विश्लेषण

अन्तराष्ट्रिय खेलकुदमा सन् २०२४ नेपाली महिला खेलाडीका लागि उत्साहजनक

- पुजनी श्रेष्ठकाठमाडौं

सीमित अवसरका बाबजुद महिलाले हरेक क्षेत्रमा गर्विलो इतिहास लेखेका उदाहरण प्रशस्तै छन् । नेपालको राजनीतिक, सामाजिक, आर्थिक र खेलकुद जुनसुकै क्षेत्रमा तुलनात्मकरूपमा महिलाको सहभागिता न्यून छ । यति हुँदाहुँदै पनि समाजमा आफ्ना कामले उनीहरू स्थापित छन् । गर्विलो इतिहासको यो शृंखलामा खेलकुद क्षेत्र पनि पर्छ । 

विशेषगरी नेपाली खेलकुदले हासिल गरेका ऐतिहासिक सफलतामा महिला अग्रपंक्तिमा देखिन्छन् । दीर्घकालीन योजना, न्यून लगानी र प्रोत्साहनबिना पनि अन्तर्राष्ट्रिय स्तरमा महिलाको प्रदर्शनसम्झनलायक छन् । यस्तै खालको सफलता र उपलव्धि नेपाली महिला खेलाडीले सन् २०२४ मा अन्तराष्ट्रिय खेलकुदमा दिलाएका छन् ।

नेपाली खेलकुदका लागि सन् २०२४ सन्तोषजनक रह्यो । यस वर्ष अन्तराष्ट्रिय खेलकुदमा नेपालका पुरुष खेलाडीका तुलनामा महिला खेलाडीहरुले उत्कृष्ट नतिजा हात पारे । उनीहरुले दिलाएको सफलताले अन्तराष्ट्रिय खेलकुदमा सन् २०२४ सर्वाधिक सफल र सधैं यादगार वर्षको रुपमा देखिएको छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितादेखि ओलम्पिकसम्म नेपालले व्यक्तिगत स्पर्धामा जितेको पदक महिला खेलाडीकै नाममा रह्यो । नेपाललाई अन्तर्राष्ट्रिय पारा खेलमा लगातार उपलब्धि दिलाउँदै आएकी पलेशा गोवर्धनका लागि सन् २०२४ अविस्मरणीय वर्षका रूपमा रह्यो ।

 पलेशाले ओलम्पिक छनोट पार गर्दै पेरिस ओलम्पिकमा सहभागितामात्रै जनाइनन्, उनले त्यहाँ ऐतिहासिक कास्य पदक समेत हासिल गरिन् । कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदक हो । लगातार दोस्रो पटक पारा ओलम्पिकको कांस्य पदक भिडन्तको प्रतिस्पर्धामा पुगेकी पलेशाले पेरिसमा पदक जित्न सफल भएकी हुन् । के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहमा पलेशाले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी खेलाडीलाई हराएकी थिइन् । 

समग्रमा ओलम्पिक छनोट पूरागर्ने तेस्रो नेपाली खेलाडी बनेकी उनले यसअघि चीनको हाङझाउमा भएको एसियाली पारा खेलकुदमा ऐतिहासिक काश्य जित्दै पहिलो पटक नेपाललाई पारा एसियाडमा पदक दिलाउन सफल भएकी थिइन् । पलेशाले दिलाएको खुसीले समग्र पारा खेलाडीको हौसला बुलन्द बनायो नै, नेपालमा समेत पारा खेलको विकास र विस्तारमा उनको प्रदर्शनले सम्बन्धित निकायलाई घचघच्याउन ठूलो योगदान दियो ।

यस्तै, नेपाली कराँते खेलाडी एरिका गुरुङले सन् २०२४ मा चीनमा सम्पन्न २० औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितिन् । हाङचाउस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा महिला ६८ केजीमाथि तौल समूहको फाइनलमा भियतनामकी खेलाडीसँगँ पराजित भएपछि एरिकाले रजत पदक जितिन् । सेमिफाइनलमा थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले हराएर फाइनल पुगेकी एरिकाले प्रिक्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० अंकले पराजित गरेकी थिइन् । क्वाटरफाइनलमा एरिकले काजकिस्तानकी सोफ्या बेरुल्टसेभालाई हराएकी थिइन् ।

