विश्लेषण

इजरायल प्यालेस्टाइन युद्धः मानवता विरोधी घटनामा मौनता साँधियो

- तारा ढकालकाठमाडौं

प्यालेस्टाइनको लडाकु समूह हमासले एक वर्षअघि गत वर्षको अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि युद्धको भयावह अवस्था अझै जारी छ । हमासको आक्रमणमा परी इजरायलतर्फ कम्तीमा १७ सयले ज्यान गुमाएका र तत्कालै २ सय ५१ जनालाई बन्धक बनाएपछि इजरायलले सुरु गरेको प्रतिवाद नरसंहारमा परिणत भएको विभिन्न टिका टिप्पणी भइरहेका छन् । तर, पनि विश्वमा नै तरङ्ग पैदा गर्ने मानवता विरोधी नरसंहारका घटना हुँदा समेत नेपाली समाजलाई नछुने विषयले भने मानवीय संवेदनशीलता माथि नै प्रश्न उठ्न थालेको बताइन्छ ।

हुन त युद्धको जात, धर्म र रङ्ग हुँदैन भनिन्छ । पछिल्लो तथ्याङ्कअनुसार एक वर्ष लामो युद्धका क्रममा गाजामा मात्रै इजरायलको आक्रमणमा परि कम्तीमा ४२ हजार ५ सय ११ जनाको ज्यान गइसकेको छ, त्यसमध्ये १६ हजार ५ सय बालबालिका छन् । गाजामा हरेक घण्टा ६ बालबालिकासहित १५ जनाले ज्यान गुमाइरहेका विवरण सार्वजनिक हुने गरेका छन् । सो आक्रमणमा करिब १ सय ३० पत्रकार, मानवीय सहयातका लागि कार्यरत अधिकारीहरुको पनि मृत्यु भएको छ । सो आक्रमणमा १७ सय इजरेलीको मृत्यु भएको छ । इजरायल प्यालेस्टाइन युद्धका क्रममा करिब एक लाख घाइते छन् । ८ हजारभन्दा बढी हराइरहेका वा भग्नावशेषमा फसेका छन् ।

 त्यस्तै लेबनानमा गत सेप्टेम्बर १७ मा पेजर र रेडियो सेटहरु अक्स्मात पड्काएर मानिसको मृत्यु भएको छ भने शान्ति सेनामाथि समेत आक्रमणका प्रयास भएका छन् । तर, यस्ता मानवता विरोधी घटनाको सशक्त प्रतिवाद हुनुपर्ने भएपनि यदाकदा मौन आवाज सुनिदै आएको नेपाली समाजमा भने छुन सकेको देखिँदैन । नरसंहारको गति यति तीव्र हुँदासमेत नेपाली समाज र राजनीति जगतलाई छुन नसक्नु आश्चर्य भएको कतिपयको धारणा छ । के नेपालमा मानवताको सवालमा आवाज विलिन हुँदै गएको हो त ? भन्ने प्रश्नमा समाजशास्त्री डाक्टर दिपेश घिमिरे भन्छन् । उनले भने–‘मानवता विरोधी अपराध भइरहँदा नेपालमा नागरिकको स्थान खुम्चिँदै गएको छ, यसमा राज्य पक्ष उद्दत छ भने नागरिक समाज विभाजित भएकाले आवाज उठाउन पहल गर्न सकेको छैन ।’

इजरायली आक्रमण र यसले निम्त्याएको सङ्कटमा नागरिक समुदाय समेत विभाजित भएको कतिपयको बुझाई छ । मान्छेले बाँच्न पाउनुपर्छ भनेर बोल्न नसक्ने समाजको विकास भएको उनीहरुको भनाई छ । समाज त पक्ष विपक्षमा भन्दा मानवअधिकारको सवालमा उभिनुपर्ने भएपनि आफ्नो लाभानुसार मात्र आवाज उठाएको पाइने गरिएको राजनीतिक विश्लेषक हरि रोकाको भनाई छ । मानव अधिकार र यसको रक्षाको पक्षमा उभिनुपर्ने भएपनि राजनीतिक नेतृत्वदेखि नागरिक समुदाय विभाजित हुँदा समेत आवाज नउठ्नु निराशाजनक भएको उनको बुझाई छ । राजनीतिक विश्लेषक रोका भन्छन्,‘नगरिक समाजदेखि राजनीतिक दल समेत विभाजित हुँदा यस्ता मुद्दामा आवाज उठ्न सकेको छैन ।’

