विश्लेषण

राष्ट्रिय खेलकुद तोकिएको समयमा नहुने नियतिले अझै छाडेन

- पुजनी श्रेष्ठकाठमाडौं

घरेलु खेलकुदको कुम्भ मेला मानिने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भनिए पनि निश्चित मिति अझै टुंगो लागेको छैन । आगामी मंसिर २ देखि ९ गतेसम्म हुने भनिए पनि प्रतियोगिता निर्धारित समयमा नहुने देखिएको छ । दक्षिण एसियाली खेलकुद र एसियन गेम्सको छनोट मानिएको राष्ट्रिय प्रतियोगिता नै समयमै हुन नसक्दा त्यसको प्रभाव खेलाडीको प्रदर्शनमा पनि पर्नेमा कुनै शंका छैन ।

हरेक दुई वर्षमा आयोजना हुने गरी २०३८ सालमा रािष्ट्रय खेलकुदको पहिलो संस्करण आयोृजना भएको थियो । अहिले २१ औं संस्करणको राष्ट्रिय खेलकुद सकिएर २२ औं संस्करणमा जुट्नु पर्ने नेपाली खेलकुद के कारणले ९ औं सकिएर १० औं संस्करणको संघारमा हुँदा, त्यो पनि समयमै हुँदैन की भन्ने प्रश्न उठेको छ ।

पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ साल भदौं २७ देखि असोज ४ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना भयो । प्रतियोगितामा २ सय २३ महिला गरि कुल १ हजार ४ सय ४३ जना खेलाडीले भाग लिए । विभिन्न १६ वटा खेल समावेश गरिएको पहिलो संस्करणमा कुल दुई सय २९ पदकका लागि खेलाडीहरु आपसमा भिडेका थिए । पहिलो संस्करण आयोजना गर्न आठ लाख रुपैयाँ खर्च भएको राखेपको अभिलेखमा छ ।

दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४० साल चैत १२ देखि २० गतेसम्म पोखरामा भयो । २५ वटा स्पर्धा समावेश गरिएको प्रतियोगितामा कुल २ हजार ५ सय ७ जना खेलाडीले भाग लिए । १ सय १९ स्वर्ण, १ सय १९ रजत र १ सय ३२ कांस्य गरी कुल ३ सय ७० पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा भएको थियो ।

तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४२ साल फागुन २३ देखि चैत १ गतेसम्म वीरगञ्जमा भयो । खेल संख्या बढेर २६ पु¥याइएको प्रतियोगितामा महिला खेलाडीको संख्या पनि बढ्यो । तत्कालीन संरचना अनुसार १४ अञ्चलमध्ये अघिल्ला संस्करणमा झैं बागमती प्रथम भयो । कोशी दोस्रो र आयोजक नारायणी तेस्रो स्थानमा रहे । तेस्रो संस्करण वीरगञ्जमा भए पनि भौतिक पूर्वाधारको समस्याका कारण पौडीको स्पर्धा भने काठमाडौंमै गरिएको थियो । चार सय ७३ पदकका लागि २ हजार ७ सय ७५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तेस्रो संस्करणमा जितेन्द्र चौधरी एक्लैले पाँंचवटा स्वर्ण पदक जितेका थिए ।

तेस्रो संस्करण सम्पन्न भएको १३ वर्षपछि नेपालगञ्जमा चौथो संस्करण २०५५ साल चैत ८ देखि १४ गतेसम्म आयोजना भयो । जनआन्दोलन र राजनीतिक परिवर्तनका कारण समयमै राष्ट्रिय खेलकुद आयोजना हुन नसकेको हो । चौथो संस्करणमा पाँच विकास क्षेत्रका टोलीले प्रतिस्पर्धा गर्नुका साथै दुई वटा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब पनि समावेश गराइयो । चौथो संस्करणमा १ हजार ६ सय २२ जना खेलाडीले भाग लिँदा १२ वटा खेल मात्र समावेश गरिएको थियो । प्रतियोगिता नेपालगञ्जमा भएपनि महिला र पुरुष भलिबल सुर्खेतको वीरेन्द्रनगर तथा पौडी ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा आयोजना भयो ।

