चर्चित कम्युनिष्ट नेतालाई गैरकम्युनिष्ट पार्टीको मोह
- काठमाडौंनेपालमा कम्युनिष्ट पार्टीको विभाजनको शृङ्खलाले निरन्तरता पाइरहेको छ, जसलाई कम्युनिष्ट आन्दोलनको खराब पक्ष मानिएको छ । त्यस्तै विगतमा दशकौंसम्म कम्युनिष्ट राजनीतिमा लागेर पार्टी परित्याग गरेका कतिपय नेता अहिले पनि सक्रिय छन् भने केही पूर्व कम्युनिष्ट नेताहरु सार्वजनिक जीवनमा खासै देखिएका छैनन् ।
कतिपय नेताहरु कम्युनिष्ट पार्टीबाट अलग भएको अवस्थामा गैरकम्युुनिष्ट पार्टी खोलेर राजनीतिमा लागेका छन् । एमालेबाट निष्काशित भएपछि नयाँ वैकल्पिक शक्ति बनाउने घोषणा गरेका नेता भीम रावल त्यसको एक उदाहरण हुन् । आखिर कम्युुनिष्ट नेताहरु पार्टी छाडेर किन गैरकम्युनिष्ट पार्टीमा लागेका हुन् त ?
नेपालमा कम्युुनिष्ट आन्दोलन र पार्टी जीवनमा अधिकांश समय व्यतित गरी अन्तत कम्युुनिष्ट विचारधारा छाड्ने र गैरकम्युुनिष्ट पार्टी खोल्नेदेखि भिन्न विचारधारा बोकेका पार्टीहरुमा विलय हुने प्रवृत्ति नौलो विषय रहेन । एमालेबाट निष्काशित नेता डा. भीम रावलले वैकल्पिक राजनीतिक शक्ति बनाउने भन्दै नयाँ अभियान सुरु गरेका हुन् ।
एमालेसँगको ५ दशक लामो राजनीतिक यात्रा छाडेर मातृभूमि जागरण अभियान सुरु गर्दै रावल वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको बताउँछन् । ‘देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ,’ उनले भने, ‘त्यसैतर्फ हाम्रा पाइला र प्रयासहरु अगाडि बढ्नेछन् ।’
कम्युनिष्ट पार्टी छाडेर वा त्यसबाट निष्काशित भएर गैरकम्युुनिष्ट पार्टी खोल्न शृंखलाको पछिल्लो उदाहरण नेता रावल हुन् । यसअघि पनि थुप्रै नेताले कम्युनिष्ट पार्टी छाडेर फरक बाटो लिएको कयौं घटना छन् । २०७२ सालमा संविधान जारी भएपछि माओवादी केन्द्र परित्याग गर्दै नेता बाबुराम भट्टराई नयाँ शक्तिको खोजी गर्दै मधेस केन्द्रित दलमा केही समय व्यतित गरी अहिले नेपाल समाजवादी पार्टीको नेतृत्व गरिरहेका छन् ।
तत्कालीन नेकपा माओवादीले विसं २०५२ फागुन १ गतेदेखि सशस्त्र जनयुुद्ध सुरु गरेपछि भट्टराईले १० वर्षसम्म भूूमिगत जीवन बिताए । जनयुद्ध हुँदै शान्तिपूर्ण राजनीतिमा आएको माओवादी केन्द्रका वर्तमान अध्यक्ष पुुष्पकमल दाहालका सहयात्री उनै भट्टराई मुलुकको कार्यकारी प्रधानमन्त्री समेत भएका थिए । तर, लोकतान्त्रिक समाजवादलाई आफ्नो मुल सिद्धान्त बनाएर भट्टराई राजनीतिमा क्रियाशील छन् । नयाँ वैकल्पिक शक्तिको आवश्यकताबारे उनले भन्दै आएका छन् । ‘अहिले विश्व न त उदारवादी धारमा छ न साम्यवाद धारमा,' भट्टराईले भने, ‘त्यसैले पनि लोकतन्त्रसहितको समाजवादलाई टेकेर नयाँ वैकल्पिक शक्ति बनाउने मेरो प्रयत्न हो ।’
नेसपाका नेता एवम् पूर्वमन्त्री महेन्द्र राय यादवको राजनीतिक यात्रा कम्युुनिष्ट पार्टीबाटै सुरु भएको थियोे । नेकपा एमाले, तराई मधेश लोकतान्त्रिक पार्टी हुँदै नेसपामा भट्टराईपछिको अध्यक्ष यादव माओवादी केन्द्रसँग एकता गर्ने गृहकार्य छन् ।
कम्युनिष्ट पार्टीको पृष्ठभूमिबाट राजनीतिमा आएका अर्को नेता हुन् जनता समाजवादी पार्टी जसपा नेपालका वर्तमान अध्यक्ष उपेन्द्र यादव । विद्यार्थी संगठन हुँदै राजनीतिमा आएका यादव २०५६ सालमा नेपाल कम्युुनिष्ट पार्टीभित्र मधेशका प्रसंग उठाएपछि साम्प्रदायिक व्यक्ति भनी आरोपमा उनले राजीनामा दिए र २०५४ सालमा गठन भएको मधेश जनअधिकार फोरममा क्रियाशिल भए । मधेश आन्दोलनको आलोकमा स्थापित यादव नेकपा माओवादीसँग समेत सहकार्य गर्दै संघीय समाजवादीदेखि जसपा नेपाल पार्टी गठन गरे । तर, उनलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा साथ दिएका भट्टराईसहित नेताहरुले छाडेपनि आमनिर्वाचनमा कम्युुनिष्ट पार्टीसँग गठजोड गर्दै संसदीय राजनीतिमा सक्रिय छन् ।
