नेपालमा फ्रेन्चाईज लिग कतिको दिगो हुन्छ ?
- काठमाडौंनेपालमा फ्रेन्चाइज लिगको इतिहास धेरै लामो छैन । २०७३ सालमा पहिलो पटक धनगढी प्रिमियर लिग डीपीएलको नाममा व्यावसायिक क्रिकेट लिग सुरु भयो । नेपाल क्रिकेट संघ क्यान आईसीसीको निलम्बनमा परेको समयमा भएको लिगले नेपाली क्रिकेटलाई माथि उकास्न ठूलै योगदान गर्यो ।
नेपाली खेलकुदमा फ्रेन्चाइजको लहर र निजी क्षेत्रको लगानी भित्रिन थाल्दा खेलाडीहरुले पनि राम्रै आर्थिकलाभ पाउन थालेका छन् । यसले स्पष्ट रुपमा खेलकुदमा व्यावसायिकता भित्र्याउने लक्ष्य राखेको छ । तर, यसको दिगोपनलाई लिएर अहिले पनि प्रश्नहरु उठ्ने गरेका छन् ।
नेपाल प्रिमियर लिग, एभरेष्ट वुमन्स भलिबल लिग र नेपाल कबड्डी लिग नेपालमा हालै सम्पन्न भएका लिगहरु हुुन् ।
यस्तै, नेपाल सुपर लिग र नेपाल पुरुष भलिबल लिग आयोजना हुुने क्रममा छन् । नेपालमा एकै वर्ष पाँच फ्रेन्चाइज लिग भएको यो पहिलो पटक हो । हालै सम्पन्न नेपाल प्रिमियर लिग एनपीएपलले विदेशी खेलाडीदेखि ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीलाई एकै टिमबाट खेल्ने संयोग जुराईदियो ।
एनपीएल क्यानले आफ्नै व्यवस्थानपनमा गरेको पहिलो लिग भए पनि नेपाली क्रिकेटमा पहिलो फ्रेन्चाइज लिग भने होइन । यसअघि पनि क्यानले सन् २०२२ मा भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्ससँग मिलेर नेपाल टी–२० लिग आयोजना गरेको थियो । म्याच फिक्सिङका घटना बाहिरिएसँगै नेपाल टी–२० धरासायी बन्यो । दुई वर्षपछि क्यानले एनपीएलको नाममा नयाँ फ्रेन्चाइज लिग सुरु गर्यो । यसअघि क्यान आईसीसीको निलम्बनमा रहेको बेला निजी क्षेत्रबाट तीनवटा फ्रेन्चाइज क्रिकेट लिग भएका थिए ।
एभरेष्ट प्रिमियर लिग इपीएल, धनगढी प्रिमियर लिग डीपीएल र पोखरा प्रिमियर लिग पीपीएल । जसले कुनै न कुनै रुपमा नेपाली क्रिकेटलाई माथि उकास्न योगदान पु¥याए । अहिले त प्रदेश स्तरमा समेत क्रिकेटको फ्रेञ्चाइज लिग शुरु भैसकेको छ । राष्ट्रिय टिमका कप्तान रोहित पौडेलदेखि धेरै खेलाडी तिनै फ्रेन्चाइज क्रिकेटका माध्यमबाट चर्चामा आए ।
पाँचवटा फ्रेन्चाइज क्रिकेट लिग हुँदा एनपीएले सबैभन्दा ठूलो चर्चा पायो । पहिलो सिजनै एनपीएलले बृहत चर्चा बटुलेकाले आगामी सिजन अझ राम्रो गर्ने चुनौती बढेको छ । धनगढी प्रिमियर लिगका संस्थापक सुवास शाहीले भने
नेपालमा पछिल्लो समय फ्रेन्चाइज लिगहरु राम्रो भईरहेको छ । ड्रीपीएललाई हामीले राष्ट्रिय स्तरसम्म पुर्यायौं । अहिले जसरी लिगहरु भईरहेका छन् यसले खेलकुदमा व्यावसायिकता लिएको छ । खेलाडीहरुलाई आर्थिक लाभ मिलेको छ ।
कोभिड महामारीयता नेपालमा फुटबल यसरी सुस्तायो कि ए डिभिजन लिग समेत नियमित हुन सकेको छैन । नियतिम खेल अभावमा नेपाली राष्ट्रिय टिमको प्रदर्शन कमजोर बन्न पुगेको छ । कोभिडकै समयमा नेपाल सुपर लिग एनएसएल फ्रेन्चाइज लिग सुरु भयो ।
पहिलो सिजनपछि केही विवाद उत्पन्न हुँदा अर्को वर्ष त्यसले निरन्तरता पाएन । तर, गत वर्ष एनएसएलको दोस्रो संस्करण आयोजना भयो ।
