विश्वकपको सपना पुरा भएपछि यु–१९ नेपाली महिला टोली उत्साहित
- काठमाडौंनेपाली महिला क्रिकेट टोली पहिलोपटक विश्वकपमा छनोट भएको छ– त्यो पनि १९ वर्षमुनिको संस्करणमा । संयुक्त अरब इमिरेट्स यूएईमा सम्पन्न एसिया छनोटको निर्णायक खेलमा घरेलु टोलीलाई आठ विकेटले पराजित गर्दै १९ वर्ष मुनिको महिला टोलीले महिला विश्वकप खेल्ने मुलुकको सपना साकार पारेको हो । युवा टोलीले अब दुई ठूला प्रतियोगिता एसिया कप र विश्वकप क्रिकेट खेल्दैछ । ठूलो प्रतियोगिताका लागि छनोट भएसँगै विभिन्न क्रिकेट विकासका अनेकन योजनाहरु बन्छन् तर कार्यान्वयन हुँदैनन् । १९ वर्षमुनिको महिला क्रिकेट टोलीको हकमा यसपटक क्रमभंगता होला त ?
एसिया छनोटको विजेता बन्दै यू–१९ विश्वकपमा स्थान बनाएपछि अहिले सबैको चासो राष्ट्रिय यू–१९ महिला टिममा छ । हुन पनि नेपाली टोलीले एकैपटक लगातार दुई ठूला प्रतियोगितामा बलिया टिमसँग भिड्ने अवसर जुराएको छ । आगामी डिसेम्बरमा हुने पहिलो संस्करणको यू–१९ एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग समूह चरणमा खेल्नेछ । यस्तै, सन् २०२५ जनवरी फेब्रअरीमा मलेसियामा हुने विश्वकपमा समूह चरणमा नेपालले अष्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग खेल्ने छ ।
अविश्वसनीय यात्रा तय गरेको नेपाली टोलीको कप्तान पूजा महतो भन्छिन् “ विश्वकपमा छनोट हुँदाको क्षण म शब्दमा बयान गर्न सक्दिन, पहिलो पटक विश्वकपमा छनोट हुँदै हामीले इतिहास रचेँउ । हामीले इन्जोई गर्दै क्रिकेट खेल्यौं । म क्यानलाई धन्यवाद भन्न चाहन्छु, की मेरो नेतृत्वमा नेपाल विश्वकपमा छनोट भयो । मलाई विश्वस गरेर मौका दिएकोमा क्यान प्रति आभारी छु । मलाई निकै गर्व लागेको छ । मैले नेपालको प्रतिनिधित्व गर्दै क्रिकेट खेले । हामी चाँडै नै एसिया कप र विश्वकप खेल्दै छौं । सो प्रतियोगिता हाम्रो लागि निकै महत्वपूर्ण छ । सो प्रतियोगितामा हामी बलियो प्रस्तुती दिने छौं ।”
टोली नयाँ छ । त्यसैले चुनौतीहरु पनि उत्तिकै छन् । टिममा एकरुपता ल्याउनका लागि थप मिहेनत गर्नुपर्ने उपकप्तान सोनी पाख्रिन बताउँछिन् । विश्वकप छनोटको लक्ष्य प्राप्त भएको र अब माथिल्लो स्तरको प्रर्दशनमा ध्यान दिन जरुरी रहेको उनले सुनाइन् । कप्तान पुजा र सोनी सिनियर टोलीबाट पनि खेलिसकेका अनुभवी खेलाडी हुन् । विश्वकपमा अनुभवकै आधारमा पनि राम्रो प्रदर्शन गर्ने योजना सोनीको छ ।