 सोफ्या तिनै खेलाडी हुन्, जसले एरिकालाई १९ औं एसियाडको फाइनलमा ३–० ले पराजित गर्दै स्वर्ण जितेकी थिइन् । एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालका कुनै पनि खेलाडीले अहिलेसम्म पदक जित्न सकेका थिएन । नेपाल पुलिस क्लबबाट कराते खेल्न सुरु गरेकी एरिका पहिलोपटक १९ औँ एसियाडमा छनोट भएकी थिइन् । गत वर्ष चीनमै सम्पन्न सो प्रतियोगितामा उनले रजत पदक जितेकी थिइन् । एरिकाले नेपाललाई रजत दिलाउँदै सन् २०२४ मा नेपाली खेलकुदका लागि सम्झनलायक वर्षका रूपमा छोड्न सफल भइन् ।

यता, नेपाली धाविका सुनमाया बुढाले यस वर्ष चीनमा भएको २ अन्र्तराष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जितिन् । गत अक्टोबरमा भएको अल्ट्रा ट्रेल निन्घाईमा उनले निर्धारित ६० किलोमिटरको दूरी ५ घण्टा ४० मिनेट ३ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितिन् । 

अर्को स्वर्ण सुनमायाले गत नोभेम्बरमा भएको साइगु १०० केमा जितिन् । उनले निर्धारित १ सय ५ किलोमिटर दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेण्डमा तय गर्दै अर्को स्वर्ण हात पारिन् ।दुवै रेसमा सुनमायाले कोर्स रेकर्ड पनि कायम गरिन् । उनले वर्ष २०२४ मा दुई प्रतियोगितासहित ९ अन्र्तराष्ट्रिय रेसमा सहभागीतन जनाइन् । बाँकी ७ रेसमध्ये सुनमाया ३ मा पहिलो र १ मा तेस्रो स्थानमा रहिन् ।

यस्तै, सन् २०२४ उमेर समूहको नेपाली महिला क्रिकेट खेलाडीका लागि सुखद रह्यो । किन भने यो वर्ष नेपालको उन्नाईस वर्ष मुनिको महिला क्रिकेट टोली पहिलो पटक यू–१९ विश्वकपमा छनोट भयो । संयुक्त अरब इमिरेट्स युएईमा गत नोभेम्बरमा सम्पन्न एसिया छनोटको निर्णायक खेलमा घरेलु टोलीलाई ८ विकेटले पराजित गर्दै युवा महिला टोलीले इतिहास रच्यो । विश्वकपमा छनोट भएसँगै युवा टोली एसिया कप क्रिकेट पनि खेल्ने अवसर पायो । 

एसिया कपमा नेपालले भारत र पाकिस्तान जस्ता बलिया राष्ट्रसँग खेल्यो । यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ । विश्वकपको तयारीका लागि हाल युवा टोली चितवनमा बन्द प्रशिक्षणमा छ ।

नेपाली महिला क्रिकेटले अन्तर्राष्ट्रिय सहभागिताको करिब २ दशकपछि पहिलो शतक प्रहार ग¥यो यसै वर्ष । सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनाउन थालेयता सधैं शतकको प्रतीक्षामा रहेको नेपाली महिला क्रिकेट अन्ततः रुविना क्षेत्री बेलबासेको शतकसँगै यो वर्ष एउटा अर्को उपलब्धि हासिल गर्न सफल भयो ।

गत फेब्रअरी १४ मा मलेसियामा आयोजित एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध २ सय १४ रनको फराकिलो अन्तरले जित निकाल्यो । सो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीकी पूर्वकप्तना रुबिना क्षेत्री बेलबासेले ५९ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै १ सय १८ रनको अविजित शतकीय इनिङ्स खेलिन् । जुन नेपाली क्रिकेटको एउटा इतिहासका रूपमा सधैं जीवित रहने छ ।