इतिहास हेर्ने हो भने राष्ट्रिय खेलकुदका शुरुका तीन संस्करण निर्धारित मितिमै भए पनि त्यसपछि भने क्रमभंग हुन पुग्यो । सुदूरपश्चिमाञ्चलमा खेलकुदका भौतिक पूर्वाधार अभाव रहेको कारण देखाउँंदै प्रतियोगिता निर्धारित समयमा आयोजना गरिएन । त्यसपछि कहिले राजनीतिक त कहिले आर्थिक अभावको कारण देखाउँंदै पाँंचौं राष्ट्रिय खेलकुदको मिति पाँंच पटक परिवर्तन हुन पुग्यो ।

दरबार हत्या काण्डका कारण पनि पाँंचौं संस्करणको मिति सर्यो । चौंथो संस्करण आयोजना भएको १० वर्ष पछि २०६५ साल चैत २४ देखि ३० गतेसम्म काठमाडौंमा नै पाँंचौं संस्करण आयोजना भयो । ३२ खेल समावेश गरिएको सो संस्करणमा पाँंचवटै विकास क्षेत्रका अतिरिक्त विभागीय टोलीहरु त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरीको एपिएफ क्लब र तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेना (पिएलए) लाई पनि सहभागी गराइयो ।

२ सय ८९ स्वर्ण, २ सय ८९ रजत र ४ सय १० कांस्य पदकका लागि कुल ३ हजार ५ सय खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । जसका कारण सेनाको त्रिभुवन आर्मी क्लवले बीचमै प्रतियोगिता नखेल्ने घोषणा ग¥यो । पाँंचौं संस्करणमा मध्यमाञ्चल विकास क्षेत्र पहिलो, एपीएफ क्लब दोस्रो र नेपाल पुलिस क्लब तेस्रो भयो ।

वृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको छैटौं संस्करण सुदूरपश्चिम विकास क्षेत्रमा २०६८ साल फागुन १४ देखि २१ गतेसम्म आयोजना भयो । कैलाली र कञ्चनपुर जिल्लामा खेलाइएका छैटौं संस्करणमा १० टोली सहभागी भए । जसमा ३ सय २० स्वर्ण, ३ सय २० रजत र ४ सय ६६ कांस्य पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

छैंटौं संस्करण आयोजना भएको ५ वर्षपछि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ साल पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चल विकास क्षेत्रमा आयोजना भयो । पूर्वाञ्चल विकास क्षेत्रमा पहिलोपटक आयोजित वृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेलका २ सय ९४ स्पर्धा समावेश गरिएको थियो । विभागीयसहित कुल आठ टोली सहभागी सातौं संस्करणमा कुल १ हजार ३५ पदकका लागि चार हजार खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रिय खेलकुदको आठौं संस्करण २०७५÷७६ सालमा लुम्बिनी प्रदेशमा आयोजना भयो । सो संस्करणको उद्घाटन २०७६ वैशाख ५ गते नेपालगञ्जमा भएको थियो । तर, आठौं संस्करणका केही खेल भने २०७५ चैत २७ गतेदेखि नै सुरु भइसकेका थिए । राष्ट्रिय खेलकुदको इतिहासमा पहिलोपटक यही संस्करणमा प्याराग्लाइडिङ खेललाई पनि समावेश गरिएको थियो । पूर्वाधारको अभावका कारण प्याराग्लाइडिङ खेल कास्कीमा खेलाइएको थियो । 

३५ खेल समावेश आठौं संस्करणमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले पनि डेब्यू ग¥यो । मुलुक संघीय स्वरूपमा गइसकेकाले आठौं संस्करणमा प्रदेशगत रूपमा टोलीहरू सहभागी भएका थए । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनएको टोलीले सहभागिता जनाए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा भयो । २०७७ सालमै हुनु पर्ने प्रतियोगिता कोरोना महामारी र राजनितीक अस्थिरताका कारण समयमै हुन सकेन । गण्डकी प्रदेशका ८ जिल्लामा प्रतियोगिता अन्तर्गतका खेल आयोजना भए । ३ सय ९३ स्वर्ण, ३ सय ९३ रजत र ६ सय १ कांस्य पदकका लागि ११ टिमबीच प्रतिस्पर्धा भयो । करिब ६० करोड बढी रकम खर्चिएर आयोजना गरिएको सो प्रतियोगितामा अहिलेसम्मकै धेरै ६ हजार १ सय ३७ खेलाडीले भाग लिए ।