एसिया छनोटको च्याम्पियन बनेर गत बिहीबार स्वदेश फर्किएको टोलीलाई त्रिभुवन विमानस्थलमा ब्याण्ड बाजासहित भव्य स्वागत गरियो । महिला क्रिकेट त्यसमाथि उमेर समूहको प्रतियोगिता भएकोले छनोट खेल्न जानुअघि खासै चर्चा थिएन । तर जब नेपालले विश्वकपको टिकट काट्यो अनि युवा महिला क्रिकेट टोलीले चर्चा बटुल्यो । महिला टोलीको पहिलो ब्याचले देखेको सपना पूरा भएको भन्दै सिनियर टोलीकी अलराउन्डर सीता राना मगरले भनिन् “ सबैभन्दा खुसी त मै छु होला, किनकी सन् २००ठ देखि खेलेको प्लेयर्समा म मात्रै बाँकी छु । २००७ देखिको सपना अहिले बल्ल पूरा भएको छ । त्यो पनि यू–१९ ले गरेको छ । त्यसैले म एकदमै खुसी छ । ”
सन् २००७ मा नेपालले अन्तर्राष्ट्रिय महिला क्रिकेट खेल्न थालेदेखि नै विश्वकपको सपना बुनेको थियो । त्यतिबेला पुरुषभन्दा महिला टिमले पहिले विश्वकप खेल्छ भन्ने गरिन्थ्यो । तर पुरुष टोलीले दुई पटक टी–२० विश्वकप खेलिसक्दा पनि महिला सिनियर टोली विश्वकप पुग्न सकेको छैन । अहिले जुनियर महिला टोलीले विश्वकपमा स्थान बनाएर महिला क्रिकेटमा सम्भावनाको आशा जगाएका छन् । सिनियर खेलाडीका लागि त्यही सम्भावना थप चुनौती बनेको छ । सिनियर क्रिकेट टोलीकी कप्तान इन्दु वर्मा भन्छिन्
“खेलाडीलाई एउटा खेल्ने वातावरण गराईदिई सकेपछि साइड चिन्ता केही नहोस् । फेमिली प्रेसर, आफ्नो जागीरको अथवा कुनै पेशाको हिसाबले कुनै प्रेसर नहोस् । मात्र खेल्ने वातावरण गराईदिई सकेपछि खेलाडीलाई खेल्ने एउटा मोटिभेट हुन्छ ।”
नेपाल क्रिकेट संघको आयोजनामा पहिलो संस्करणको नेपाल क्रिकेट लिग यहि मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ । पुरुष टोलीले अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगितामा एकपछि अर्को एक्सपोजर पाउँदै गर्दा, महिला टोलीले कमै मात्र पाएका छन् ।
यदि महिलाका पनि सोही अनुसार एक्सपोजर र घरेलु लिग भए सिनियर महिला टोलीले पनि विश्वकप खेल्नेमाआशावादी हुन सकिन्थ्यो होला । पुरुषको एनपीएल बलियो भए यसकै आधारमा महिला पे्रmन्चाइज क्रिकेट लिग हुने क्यानका सचिव पारस खड्का बताउँछन् ।
उमेर समूहकै भएक पनि नेपालले अब विश्वपकमा अझ ठूला टिमहरुसँग खेल्न पाउनेछ । एसिया कप र विश्वकप खेल्नु अघि टिममा थप सुधारको खाँचो क्रिकेट जानकारहरु औंल्याउछन् । विश्वकपअघि एसिया कपमा प्रतिस्पर्धा गर्दा नेपाली टोलीलाई राम्रो अनुभव हुनेछ । अझ मलेसियामै एसिया कप हुँदा नेपाललाई मैदानको समेत ज्ञान हुने भएकाले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न सहयोग मिल्नेछ ।
नेपाल सामू अहिले महिला क्रिकेटलाई नयाँ उचाईमा पु¥याउने मौका छ । यसलाई सदुपयोग गर्न सके सिनियर टोलीका लागि पनि सम्भावनाका ढोकाहरु उघ्रिदै जानेछन् । अहिले महिला क्रिकेटको प्रशंसामा बोली खर्चिनेहरुले काममा पनि त्यसलाई उतार्न चाहिं जरुरी छ ।