यस्तै, राष्ट्रिय महिला फुटबल टोलीले सन् २०२४ मा वाफ महिला च्याम्पियनसिपमा डेब्यू सहभागीता जनायो । गत फेब्रुुअरीमा भएको सो प्रतियोगितामा नेपाल उपविजेता बन्यो । फाइनलमा जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भएपछि नेपालले उपविजेतामै चित्त बुुझायो । नेपालकी स्ट्राइकर सावित्रा भण्डारी प्रतियोगिताको सर्वाधिक गोलकर्ता घोषित भइन् । उनले प्रतियोगितामा सर्वाधिक ९ गोल गरिन् ।

 व्यावसायिक फुटबलका लागि फ्रान्सको शीर्ष डिभिजन क्लब एन एभान्ट गेङ्गाम्पमा अनुबन्ध भएपछि उनले फाइनल गुमाएकी थिइन् । वाफ च्याम्पियनसिप कै दौरान महिला टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारीले आफ्नो ५३ अन्तर्राष्ट्रिय गोल पूरा गरिन् । यो महिला टोलीको लागि सानो उपलब्धि होइन । महिलाभन्दा पुरुष टोलीले पहिले अन्तर्राष्ट्रिय फुटबल खेलेको हो । तर, पुरुष खेलाडीले अहिलेसम्म सबैभन्दा बढी १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

त्यसको दाँजोमा महिला खेलाडी निकै अघि छन् । यसका साथै महिला फुटबल खेलाडी विभिन्न विदेशी क्लबमा आबद्घ छन् । इजरायली क्लब हापोएल रानानाबाट व्यावसायिक फुटबल खेलेकी साम्बा हाल फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुुबन्ध छिन् । नेपाली महिला फुटबलर भारतको आई लिग तथा संयुक्त अरब इमिरेट्स युएई प्रो लिगमा पनि अनुुबन्ध छन् । यसले महिला टोलीले आफूहरुमा प्रचुर क्षमता भएको प्रमाणित गर्छ ।

साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधि भिडन्तमा नेपालले बंगलादेशसँग हार ब्यहोर्यो । नेपाल पाँच पटकको उपविजेता बन्दै गर्दा फाइनलमा बंगलादेश २–१ गोलले विजयी भयो । महिलाको घरेलु लिग समेत नियमित नभई रहेको अवस्थामा उपविजेता बन्नु नै पनि नेपालको लागि ठूला उपलब्धि हो । महिला टीमले फाइनलसम्मको यात्रामा गरेको प्रदर्शनले खुबै चर्चा बुटलेको थियो ।

नेपालमा महिला फुटबलको तुलनामा भलिबलका गतिविधि अलि बढी देखिन्छ । यसकै कारण महिला भलिबल टोलीले केही उपाधिमाथि कब्जा पनि जमाएका छन् । सेन्ट्रल एसियन भलिबल संघ काभाको दुई संस्करणको च्याम्पियन बन्दा महिला भलिबल टोली १३ औं दक्षिण एसियाली खेलकुद सागमा उपविजेता बन्न सफल भयो । 

गत साउनमा काठामाडौंमै सम्पन्न काभा महिला नेसन्स भलिबल लिगमा पनि नेपालले रजत पदक हात पा¥यो । समग्रमा भन्नुपर्दा सन् २०२४ मा पुरुषको दाँजोमा महिला खेलाडीले उत्कृष्ट नतिजा हासिल गरेका छन् ।

सीमित अवसरका बावजुद नतिजाका हिसाबले महिला खेलाडीले आफूलाई अब्बल साबित गरेका छन् । आगामी दिनमा पर्याप्त पूर्वाधार, लगानी र अवसर दिने हो भने नेपाली महिला खेलाडीले उचाइको सिढी थप चढ्दै जानेछ ।