विश्लेषण

माछामा फर्मालिनको प्रयोग उच्च हुँदा मानव स्वास्थ्यमा समस्या हुने जोखिम

- दिपशीखा रेग्मी काठमाडौं

माछालाई ताजा राख्नकालागि एक मुख्य रसायनका रुपमा फर्मालिनको प्रयोग हुने गरेको छ । सर्वोच्च अदालतले माछामा फर्मालिन कम प्रयोग गर्न आदेश दिएको थियो । तर, अझै पनि बजारमा यसको प्रयोग हटेको छैन । पछिल्लो पटक केही स्थानीय तहले आफ्नो क्षेत्रमा बढी फर्मालिन हालिएको माछा विक्रीमा रोक लगाउन थालेका छन् । चिकित्सकका अनुसार, यसको प्रयोगले मानव स्वास्थ्यमा असर पर्ने भएकाले उपभोक्ता आफै सचेत हुनुपर्ने देखिएको छ ।


माछाको प्रयोग बढ्दै जाँदा नेपालको माछा बजारमा झण्डै ८० प्रतिशत हिस्सा भारतबाट ल्याइएका माछाले ओगटेको छ । दक्षिणी भारतमा मारिएका माछा नेपाली नाकासम्म ल्याउन झण्डै ४÷५ दिन लाग्ने हुदाँ माछालाई बिग्रन नदिन त्यसमा फर्मालिन प्रयोग गर्ने गरिएको बताइन्छ । माछा नेपाल आइसकेपछि पनि व्यवसायीले ताजा देखाउन फर्मालिनको थप प्रयोग गर्ने गरेको विज्ञहरुले बताएका छन् । फर्मालिन हालेको माछाको प्रयोग मानव स्वास्थ्यका लागि निकै हानीकारक हुने चिकित्सकको भनाइ छ । 

तत्कालै कुनै असर नगरे पनि फर्मालिनले स्वास्थ्यमा समस्या निम्त्याउने देखिन्छ । फर्मालिनले विशेषगरी मुटु र मृगौलालाई असर गर्ने, पेट पोल्ने, पाचनशक्ति कमजोर गराउने जस्ता समस्या ल्याउने चिकित्सहरुको भनाई छ । फर्मालिन प्रयोग भएका माछा खाँदा स्वास्थ्यमा पर्ने असरबारे जानकारी दिँदै खाद्य स्वच्छता विशेषज्ञ निर्भिक श्रेष्ठ भन्छन्,‘फर्मालिनको प्रयोग भएका माछा खानु प्राणघातक हो । सरकारी निकायले माछामा फर्मालिन प्रयोग भएको छैन भनेतापनि प्रायः सीमाक्षेत्रमा फर्मालिनको प्रयोग भएका माछा पाईने गरेको छ । ’

विश्वभरि नै फर्मालिनको प्रयोगमा प्रतिबन्ध लागाइएसँगै विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले खानेकुरामा फर्मालिनको मात्रा शून्य हुनुपर्ने बताएको छ । त्यस्तै नेपालमा पनि फर्मालिनको प्रयोगलाई कम गर्ने उदेश्यले सर्वोच्च अदालतले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुासर मात्रै प्रयोग गर्न आदेश दिइसकेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एक किलो माछाका लागि शून्य दशमलव २ मिलिग्राम फर्मालिन राख्न पाइन्छ । तर,नेपालमा माछा सड्नबाट रोक्न एक किलो माछामा ४ दशमलव ५ मिलिग्रामसम्म फर्मालिन प्रयोग गरिएको विज्ञहरुले बताएका छन् । यही अवस्थामा विभिन्न स्थानीय तहले फर्मालिन प्रयोग भएको माछा विक्रीमा रोक लगाउन थालेका छन् ।