यस वर्षका लागि तेस्रो संस्करणको तयारी भइरहेको छ । आयोजक नेपाल स्पोर्टस एण्ड म्यानेजमेन्टले आगामी चैत्र १६ गतेदेखि एनएसएल सुरु गर्ने मिति तय गरेको छ । एन.एस.एलका प्रबन्ध निर्देशक श्रेयान्स कार्की भन्छन्
फुटबलको क्यालेन्डर भनेको अरु स्पोट्सको क्यालेन्डर जस्तो कुनै पनि बेलामा फ्रेन्चाइज लिग गर्न सक्ने अवस्था हुँदैन । ए डिभिजन, बी डिभिजन अलि लामो समयसम्म हुने भएको हुनाले समय मिलाउन गाहे हुने गर्छ । यसैको कारण एनएसएलको एक सिजन हुन सकेन । अब आगामी वर्षदेखि यसले निरन्तरता पाउँछ ।
विश्वमा फुटबल र क्रिकेटजस्तो कबड्डी चर्चित नभए पनि भारतसहित दक्षिण एसियामा यसको चर्चा छ । यस वर्ष नेपालमा पनि कबड्डीको फ्रेन्चाइज लिग आयोजना भयो । अखिल नेपाल कबड्डी संघले एस्ट्रोनिक्स इभेन्ट म्यानेजमेन्टसँग गत वर्ष नै नेपाल एनकेएलका लागि सम्झौता गरेको थियो ।
गत माघमा सम्पन्न एनकेएलको पहिलो संस्करणमा ६ फ्रेन्चाइज टिम सहभागी भए । महिला कबड्डी लिगको पनि तयारी गरिएको र लिग हरेक वर्ष हुने संघका महासचिव अरविन्द झाको दाबी छ ।
हामीले एस्ट्रोनिक्स इभेन्ट म्यानेजमेन्टसँग १० वर्षको सम्झौता गरेका छौं । सम्झौता हुँदैमा लिग हुँछ भन्ने ग्यारेन्टी पनि हुँदैन । खेलको क्रेज हेर्दा, माहोल हेर्दा लिग अगाडी बढ्छ कि बढ्दैन भन्ने हुन्छ । सोही अनुसार हामीभन्दा बढी उहाँहरु उत्साहित हुनुहुन्छ । सोही समयमा अर्को वर्ष प्रतियोगिता हुनेमा ढुक्क छौं । कबड्डीको महिला लिग पनि एस्ट्रोनिक्स इभेन्ट म्यानेजमेन्टलाई नै दिएका छौं । यदि उहाँहरुले गर्न सक्नुभएनल भने संघले आफ्नै पहलमा गर्नेछ ।
यसै वर्ष पुरुष र महिला दुबै भलिबलको फ्रेञ्चाइज प्रतियोगिता हुने भएको छ । इन्फिनिटी ड्रिम्स प्रालीले गत असोजमा पहिलो पटक नेपालमा महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग आयोजना गरेको थियो ।
जसमा ६ टिमले प्रतिस्पर्धा गरेका थिए । यस्तै, केडिया ग्रुपले आगामी चैतमा पुरुषको नेपाल भलिबल लिग एनभीएल गर्ने तयारी गरेको छ ।
क्रिकेट, फुटबल, भलिबल र कबड्डी गरी एकै वर्ष चार फरक–फरक खेलका फ्रेन्चाइज लिग हुनु नेपाली खेलकुदमै ऐतिहासिक संयोग हो ।
फ्रेन्चाइज लिगहरुले खेलाडीलाई एक हदसम्म राम्रै आर्थिक लाभ मिल्छ । विदेशी खेलाडीहरुसँगै खेल्ने अवसर मात्र होइन, एक्सपोजर पनि पाउँछन् । राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ भन्छन्
फ्रेन्चाइज लिगहरुले खेलाडीहरुलाई एउटा पोजिटिभ म्यासेज दिएको छ । फ्रेन्चाइज लिगले खेलाडीहरुको आर्थिक पाटो सबल बनाउँछ । यसले खेलकुदमा व्यावसायिकता ल्याउछ जस्तो लाग्छ मलाई । लिगहरुले निरन्तरता पायो भने यसले समग्र खेलकुदमा ठूलै फड्को मार्छ ।
फ्रेन्चाइज लिगले खेलकुदमा व्यावसायिता भित्राउन एक तहको मद्दत गर्छ । साथै अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको सम्बनध विस्तारमा पनि भूमिका निर्वाह गर्छ । नियमित हुने यस्ता प्रतियोगिताले खेलाडीहरुलाई आर्थिक रुपमा सवल पनि बनाउँछ ।
तर, नेपालजस्तो देशमा खेलकुदमा यति धेरै फ्रेन्चाइज लिगको निरन्तरता सम्भव छ त ? नेपाली बजारले मात्रै यस्ता लिग धान्न सक्लान् ? फ्रेन्चाइजमा विदेशी लगानी भित्राउने वातावरण बन्लान् त ? प्रश्नहरुले उत्तर खोजिरहेका छन् ।