१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमा हुने आधार के ?
- काठमाडौंघरेलु खेलकुदको कुम्भ मेला दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता कर्णाली प्रदेशमा आगामी चैत्रमा हुने भएको छ । यसअघि गत मंसिर २ देखि ९ गतेसम्म हुने तय भएको प्रतियोगिता चैत्र २३ देखि ३० गतेसम्मका लागि धकेलिएको हो । २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको २२ औं संस्करण हुनुपर्ने बेला बल्ल १० औं संस्करण हुन लागेको छ । यसमा पनि निर्धारित मिति पटकपटक परिवर्तन हुँदा सबैभन्दा बढी अन्यौलमा खेलाडीहरु परेका छन् ।
प्रत्येक दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुद प्रतियोगिताको १० औं संस्करण घोषित मितिमा नभएपछि अर्को मिति तय भएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको १ सय १८ औं बोर्ड बैठकले प्रतियोगिता आगामी चैत्र २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको हो । राष्ट्रिय प्रतियोगिता प्रतिभावान खेलाडीलाई राष्ट्रिय स्तरमा जाँच्ने अवसर हो ।
तर प्रतियोगिता निर्धारित मितिमा नहुँदा खेलाडीहरु मारमा पर्छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पर्खाइमा बसेका खेलाडी सागर तामाङ भन्छन् “प्रतियोगिताको मिति परिवर्तन भएको कारण हामीले छुट्याएको बजेट अनुसार चल्न गाहे हुन्छ, हामीले गरेको तयारीको समय पनि खेर जान्छ । अब चैत्रमा हुन्छ भनेको छ । फेरी पनि सर्यो भने खेलाडीहरुलाई थप चुनौती हुन्छ । हाम्रो इनकम भनेको त्यस्तो हुँदैन, जति पनि तयारी गछौं घरबाटै आएको सहयोगले हो । घरबाट पनि एकचोटी पो गर्दिनु हुन्छ । प्रतियोगिताको मिति टुङ्गो नलाग्दा घरमा भन समेत लाज हुने अवस्था श्रृजना हुन्छ ।”
राष्ट्रिय खेलकुद प्रतियोगिताबाटै नयाँ खेलाडीहरु जन्मने गर्छ । पटक–पटक प्रतियोगिताको मिति सर्दा खेलाडीले राज्यबाटै तिरस्कृत भएको महशुस त गर्छन् नै साथै राज्यप्रतिको उनीहरुको विश्वास पनि डगमगाउँछ । दक्षिण एसियाली खेलकुद साग र एसियन गेम्सको छनोट मानिएको राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी र खेल संघहरुले तयारी थालेका छन् ।
तर, खास तयारी थाल्नु पर्ने राखेप भने तातेको छैन । त्यसैले पनि निर्धारित मितिमै प्रतियोगिता आयोजना हुनेमा शंशय गर्नेहरु पनि छन् । आयोजक कर्णाली प्रदेश खेलकुद विकास समितीका सदस्य सचिव विश्वामित्र सञ्ज्याल भन्छन्
”अब नसार्ने गरि हुनुपर्छ भन्ने हाम्रो अपेक्षा छ । हामी आफ्नो तयारीका हिसाबले त लागिरहेकै छौं । बजेटको स्वामित्व सबै राष्ट्रिय खेलकुद परिषद्सँगै छ । तर केही क्षत्राधिकार प्रदेशलाई पनि दिइएको हुनाले बजेट र निर्देशिका कानुनसहित छिटो भन्दा छिटो पठाईदिनु पर्ने छ । त्यो आइसकेको छैन ।”
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी भने प्रतियोगिता तोकिएकै मितिमा हुने दाबी गर्छन् । प्रतियोगिता समयमै सम्पन्न गर्न आवश्यक थप निर्णय गर्ने योजनामा मन्त्रालय रहेको मन्त्री चौधरीले सुनाए “ भौतीक पूर्वाधार तथा अन्य कारणले निर्धारित समयमा प्रतियोगिता हुन सकेन । अब नयाँ मिति हामीले तय गरेका छौं ।
किन गर्यौ भने, हामीसँग खरीदको टाइम साढे तीन महिना बाँकी छ । जबकी तीन महिना काफि छ । हामीले कानुन मन्त्रालय र अर्थमन्त्रालयमा बजेट निर्देशिकाहरु पठाइसकेका छौं । अब एक दुई दिनमा आइहाल्छ । त्यसपछि बाँकी काम अघि बढ्छ ।”
प्रतियोगिता आयोजनाभन्दा पनि खेलाडीलाई राम्रो प्रशिक्षण दिने तर्फ सरकार र खेलसँग सम्बन्धीत संघसंस्थाले ध्यान दिन जरुरी छ । विभिन्न खेलकुद संघहरुको पहल, प्रदेश सरकार र प्रदेश खेलकुद परिषद्को तयारी साथै खेलाडीहरु पनि प्रतियोगिताको व्यग्र प्रतिक्षामा छन् ।
तोकिएको मितिमा राष्ट्रिय प्रतियोगिता आयोजना नभए यसले खेलाडीसँगै समग्र खेल क्षेत्रमा असर पार्ने बताउँछन् खेलकुद जानकार विनोद पाण्डे “ व्यवस्थित प्रतियोगिता र व्यवस्थित क्यालेन्डरले मात्रै नेपाली खेलाडीलाई अनुसासनमा राखि एउटा दैनिकी के हो चल्न सिकाउँदछ ।
तर यो राष्ट्रिय प्रतियोगिता समयमा नहुँदा खेरी खेलाडीले मुख्य प्रदर्शन गर्ने प्रतियोगिताको अभावमा यसले खेलाडीहरुलाई पलायन तिर धकेल्छ । राष्ट्रिय प्रतियोगिता समयमै नहुँदा ओभरल हेर्ने हो भने नेपालको प्रदर्शनमै असर परेको छ । साथै खेलाडीहरुलाई निकै नै अफ्ठयारो पर्छ । फिटनेशको हिसाब होस् या कम्पिटेटिभ नेशनको जुन गेम हुन्छ, त्यसमा धेरै नै असर पर्छ ।”
खेलकुदमा मोमेन्टम अति नै आवश्यक हुन्छ । त्यसैलाई ब्रेक गर्न विपक्षीले रणनीति बुन्ने गर्छन्, चाहे त्यो मैदानभित्र होस् या मैदानबाहिर । तोकिएको निश्चित समयावधिमा नै राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भए त्यसले समग्र खेल क्षेत्रै मोमेन्टम निर्माण गर्छ ।
अन्यथा नेपालले ठूला प्रतियोगितामा किन स्वर्ण पदक जित्न सकेन र एशियाली खेलकुदमा दोहोरो अंकको पदक किन हासिल हुन सकेन भनेर विचार विमर्श गरेर मात्रै केही हुँदैन ।