यसअघिका कतिपय युद्ध र आक्रमण जस्तो रुसले युक्रेनमाथि आक्रमण गर्दा, सिरिया युद्ध लगायत मानवता विरोधी युद्ध अपराधमा नेपालमा पनि प्रदर्शन भएका थिए तर यसपटक भने नेपाली समाज र राजनीतिक वृत्त चुकिरहेको व्याख्या भइरहेको छ । नेपाल भूराजनीतिको चपेटामा परेको तथा असंलग्न परराष्ट्र नीति भन्ने व्यवहारमा लागू नहुँदा पनि त्यस्तो अवस्था आएको कतिपयको भनाइ छ । मानवता विरोधी भयावह घटनाका दृष्य छताछुल्ल हुँदा समेत मानवताको पक्षमा देखिएको मौनता अनौठो भएको सामाजिक अध्येता डाक्टर मिना पौडेलको बुझाई छ । उनले भनिन्– ‘आलोचनात्क चेत राख्ने स्वतन्त्र नागरिक बोलि रहेका छन्, सरकार महाशक्ति राष्ट्रको पक्षधर भएर बोलि रहेको छैन ।’

द्वन्द्वमा प्रत्यक्ष जोडिएका इजरायल र प्यालेस्टाइन तथा अन्य शक्ति राष्ट्रसँगको सम्बन्धका कारण नेपालले युद्धको विरोध र मानवअधिकारको पक्षमा सशक्त ढङ्गमा आफूलाई उभ्याउन नसकेको बताइन्छ । इजरायल र प्यालेस्टाइनबीचको सम्बन्ध आफ्नो स्तरमा भएपनि यस्तोमा अवस्थामा कसैलाई पनि असर नपर्ने गरि आवाज उठाउनुपर्ने राजनीतिक विश्लेषक खुशीलाल मण्डलको भनाई छ ।

इजरायल–प्यालेस्टाइन तथा लेबनानको युद्धका अनेक विवरण दैनिक सार्वजनिक भइरहेका छन् । तरपनि नेपाली समाज मौन हुनु भनेको संवेदनशिलता गुम्दै गएको भन्ने बताइन्छ । गलत सूचनाका कारण कतिपय त्यसकोपछि लाग्नाले समेत मानवताको पक्षमा आवाज नउठेको अन्तर्राष्ट्रिय कानूनका जानकारहरु बताउँछन् । अन्तराष्ट्रिय कानूनका विज्ञ प्राध्यापक डा. युवराज संग्रौलाले भने– ‘रोजगारीका सिलसिलामा धेरै नेपाली इजरायलमा रहेकाले समेत उसले जारी राखेको नरसंहार ठिक हो भन्ने पक्षमा नेपाली जनमत रहेको देखिन्छ । तर, वास्तवमा मानवता विरोधी गतिविधि कुनै पनि ठिक नभएकाले सत्य सूचना सम्प्रेषण गर्नु आवश्यक छ ।’

आधुनिक विश्वको एक देशमा अन्याय भइरहँदा अर्को समाज मौन रहनु उदेकलाग्दो पक्ष हो । त्यसमाथि नेपाली समाजले विश्वमा भएका अन्याय अत्याचारका विरुद्ध आवाज उठाउँदै आएको इतिहास भएपनि अहिले इजरायलले बढाउँदै लगेको आक्रमणबाट श्रृजित सङ्कटको सन्दर्भमा नबोल्ने प्रवृत्तिलाई निकै गलत रवैया भनिँदैछ ।