१० औ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा अर्को महिना हुने भनिए पनि निर्धारित मिति तय हुन बाँकी छ । राजनितीक आग्रह प्रर्वाग्रहका कारण पनि १० औं संस्करण समयमा हुन नसकेको राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले बताए ।

आगामी मंसिर २ देखि ९ गतेसम्म आयोजना हुने भनिएको प्रतियोगिता अन्यौंलमा परे पछि कर्णाली विकास खेलकुद परिषद्ले नयाँ मिति चाँदै घोषणा गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ । कर्णाली विकास खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले भने खेलकुद मन्त्रालय र राखेपले आफूहरुसँग कुनै छलफल गरेको छैन । 

प्रदेशमात्र तातेर नहुँदो रहेछ, मंसिरमा प्रतियोगिता गर्ने भन्दा पनि नगर्ने गतिविधि बढी देखिए । परिषद्को बैठक बसेनन्, परिषद्ले कार्यविधि अघि बढाएनन् । कार्यविधि नै अगाडी नबढाएपछि प्रतियोगिता हुन्छ भन्ने आशा गर्ने ठाँउ नै रहेन । के कारणले प्रतियोगिता नहुने स्थिती श्रृजना भए निक्र्यौल गरि निचोड निकालेर नयाँ मिति चाँडै घोषणा गर्न अनुरोध छ । होइन भने खेलकुद अन्यौलमा हुन्छ ।

परिषद्को बोर्ड बैठकका निमित्त प्रस्ताव तयार गरेर खेलकुद मन्त्रालयमा पठाई सकिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । बैठकको आयोजना गर्ने अधिकार खेलकुद मन्त्रालयसँग भएको भन्दै राखेपका सदस्य सचिव टंकलाल घिसिङले भने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता विगतको भन्दा व्यवस्थित रुपले आयोजना गर्नका निमित्त पहल गरेकै हौं, तर यो प्रयासका बावजुदपनि समयमै नहुने देखियो । एक्लैले सबैथोक गर्न सकिदैन रहेछ । यसो भनेर मात्रै मैले सुख त पाउसदन, आफ्नो दायित्व त मैले पूरा गर्नुपर्छ । त्यस हिसाबले १० औं राष्ट्रिय खेलकुदको सन्दर्भमा अघिल्लो मन्त्रिको कार्यकालमा दुई पटक र अहिलेको मन्त्रीको कार्यकालमा एक पटक तीन पटक मैले प्रस्ताव अघि बढाए । मलाई विश्वास छ छिट्टै मन्त्री ज्यूले बैठकको मिति तोक्नु हुनेछ । त्यसपछि राष्ट्रिय खेलकुदको मिति सोही बैठकले निर्धारण गर्नेछ ।

नयाँ र प्रतिभावान खेलाडीहरु जन्मिने थलो भनेकै राष्ट्रिय खेलकुद प्रतियोगिता हो । नेपालले खेलकुदमा अन्तर्राष्ट्रिय स्तरमा हासिल गर्न नसकेको प्रगतिका पछाडि हामी आफैंले समयमै आयोजना गर्न नसकेको राष्ट्रिय प्रतियोगिताको पनि हात छ ।

कुनै पनि खेलाडी लामो समयसम्म उच्च फर्ममा रहन्नन् तर, प्रतियोगिता नै समयमै आयोजना नभएपछि उनीहरुको प्रर्दशन खकिस्नु स्वभाविक हो । कसको पालामा खेलकुद प्रतियोगिता आयोजना भयो भनेर जस लिन होडबाजी हुँदा निर्धारित मितिमै प्रतियोगिता आयोजना गर्न किन तँ छाड म छाड नभएको हो, बुझिनसक्नु छ ।