विश्लेषण

दक्षिण एसियाली महिला क्रिकेट टोली साँच्चै कमजोर हुन् त ?

- पुजनी श्रेष्ठकाठमाडौं

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको नवौं संस्करण संयुक्त अरब इमिरेट्स युएईमा जारी छ । महिला विश्वकपको सेमिफाइनल समिकरण पूरा हुँदा क्रिकेटको पावर हाउस मानिने दक्षिण एसियाली महिला टोली विश्वकपको अन्तिम चारमा पुग्न सकेनन् । दक्षिण एसियाली महिला क्रिकेट साँच्चै कमजोर छ वा अन्य टोलीले राम्रो प्रदर्शन गरेका हुन् त ?

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि अहिलेसम्म ३ राष्ट्रले मात्रै जितेको छ । अष्ट्रेलिया सर्वाधिक ६ पटकको च्याम्पियन हो भने इंग्ल्यान्ड र वेष्ट इन्डिजले एक÷एक पटक उपाधिमाथि कब्जा जमाएका छन् । महिला टी–२० विश्वकप वेष्ट इण्डिजले दुई पटक आयोजना गर्दा, इंग्ल्यान्ड, श्रीलंका, बंगलादेश, इण्डिया, अष्ट्रेलिया, दक्षिण अफ्रिका र युूएईमा एक÷एक पटक आयोजना भएको छ ।

महिला टी–२० विश्वकप क्रिकेटको पहिलो संस्करण सन् २००९ मा इंग्ल्यान्डमा हुँदा दक्षिण एशियाली राष्ट्र इण्डिया सेमिफाइनसम्म पुग्यो । पहिलो संस्करणको उपाधि इंग्ल्यान्डले घरमै राख्यो र उसले फाइनलमा न्यूजिल्यान्डलाई ६ विकेटले हरायो ।

सन् २०१० मा वेस्ट इन्डिजमा दोस्रो संस्करणको टी–२० विश्वकप हुँदो सेमिफाइनलसम्म पुग्ने एकमात्र भाग्यमानी दक्षिण एशियाली टोली इण्डिया नै बन्यो । इण्डिया सेमिफाइनलमा अष्ट्रेलियासँग ७ विकेटले पराजित भयो । फाइनलमा न्यूजिल्यान्डलाई ३ रनले हराउँदै सो संस्करणको उपाधि अष्ट्रेलियाले जित्यो । न्यूजिल्यान्ड दोस्रो पटक उपविजेता बन्यो ।

सन् २०१२ मा श्रीलंकामा महिला टी–२० विश्वकपको तेस्रो संस्करण आयोजना भयो । पहिलो र दोस्रो संस्करणमा दक्षिण एसियाली राष्ट्र इण्डियाले सेमिफाइनलसम्मको यात्रा तय गरेपनि तेस्रो संस्करणमा दक्षिण एसियाका कुनै राष्ट्र अन्तिम चारसम्म पुग्न सकेनन् । तेस्रो संस्करण्को फाइनलमा इंग्ल्यान्डलाई ४ रनले हराउँदै अष्ट्रेलियाले दोस्रो पटक महिला टी२० विश्वकपको उपाधि जित्यो ।

बंगलादेशमा सन् २०१४ मा आयोजना भएको चौंथो संस्करणमा पनि दक्षिण एसियाली राष्ट्रले समूह चरण पार गर्न सकेनन् । सो संस्करणको फाइनलमा इंग्ल्यान्डलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधिमाथि ह्याट्रिक ग¥यो ।

दक्षिण एसियाली राष्ट्र इण्डियामा सन् २०१६ मा आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको पाँचौं संस्करण आयोजना भयो । सो संस्करणमा पनि दक्षिण एसियाका कुनै राष्ट्रले अन्तिम चारसम्मको यात्रा तय गर्न सकेनन् । तर महिला टी–२० विश्वकपको नया विजेताको रुपमा वेष्ट इन्डिज उदायो । उसले फाइनलमा लगातार तीन पटकको च्याम्पियन अष्ट्रेलियालाई ८ विकेटले माथ खुवायो ।