 पछिल्लो पटक माघ ९ गते झापाको शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगायो । फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि विक्री वितरणमा प्रतिबन्ध लगाइएको नगरपालिकाले जनाएको छ । फर्मालिन प्रयोग भएका र मरेका माछा विक्री वितरण हुन नदिन स्थानीय बजार व्यवस्थापन समिति र स्थानीय प्रहरीसँग मिलेर नियमित बजार अनुगमन भइरहेको नगरपालिकाको भनाई छ । हानिकारक रसायन फर्मालिन प्रयोग भएकोे र मरेका माछा बिक्री भएको थाहा भएमा नगरपालिकामा तत्काल खबर गर्न सार्वजनिक सूचना समेत जारी भएको सोे नगरपालिकाको प्रशासन शाखाका प्रमुख डिल्लीराम नेपाल बताउँछन् ।

आर्थिक वर्ष २०७८÷२०७९ मा एक हजार ६ सय ९३ दशमलव ७२ टन विभिन्न प्रकारका माछा नेपालले आयात गरेको भन्सार विभागको तथ्यांक छ । जसबाट १६ करोड ५७ लाख ९८ हजार रुपैयाँ राजश्व असुल भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७९÷२०८० मा ३० हजार ७ सय ३२ मेट्रिक टन माछा नेपाल आयात भएको सरकारी तथ्याङक छ । नेपाली बजारमा विदेशका मात्र नभई स्वदेशी माछा पनि पाइन्छन् । तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७९÷२०८० मा नेपालमा कुल १ लाख १३ हजार ७ सय ३६ मेट्रिक टन माछा उत्पादन भएको छ । सरकारी तथ्यांक अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी ४३ हजार तीन सय ८६ मेट्रिक टन माछा उत्पादन भएको थियो । त्यस्तै, मधेश प्रदेशमा भएको कूल माछा उत्पादनमा बाराको हिस्सा सबैभन्दा धेरै अर्थात २२ दशमलव ४३ प्रतिशत छ । 

पर्सामा भएको माछा उत्पादनको हिस्सा सबैभन्दा कम सात दशमलव ९९ प्रतिशत छ । त्यस्तै पछिल्लो तथ्यांक अनुसार मधेस प्रदेशमा आर्थिक वर्ष २०८०÷८१ मा ४५ हजार ५ सय ७१ मेट्रिक टन माछा उत्पादन भएको थियो । मधेश प्रदेशमा माछा उत्पादनमा वृद्धि भएतापनि माछाको उचित बजार मूल्य नपाएको व्यवसायीको गुनासो छ । उनीहरुको भनाइमा भारतबाट अवैध रुपमा ल्याइएका माछासँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । लुकाईछिपाई ल्याईएको माछामा फर्मालिन प्रयोग भएको हुन सक्ने व्यवसायीको भनाई छ । यता, सरकारी निकायले भने बजारमा अनुगमन गर्दा कुनैपनि ठाउँमा फर्मालिनको प्रयोग भएको माछा फेला नपरेको दावी गरेको छ । केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रकी सूचना अधिकारी सुमित्रा लौडरीले भनिन्, “फर्मालिन प्रयोग भैरहेको छ भन्ने भ्रम मात्रै हो । हामिले दशैंतिहार जस्ता मुख्य चाडपर्वमा नियमित अनुगमन गरीरहेकै छौं, एउटा मागुर माछा चाँही जिउँदो ल्याउन पाईंदैन भनेर मारेको ल्याईन्छ त्यसैलाई प्रहरीले विभिन्न नाकामा जफत गरेर नस्ट गर्ने गरेको छ ।’

मरेका माछाभन्दा जिउँदो माछा तुलनात्मक रुपमा केही महंङ्गो पर्ने हुदाँ कतिपय उपभोक्ताको रोजाई सस्तो माछा पर्ने सम्भावना बढी छ । माछाको पारखी र प्रयोग बढिरहँदा फर्मालिन जस्ता रसायनको प्रयोगले मानव स्वास्थ्यमा पार्ने प्रभावबारे सचेत हुनुपर्ने देखिन्छ ।