विश्लेषण

कांग्रेसको १५ औं महाधिवेशन, सभापति देउवाको उत्तराधिकारी को ?

- खिलनाथ ताजपुरिया काठमाडौं

सत्तारुढ एवम् संसदको पहिलो दल नेपाली कांग्रेसको १५ औं महाधिवेशन तोकिए अनुसार अर्को वर्षको मंसिर हुनुपर्नेछ । महाधिवेशन आउन झन्डै एक वर्ष बाँकी भएपनि नेताहरुको सक्रियता र अभियानलाई हेर्दा उनीहरु नयाँ नेतृत्व छान्ने केन्द्रीय महाधिवेशनका लागि तयारीमा जुटिसकेका छन् । 

आन्तरिक समीकरणबारे विभिन्न अड्कलबाजी भइरहँदा कतिपय नेताले महाधिवेशनको तयारी स्वरुप जिल्ला दौडाहा नै सुरु गरेका छन् । दुुई पटक निर्वाचित वर्तमान सभापति शेरबहादुर देउवालाई आगामी कार्यकालमा उम्मेद्वार बन्न विधानले रोक्ने भएपछि उनको उत्तराधिकारी को हुने भन्ने चासो सबैभन्दा बढी प्रकट भएको छ ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८२ मंसिरभित्रै गर्नुपर्ने भएपनि समयमै हुन्छ वा एक वर्ष थप्न सक्ने सुुविधा नेतृत्वले प्रयोग गर्छ भन्ने अझै टुंगो छैन । विधानले हरेक ४ वर्षमा महाधिवेशन गर्नुुपर्ने भनी दिएको समयसीमा नजिकिदै गर्दा त्यसका लागि गर्नुपर्ने तयारी अघि बढेको देखिदैन, महाधिवेशनका लागि तालिका समेत बन्न नसक्नु त्यसको एक उदाहरण हो । 

नेताहरुले यस्तै कारण देखाउँदै महाधिवेशन निर्धारित मितिमा हुनेमा आशंका जनाइरहेका छन् । के कंग्रेसको महाधिवेशन निर्धारित समयमा हुन सक्छ भन्ने प्रश्नमा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सम्भावना कम रहेको बताउँछन् । सदस्यता वितरण र नवीकरणमा ढिला भइरहेको छ । ‘असोजको दोस्रो साता बाढी, पहिरोका घटना घटे भने त्यसपछि मोरङमा पार्टीको कोशी प्रदेशस्तरीय सम्मेलन भयो,’ नेता विश्वकर्माले भने, ‘यी विविध कारणले त्यति सहजै समयमै होला भन्ने अवस्था देखिएको छैन ।’

अहिलेको विधान अनुसार सभापति देउवालाई तेस्रो कार्यकाल चुनाव लड्ने मौका नभएपनि आगामी नेतृत्वका लागि अघिल्लो पटक प्रतिस्पर्धा गरेका नेता. डा.शेखर कोइराला, वर्तमान महामन्त्री गगन थापा, नेताहरु संशाक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंह आकांक्षी देखिएका छन् । ती नेतामध्ये डा. शेखर कोइरालाले अन्य नेताको तुलनामा महाधिवेशन केन्द्रित भएर गतिविधि सञ्चालन गरिरहेको देखिन्छ । 

कोशीको प्रदेशस्तरीय सम्मेलन बहिष्कार गरेका नेता कोइरालाले केही दिनअघि सभापति देउवाको गृहजिल्ला रहेको सुदूरपश्चिममा पुगेर नेता कार्यकर्तासँग भेटघाट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

जिल्ला दौडाहाकै क्रममा नेता कोइरालाले आगामी महाधिवेशनमा पनि चुुनाव लड्ने र जित्ने आत्मबल आफूूमा रहेको सन्देश दिन खोजेका छन् । ‘हामी १५ औ महाधिवेशनको संघारमा छौं । अबको एक वर्ष भित्र महाधिवेशन गर्नुपर्ने हाम्रो दायित्व पनि हो । महाधिवेशनका लागि कांग्रेसका सबै नेता, कार्यकर्ता सक्रिय भएर लागेको देखेको छु । यसबाट कांग्रेस अधिवेशनमुखी पार्टी जस्तो देखिएको छ,’ उनले भने, ‘महाधिवेशनमा कसलाई जिताउने भन्ने विषय कार्यकर्तामा निर्भर छ । हामीहरुले काम गरेका छौं भने निर्वाचित हुन्छौं अन्यथा हुँदैनौँ ।’

