यो जुन साढे ३ वर्षको नेकपा भन्ने सरकार बनेको थियो । केपी ओलीको यसअघिको सरकारका पालामा जुन असफल कार्यशैली देखाउनुभयो र त्यतिबेला देखि नै नेपालको अर्थतन्त्र बिग्रिदै गएको अवस्थामा कोभिड–१९ आएको बेला अवव्यस्थित बन्यो । मानिसहरुलाई महिनौसम्म लाखौं किलोमिटर हिड्नुपर्ने, सीमानाकाहरुमा महिनौसम्म चौरीमा सुत्नुपर्ने खालको स्थिति उहाँले सिर्जना गर्नुभयो । देशमा आर्थिक संकट बढेको बेलामा उहाँहरुले भन्दै आएको नेकपा पार्टी पनि फुटेर गयो ।’ उनले भने,‘दुई पटकसम्म असंवैधानिक रुपले संसद विघटन गर्नुभयो । यी सारा घटनाले ओलीको लोकप्रियता त्यतिबेला देखि नै घट्न थालेको हो र त्यो अझै धेरै घट्ने संकेत चाही देखिन्छ । अहिलेको परिस्थितिले के देखाउँछ भने सायद उहाँ अब चाही पतनको आरोलो यात्रामा हुनुहुन्छ जस्तो देखिन्छ ।’

पार्टीको संगठन सुुदृढ बनाउदै एक्लो प्रतिस्पर्धाबाट २०८४ मा एमालेलाई पहिलो दल बनाउने र शक्तिशाली प्रधानमन्त्री बन्ने सपना बुुनेका ओलीको क्रेज आगामी दिनमा बढ्छ या राजनीति नै ओरालो लाग्छ त्यो भन्ने हेर्न बाँकी नै छ । किनभने पहिलो दल नेपाली कंग्रेसको समर्थन पाएर बलियो प्रधानमन्त्री हुँदा समेत जनचाहना अनुसार काम गर्न नपाएको अपजशको भारी अब ओलीको काँधमा बढ्दैछ ।