पहिचानको मुद्दामा फरक मत राख्दै २०६९ मा एमाले छाडेका नेता हुन् अशोक राई । एमाले, तत्कालीन संघीय समाजवादी पार्टी र पछि यादव नेतृत्वको पार्टीसँग एकता गरी जसपा नेपाल बनाए पनि राई यादवसँगको हिमचम नमिलेपछि अहिले पार्टी विभाजन गरी जसपा गठन गरेका छन् । कम्युुुनिष्ट पार्टीबाट राजनीति सुरु गरेपनि राजनीतिको उत्तरार्धमा पार्टीबाट अलग भएका नेताहरु किन गैरकम्युुनिष्ट पार्टी खोल्छन् ? विश्लेषक विष्णुु दाहाल भन्छन्, ‘पछिल्लो समय कम्युनिष्टहरुले के देख्छन् भने जे यस धर्तीमा देख्छन् त्यो मात्र सत्य हो । कम्युनिष्ट इस्लामहरुले पछिल्लो समय विश्व राजनीति हेर्दा एक ठाउँमा छन् । विभिन्न प्रकरणहरुले आफू त्यही प्रकृतिको पार्टीबाट मुक्ति खोजेका छन् । बाहिर आउन चाहेका छन् ।’
माओवादीबाट राजनीति सुरु गर्दै तत्कालीन नेकपामा गएका प्रभुु साह आफ्नै नेतृत्वमा आमजनता पार्टी खोलेर राजनीति गरिरहेका छन् । विगतमा कम्युनिष्ट नेताको ट्याग भिरेका साह एमालेको कारबाही गरेपछि आजपा पार्टीबाट सक्रिय राजनीति सुरु गरेका हुन् । एमालेको स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहेपनि गएको निर्वाचनमा रौतहटमा उम्मेदवार दिएपछि एमालेसँगको सम्बन्धमा दरार उत्पन्न भएको हो ।
नेपाल संघीय समाजवादी पार्टी पार्टीको नेतृत्व गरिरहेका रिजवान अन्सारीदेखि गोपाल किराती, रेशम चौधरी कुनै बेला कम्युनिष्ट पार्टीमा थिए । कुनै बेलामा कम्युनिष्ट हस्ती राधाकृष्ण मैनाली र देवी ओझा लगायत कतिपय नेता पार्टीबाट अलग भइसकेका छन् । तत्कालीन समयमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मन्त्री भएपछि उनीहरु कम्युनिष्ट आन्दोलनबाट विमुख भएका थिए । यसरी हेर्दा कम्युनिष्ट पार्टी परित्याग गरेका नेताले राष्ट्रवादी अभियान सञ्चालन गर्ने वा राजतन्त्र पक्षधर हुने प्रवृत्ति विगतदेखि देखिदै आएको हो ।
कम्युनिष्ट नेताले पार्टी छाडेर अर्को बाटो लिने प्रवृत्तिबारे विश्लेषक लोकराज बराल उदार अर्थनीति बोकेर हिँड्नु सान्दर्भिक नरहेको बुझाईमा कम्युनिष्ट नेताहरु हुनुले कम्युनिष्ट विचारधाराबाट अलग हुन थालेको बताउँछन् । ‘संसारमै कम्युनिज्मको सम्भावना कम भएको त्यसमा पनि नेपाल जस्तो मुलुकमा । भारतमा समेत कम्युनिष्टहरु विलिन हुने अवस्थामा पुगिसके,' उनले भने, ‘त्यसैले नेपालमा माक्सवाद–लेलिनवाद भन्दै आएता पनि यो संसदीय व्यवस्थामा, बहुदलीय व्यवस्थामा उदार अर्थनीति लिएर हिँड्दा सान्दर्भिक नभएको बुझाईमा कतिपय कम्युनिष्ट नेताहरुमा पाइन्छ ।,’ ‘कम्युनिष्ट नेताहरु यर्थाथको राजनीतिमा साम्यवाद सम्भव छैन भनेर नयाँ किसिमले सोचेको हो, उनले भने ।’
पार्टी विभाजन गर्ने वा फरक विचारले अर्को धारको राजनीति अगाँलेका क्रममा कम्युनिष्ट नेतामाथि पार्टी पंक्तिबाटै व्यापक आलोचना हुने गरेको छ । त्यसको एक उदाहरण हुन्, केशरजंग रायमाझी । कम्युनिष्ट पार्टीका संस्थापक मध्येका एक पुष्पलाल श्रेष्ठसँगै पार्टीमा रहँदा विवाद भएपछि विद्रोह गर्दै रायमाझीले पञ्चायती व्यवस्थाको समर्थन गरेको घटनालाई लिएर उनीमाथि कम्युनिष्ट आन्दोलनलाई धोका दिएको आरोप लाग्ने गरेको थियो ।
नेपालमा कम्युनिष्टले पार्टी विभाजन र टुटफुटको शृङ्खला भोग्दै आएका छन् । र, अझै पनि विभिन्न घटकको रुपमा कम्युनिष्ट पार्टीहरु क्रियाशील छन् । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा तथा माओवादीबाट विभाजित भएका अन्य केही कम्युनिष्ट घटकले आफूलाई शुद्ध कम्युनिष्टको रुपमा प्रस्तुत गरिरहेको पाइन्छ ।