अघिल्लो महाधिवेशनमा सभापति देउवासँग दोस्रो चरणको चुनावबाट पराजित भएका कोइरालाले १८ सय ५५ मत प्राप्त गर्दा देउवाले २७ सय ३३ मतसहित विजयी भए । सभापति निर्वाचनको पहिलो चरणबाटै बाहिरिएका नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंहको समर्थन देउवाले दोस्रो चरणमा पाएपछि नेता कोइराला पराजित भएका थिए । त्यसपछि कोइरालाले पार्टीभित्र आफ्नो वरियताको विषयलाई महत्वका साथ उठाउँदै आएका छन् । र, अहिले संस्थापन इतर पक्षबाट सभापतिका लागि दाबेदारी पेश गर्ने गृहकार्य गरेका हुन् । 

कोइरालाको दावेदारीबारे उनी निकट नेता मन्जुुकुमारी यादव नेता कोइराला भावी सभापतिमा निर्वाचित हुने बताउँछिन् । ‘नेता कोइरालाको पक्षमा ७५ प्रतिशत जनमत देख्छु । कोइराला महाधिवेशन केन्द्रित तयारी अघि बढाउनुभएको छ । पछिल्ला दिनमा उहाँ जिल्ला दौडाहामा हुनुहुन्छ,’ उनले भनिन्, ‘त्यसैले पनि भावी सभापति शेखर कोइराला बन्नेमा ढुक्क हुने आधार देख्छु ।’

राष्ट्रिय राजनीतिको सन्दर्भमा पार्टी नेतृत्व भन्दा फरक धारणा राख्ने र महाधिवेशन केन्द्रित अभियानका लागि कांग्रेसको संस्थापन इतरका नेताहरु बढी लागेका छन् । आगामी आमनिर्वाचनमा एक्लै चुनाव लड्नुपर्ने उद्घोष गर्दै नेता कार्यकर्ताको मन जित्नेदेखि आन्तरिक सन्तुलन र समीकरण मिलाउन सभापतिका आकांक्षीहरु लागेको बताइन्छ । त्यसमाथि अबको कांग्रेस कसको नेतृत्वमा भन्ने प्रश्न सबैभन्दा बढी मुखरित भएको नेताहरु बताउँछन् । 

कांग्रेस नेता ईश्वरी न्यौपाने विचार र कार्यक्रमले पार्टी हाक्न सक्ने नेता भावी सभापति बन्नुुपर्ने धारणा राख्छिन् । ‘हामीले युवाको नेतृत्व पनि भन्दै आएका छौं । साथै वर्तमान सभापति देउवाले सबैलाई समेटेर अघि बढ्नुभएको छ । उहाँले पार्टीको शक्ति सन्तुलनलाई मिलाएर अघि बढ्नुभएको छ,’ उनले भनिन, ‘त्यसैले पनि पार्टीलाई सुदृढ बनाउने गरी पार्टी हाक्न सक्ने नेता नै भावी सभापति हुने हो ।’

नेताहरुबीच महाधिवेशनको रिहर्शल सुरु हुँदै गर्दा सभापति देउवाले राष्ट्रिय राजनीतिको सन्दर्भमा महामन्त्री गगन थापालाई दिएको स्पेशलाई कतिपय कंग्रेसजनले चासोपूर्वक हेरेका छन् । दलीय सम्वाद र महत्वपूर्ण बिषयमा थापाको सहभागिताले कांग्रेसभित्र सम्भावित समीकरणमा झल्को दिने विश्लेषण भएका छन् । 

त्यस्तै पार्टीभित्र सन्तुलन मिलाउन र सत्ता राजनीतिका माहिर खेलाडी देउवाले आफ्नो उत्तराधिकारीका लागि आफ्नै टिमका कुनै नेतालाई छान्छन् वा शेखर र गगनमध्ये एकलाई समर्थन गर्छन् भन्ने विषयले भावी सभापतिको प्रतिस्पर्धालाई प्रभावित पार्ने ठानिएको छ । त्यति मात्र होइन, संस्थापन र संस्थापन इतर समूहको समीकरण फेरबदल गर्दै नेतृत्वका लागि नेताहरुले कसरत गर्ने सम्भावना पनि उत्तिकै छ । किनभने कांग्रेसका दोस्रो पुस्ताका कतिपय प्रभावशाली नेताको भूमिका भावी नेतृत्वका लागि निकै महत्वपूर्ण पक्ष ठानिएको छ ।