लगत्तै छैंटौं संस्करण वेष्ट इण्डिजले आयोजना गर्यो सन् २०१८ मा । सो संस्करणमा दक्षिण एसियाली राष्ट्र इण्डिया समूह बी को विजेता बन्दै सेमिफाइन पुग्यो । तर इण्डिया अन्तिम चारको खेलमा इंग्ल्यान्डसँग ८ विकेटले पराजित भयो । सो संस्करणको उपाधिमाथि भने पुनः अष्ट्रेलियाले कब्जा जमायो, फाइनलमा इंग्ल्यान्डलाई हराउँदै ।

महिला टी–२० विश्वकप क्रिकेटको चौंथो पटक उपाधि उचालेको अष्ट्रेलियाले सातौं संस्करण सन् २०२० मा घरेलु भुमिमा आयोजना गर्यो । सो संस्करणमा इण्डिया फाइनलसम्म पग्ुयो । इङ्गल्याण्डविरुद्धको सेमिफाइनल म्याच वर्षाले रद्द भएपछि समूहगत चरणमा बढी अंक पाएको आधारमा इण्डिया फाइनलमा स्थान बनाउन सफल भयो । समूह चरणमा इण्डियाले ८ र इङ्गल्याण्डले ६ अंक बटुलेको थियो । दक्षिण एसियाली राष्ट्रले महिला विश्वकपमा पाएको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि हो । तर दुर्भाग्य फाइनलमा इण्डिया आयोजक अष्ट्रेलियासँग ८५ रनले हार्न पुग्यो । अष्ट्रेलियाले भने महिला टी–२० विश्वकपको उपाधिमाथि पाँचौं पटक कब्जा जमायो ।

पछिल्लो संस्करण दक्षिण अफ्रिकामा आयोजना भयो । यो महिला विश्वकप क्रिकेटको आठौं संस्करण हो । सो संस्करणमा पनि दक्षिण एसियाका कुनै पनि राष्ट्रले अन्तिम चारसम्मको यात्रा तय गर्न सकेनन् । उपाधि भने अष्ट्रेलियाले छैंटौं पटक उचाल्यो ।

पछिल्ला नतिजा हेर्दा दक्षिण एसियाली राष्ट्रले महिला टी–२० विश्वकपमा अहिलेसम्म उत्कृष्ट नतिजा हात पार्न सकेको छैन् । टी–२० फरम्याटमा महिलाको आठ वटा विश्वकप भएका छन् । त्यसमध्ये सबैभन्दा धेरै ६ पटक अष्ट्रेलियाले उपाधि जितेको छ । दक्षिण एसियाली राष्ट्रबाट इण्डियाले एक पटक फाइनल खेल्दा, चार पटक सेमिफाइनल खेलेको छ । इण्डिया बाहेक दक्षिण एसियाका अन्य राष्ट्र सेमिफाइनसम्म पनि पुग्न सकेका छैनन् । जारी नवौं संस्करणमा पनि दक्षिण एसियाका कुनै टोली सेमिफाइनल पुग्न सकेनन् ।

दक्षिण एसियाली मुलुकमा महिलाको दाँजोमा पुरुष क्रिकेट टोलीले बढी अवसर पाउने गरेका छन् । पुरुष टोलीलाई जति लगानी गरिन्छ, महिलालाई नगरिएका कारण पनि विश्वकपमा दक्षिण एसियाली महिला टोली छाँयामा परेको हो । महिला टोलीमाथि लगानी नै कम गरिन्छ । नेपालमै पनि उत्कृष्ट नतिजा ल्याए पछिमात्रै पर्याप्त सुविधा दिने गरिएको छ । दक्षिण एसियाली महिला राष्ट्रले अवसर कम पाउनुनै उत्कृष्ट नतिजा नआउनुको मुख्य कारण हो । यसैले गर्दा पछिल्लो समय दक्षिण एसियाली राष्ट्रको प्रदर्शन खस्कीदै गएको हो ।