विश्लेषण

नेपाललाई घरेलु भूमिमा पहिलोपटक च्याम्पियन बन्ने अवसर

- पुजनी श्रेष्ठकाठमाडौं

साफ महिला च्याम्पियनसिप फुटबलको सातौं संस्करण बिहिबारबाट सुरु हुँदैछ । नेपालमा तेस्रो पटक आयोजना हुन लागेको प्रतियोगिता कात्र्तिक १४ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स सहभागी हुने छन् । यसपटक नेपाललाई घरेलु भूमिमा हुने प्रतियोगितामा पहिलोपटक च्याम्पियन बन्ने अवसर छ ।

सन् २०१९ मा विराटनगरमा पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप आयोजना गरेको नेपालले सन् २०२२ मा छौंटौं संस्करण काठमाडौंमा गर्यो । बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतसँग एक÷एक पटक प्रतियोगिता आयोजनाको अनुभव छ । सबैभन्दा धेरै पटक प्रतियोगिता आयोजना गरेपनि नेपालले उपाधिमाथि कब्जा भने जमाउन सकेको छैन । प्रतियोगिताको उपाधि अहिलेसम्म दुई टिमले मात्रै जितेको छ । भारतले सुरुवाती पाँच संस्करणमा लगातार उपाधि जित्दा, बंगलादेश एक पटकको च्याम्पियन हो । पाँच संस्करणसम्म एक खेल नहारेको भारतले पछिल्लो संस्करणमा दुई हार व्यहोरेको थियो ।

समूह चरणमा बंगलादेशसँग पराजित भएको भारत सेमिफाइनलमा नेपालसँग पराजित भयो । नेपालले साफ महिला च्याम्पियनसिपमा भारतलाई हराएको यो नै पहिलो पटक थियो । त्यसअघि नेपाल भारतसँग चार पटक फाइनलमा र एक पटक सेमिफाइनलमा पराजित भएको थियो । पाकिस्तानबाहेक ६ टोलीले यसअघिका सबै संस्करण खेलेका छन् । पाकिस्तानले ४ पटक मात्र खेलेको छ । सुरुका तीन संस्करण खेलेको पाकिस्तानले चौंथो र पाँचौं संस्करण खेलेन । उसले सन् २०२२ मा पुनरागमन गरेको थियो ।

दक्षिण एसियाली फुटबल महासंघको आयोजनामा सन् २०१० मा साफ महिला च्याम्पियनसिपको पहिलो संस्करण बंगलादेशमा आयोजना भयो । सो संस्करणमा ८ राष्ट्रले सहभागीता जनाएको थिए । नेपाल तीन खेल जित्दै समूह बी को विजेता बन्दै सेमिफाइनल पुग्यो । सेमिफाइनलमा बंगलादेशलाई हराएपनि नेपाल फाइनलमा भारतसँग १–० ले पराजित भयो । 

सन् २०१२ मा प्रतियोगिताको दोस्रो संस्करण श्रीलंकाको कोलम्बोमा भयो । सो संस्करणमा पनि नेपाल समूह बी को विजेता बन्दै सेमिफाइन पुग्यो । सेमिफाइनलमा श्रीलंकालाई ३–० ले हराउँदै नेपालले दोस्रो पटक फाइनलमा भारतसँगको भेट पक्का गर्यो । तर उपाधि भिडन्तमा नेपाल भारतसँग ३–१ गोलले पराजित भएपछि उपविजेतामै सीमित भयो ।

साफ महिला च्याम्पियनसिपको तेस्रो संस्कराण पाकिस्तानमा आयोजना भयो । जहाँ भारतले उपाधिमाथि ह्याट्रिक गर्यो । भारत तेस्रो पटक च्याम्पियन बन्दै गर्दा नेपाल भने लगातार तेस्रो पटक उपविजेता बन्यो ।

तीन पटकको च्याम्पियन भारतले सन् २०१६ मा साफ महिला च्याम्पियनसिपको चौंथो संस्करण आयोजना गर्यो । पाकिस्तान बाहेक ७ टोली सहभागी सो संस्करणमा भारत लगातार चौंथो पटक च्याम्पियन बन्यो । चौंथो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदा, बंगलादेश पहिलो पटक फाइनल पुग्यो ।

पाकिस्तान र अफगानीस्तान बाहेक ६ टोली सहभागी च्याम्पियनसिपको पाँचौं संस्करणको फाइनलमा नेपाल भारतसँगनै पाराजित भयो । घरेलु मैदान र दर्शकको भरपुर साथ पाए पनि नेपाल छैटौं संस्करणको फाइनलमा बंगलादेशसँग हार व्यहोर्न बाध्य भयो । बंगलादेश भने प्रतियोगिताको नयाँ च्याम्पियन बन्यो । फाइनलमा चार पटक भारतसँग पराजित भएको नेपाल बंगलादेशसँग पनि पराजित भएपछि पाँच पटक उपविजेता बन्यो । नेपाललाई फेरी एक पटक घरेलु मैदानमा च्याम्पियन बन्ने अवसर छ । 

पछिल्लो समय महिला फुटबलको गतिविधि चलायमान छ । अखिल नेपाल फुटबल संघले गत भदौंमा पहिलो पटक महिला लिग आयोजना गर्यो । जसमा १० टोली सहभागी थिए । महिला साफ च्याम्पियनसिपका लागि एन्फाले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेको छ । राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले व्यावसायिक फुटबलका लागि देश बाहिर रहेका सवित्रा भण्डारी र रेखा पौडेललाई पनि टोलीमा समेटेका छन् । हाल संयुक्त अरब इमिरेट्सको अबुधाबी कन्ट्री क्लबमा आबद्ध रहेकी रेखा भने नेपाल आइपुगेकी छन् ।

साम्बाले भने साफ महिला च्याम्पियनसिप अन्तर्गत पहिलो खेल गुमाउने छिन् । नेपालले पहिलो खेल आगामी शुक्रबार भुटानसँग खेल्दा साम्बाको उपस्थित नहुने पक्का भएको छ । फ्रान्सेली क्लब एन एभान्ट ग्वेंगाम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी साम्बालाई क्लबले आफ्नो लिग खेलका लागि राख्ने निर्णय लिएपछि उनी नेपालको पहिलो म्याचमा उपलब्ध नहुने भएकी हुन् । साफ महिला च्याम्पियनसिपको पहिलो खेल फिफाको अन्तर्राष्ट्रिय विन्डोभन्दा बाहिर रहेकाले साम्बाले त्यो खेल गुमाउने भएकी हुन् ।