पछिल्लो समय नेपालमा क्रिकेटका गतिविधि चलायमान
- काठमाडौंपछिल्लो समय नेपालमा क्रिकेट गतिविधि चलायमान छ । गत महिना नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग भव्य तरिकाले सम्पन्न ग¥यो । लगत्तै क्यानले जय ट्रफी मेन्स एलिट कप क्रिकेट आयोजना गरेको छ । यस्ता प्रतियोगिताले क्रिकेटको विकास र नयाँ खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएका छन् ।
क्रिकेटमा पछिल्लो समय टी–ट्वान्टी खेल लोकप्रिय भइराख्दा एक दिनभन्दा लामो संरचनाको क्रिकेट प्रतियोगिताको महत्वका बारेमा समेत चर्चा हुन थालेको छ । गत कार्तिकमा अमेरिका र क्यानडामा सम्पन्न आइसिसी विश्वकप लिग–२ मा खराब प्रदर्शन गरेपछि नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले समेत लामो फम्र्याटका खेल आवश्यक रहेको धारणा राखे ।
त्यही देखेर नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको दुई दिवसीय र त्रिदिवसीय संरचनाको जय ट्रफी मेन्स एलिट कप क्रिकेट हाल वीरगञ्ज र जनकपुरमा जारी छ । यस्ता प्रतियोगिताहरु क्रिकेटको विकास र नयाँ खेलाडी उत्पादनमा समेत फलदायी हुने विश्वास क्यानको छ । लामो संरचनको खेलले खेलाडीलाई धैर्य भई कसरी लामो समयसम्म खेल्न सकिन्छ भनेर सिकाउने बताउँछन् नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल ।
सरसर्ती हेर्दा पट्यारलाग्दो जस्तो देखिए पनि लामो संरचनाको खेलले अन्य संरचनामा पनि भिज्न र खुलेर खेल्न मद्दत गर्ने अनुभवीहरु बताउँछन् । क्रिकेटमा स्वर्णिम युग हाँकेका पारस खड्का, शक्ति गौचन, विनोद दासहरुले पनि कुनै समय बहुदिवसीय क्रिकेटको अनभुव बटुलेका छन् ।
हाल जारी एलिट कपले आगामी दिनमा नेपाललाई टी–२० र एकदिवसीयमा राम्रो खेल्न निकै सहयोग गर्ने बताउँछन् राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पवन अग्रवाल ।
एकदिवसीय मान्यता पाएको नेपालको सपना भनेकै टेष्ट राष्ट्र बन्ने हो । त्यसका लागि लामो संरचनाको खेलहरु हुन आवश्यक छ । एकदिवसीय मान्यता पाएयता पनि नेपालले टेष्ट मान्यताप्राप्त बलिया राष्ट्रहरूसँग प्रशस्त अभ्यासको मौका पाएको छैन । त्यसैले पनि यदाकता ठूला र बलिया राष्ट्रहरूको सामना गर्ने मौका मिल्दा नेपाली ब्याटिङ धर्मराउने गरेको छ ।
यसको मुख्य कारण हो, बहुदिवसीय खेलका अभ्यासको अभाव । पछिल्लो समय ग्रासरुट क्रिकेटमा ध्यान दिंदै आएका र नयाँ प्रतिभाहरुको खोजीमा रमाइरहेको १९ वर्षमुनिको टीमका प्रशिक्षक शक्ति गौचन पनि लामो संरचनाको खेलले ग्रासरुटबाटै क्रिकेटको विकास हुने विश्वास व्यक्त गर्छन् ।
नेपाली क्रिकेट टोलीले सन् २०१९ मा नेपालमै मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँग तीनदिवसीय क्रिकेट खेलेयता लामो संरचनाको प्रतियोगिता खेलेको छैन । हाल राष्ट्रिय टोलीको सदस्य रहेका कप्तान रोहित पौडेलसहित सोमपाल कामी, सन्दीप लामिछाने, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित राजवंशी पनि नेपालको सोही टोलीमा थिए । त्यसअघि नेपालले सन् २०१६ मा ‘इंग्ल्यान्ड टूर’का बेला एमसीसीसँग लड्र्समा सेतो जर्सी लगाएर खेले पनि त्यो एकदिवसीय मात्रै थियो ।
सन् २०१९ पछि अन्तर्राष्ट्रिय र घरेलु कुनै पनि स्तरमा फस्र्ट क्लासका खेलहरू भएका छैनन् । जबकी नेपालले सन् २००५ मै यूएईसँग इन्टरकन्टिनेन्टल कपमा फस्र्ट क्लास क्रिकेट खेलेको अनुभव छ । तर, त्यसपछि नेपाल इन्टरकन्टिनेन्टल कपमा छनोट हुन सकेन र फस्र्ट क्लास क्रिकेट खेल्ने सपना पूरा हुन पाएन । पहिलो संस्करणमा चार टिम सहभागी रहेको र अर्को वर्षदेखि यसलाई लिगका रुपमा अघि बढाउने क्यानको योजना रहेको बताउँछन् अध्यक्ष चतुरबहादुर चन्द ।
टी–ट्वान्टी प्रतियोगिताले क्रिकेटप्रति आम रुचि बढाउन, निजी क्षेत्रको लगानी आकर्षण गर्न र खेलाडीलाई आर्थिक रुपमा बलियो बनाउन मद्दत पुर्याएको छ । यति हुँदाहुँदै पनि देशको क्रिकेटको स्तर बढाउनेचाहिँ बहुदिवसीय क्रिकेटले नै हो । बहुदिवसीय प्रतियोगिताको अभ्यासले टोलीको ब्याटिङ, बलिङ र फिल्डिङमा धेरै सहयोग पुग्ने खेलाडी बताउँछन् ।
त्यसैले जय ट्रफीको आयोजनाले धेरै खेलाडीमा उत्साह जगाएको छ । टेस्ट लगायतका खेलहरू सेतो जर्सी लगाएर रातो बलले खेलिन्छ । रेड बल क्रिकेटलाई यो खेलका जानकार र पंडितहरु रियल क्रिकेट भन्छन् । खेलाडीहरुका अनुसार रेड बल केही गह्रौं हुन्छ र स्विङ लामो समयसम्म हुन्छ ।
त्यही भएर पनि रेड बल खेलाइने बहुदिवसीय क्रिकेट खेलाडीहरूकै लागि पनि एउटा परीक्षा जस्तै हो । यो परीक्षामा सफल हुनेहरुले लामो संरचनाको खेल मात्रै हैन क्रिकेट जीवनलाई पनि लामो बनाउने हैसियत राख्छन् । यतातर्फ क्यानले चालेको कदम सकारात्मक छ ।