खेल संघ व्यवस्थित नहुँदा वार्षिक क्यालेन्डर निमार्णमै सकस
- काठमाडौंखेलाडीको जिवनमा समय जत्तिकै महत्वपूर्ण अर्को पाटो खेल तालिका पनि हो । तर, नेपाली खेलकुदमा वार्षिक क्यालेन्डर कायम गर्ने क्रिकेट र भलिबल मात्र छन् । नेपाल क्रिकेट संघ क्यानले गत फागुन २५ गते वर्ष २०२५ को क्यालेन्डर सार्वजनिक गरिसकेको छ । नेपाल भलिबल संघले पनि आफ्नो तालिका अनुसार प्रतियोगिताहरु आयोजना गर्दै आएको छ ।
फिफाले नै खेलाडीलाई ब्रेक दिने भनेर नियम बनाएको छ । तर, नेपालमा त्यहि फुटबलका खेलाडीहरुले आराम पाउँदैनन् । कारण नेपालमा फुटबलको उचित क्यालेन्डर छैन । अखिल नेपाल फुटबल संघ एन्फाले आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छैन । जसका कारण मोफसलमा एकै मितिमा प्रतियोगिता जुध्दा क्लब र खेलाडी मारमा पर्छन् ।
आफ्ना नियमित कार्यक्रमहरु सहज रुपमा अघि बढाउन खेल संघले वार्षिक क्यालेन्डर निर्माण गर्नु अनिवार्य शर्त नै हो । क्यालेन्डर अनुसार नै खेलाडी, क्लब र खेल सम्बद्ध व्यक्तिले आप्mनो तयारी गर्न पाउँछन् । नेपाल भलिबल संघले नयाँ आर्थिक वर्षको सुरुवातमा आफ्ना वार्षिक कार्यक्रम सार्वजनिक गर्दै आएको छ ।
क्यालेन्डर अनुसार अब राष्ट्रिय भलिबल लिग आगामी जेठमा गर्ने संघले जनाएको छ । तर १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मितिसँग जुधेकाले प्रतियोगितालाई लिएर अन्यौल पैदा भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि प्रत्येक वर्ष ९ वटा प्रतियोगिता गर्दै आएको भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द प्रतियोगितालाई व्यवस्थित गर्न पनि वार्षिक क्यालेण्डर आवश्यक ठान्छन् ।
प्रतियोगिताको आयोजना मात्रै हैन व्यावसायिकताका लागि पनि क्यालेण्डर चाहिन्छ । प्रायोजक खोज्न र सहभागी टिमको तयारीमा पनि क्यालेण्डरले सहायक भूमिका खेल्छ । वार्षिक क्यालेन्डरले प्रतियोगिताको प्रचारप्रसार गर्न मद्धत पुग्नुका साथै प्रतियोगिताको हाइप बढाउने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताए ।
क्रिकेट र भलिबलले आफ्ना वार्षिक क्यालेन्डर अनुसार प्रतियोगिता आयोजना गर्दै गर्दा, अखिल नेपाल फुटबल संघले भने आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गर्न सकेको छैन ।
सोही कारण पछिल्लो २ महिनामा भएको मोफसलका प्रतियोगिताहरु जुध्न पुगे । एन्फाले खेल तालिका व्यवस्थित गर्न नसक्दा क्लबलाई सहभागितामा झन्झट भएको त छ नै खेलाडीले पनि दौडधुप हुँदा आराम समेत गर्न पाएनन् । नेपाल मात्रै एउटा त्यस्तो देश होला जहाँ एकै समय दुई स्थानमा एउटै नाममा क्लबले फुटबल खेल्छ ।
एन्फाले क्यालेन्डर व्यवस्थित नगर्दा खेलाडी र क्लबले सहभागी हुने र नहुने प्रतियोगिता नै छुट्याउन नसक्ने अवस्था आयो । एन्फाका प्रवक्ता सुरेश शाह भन्छन् “ हाम्रो वार्षिक क्यालेन्डर नै नभएको होएन । हाम्रो क्यालेन्डर आईसकेको छ । तर हाम्रो प्रकृया के हो भन्दा, कार्यसमितिको बैठक बसेर क्यालेन्डरलाई पास गरेर फेरी साधारणभामा अनुमोदन गरिसकेपछि एन्फाले क्यालेन्डर सार्वजनिक गर्छ र अहिले ड्राफ्ट क्यालेन्डर छ ।
अर्को भनेको मोफसलमा हुने सम्पूर्ण टुर्नामेन्टहरुको सम्पूर्ण स्वातित्व भनेको एन्फको होइन । आयोजकहरुले एन्फासँग क्यालेन्डर मात्रै स्विकृत गर्ने गर्छ । आयोजकहरुले विभिन्न क्लबहरुलाई लिने काम गर्छ । क्लबहरुले के सोच्न पर्यो भने हामीले कति वटा म्याच खेल्न सक्छौं । भन्ने कुरा क्लबले तय गर्नु पर्छ । तर उहाँहरुले एउटै समयमा दुई वटा म्याच खेलिरहनु भएको छ । वास्तवमा यो रुल्सको हिसाबले गलत हो । ”
गोल्डकप नेपाली फुटबल खेलाडीको आम्दानीको स्रोत भए पनि उनीहरू कमजोर मैदानमा खेल्न बाध्य छन् । त्यसमाथि खेलाडीलाई आरामको समय पनि छैन । खेलाडीका लागि २ खेलबीच ७२ घण्टा आराम चाहिन्छ । तर खेलाडी तथा क्लबले दैनिक खेल्नु पर्ने बाध्यता बन्दै छ । यसले खेलाडीको प्रदर्शन मात्रै हैन उनीहरुको खेल भविष्यलाई समेत अँध्यारोमा धकेल्दैछ ।
फिजियोथेरापिस्ट डा. सुरज भुसाल भन्छन् “ यसरी एक दिन बिराइ अथवा रेगुलर फुटबल खेल्दै गर्दा खेलाडीमा इन्जुरी हुने सम्भावना धेरै हुन्छ । नर्मल फिजियोलोजीमा आउनको लागि रेस्ट चाहिन्छ । रेगुलर खेल्दा मासु चेपिने, तन्कने समस्या हुन सक्छ । अर्को भनेको लिगामेन्ट इनजुरी हो । ”
मोफसलका गोल्डकपमा दैनिक जसो खेल्नु खेलाडीको बाध्यता हो । ठूला प्रतियोगिता र लिग सञ्चालन नहुँदा फुटबल खेलाडी बेरोजगार जस्तै हुन्छन् । लगातार प्रतियोगिता खेल्दा प्रदर्शनमा ह्रास आउने खेलाडी स्वीकार्छन् ।
फुटबलर विकेश कुथुले भने “ कुनै कुनै टुर्नामेन्टहरुमा रेस्ट थियो तर कुनैमा रेस्ट नै गर्न पाइएन । नेपाल अहिले घरेलु लिगहरु केहीपनि छैन । लिग नभएको खण्डमा यहि नकआउटले भएपनि खेलाडीहरुलाई जिविकोपार्जन गर्ने एउटा बाटो छ । त्यहि भएर पनि बाध्य भएर खेल्नै पर्छ । हाम्रो पनि शरिर हो कुनै मेसिन होइन । ”
खेलकुदमा वार्षिक क्यालेन्डर बनाईने हो भने यसले खेलकुदको पनि विकास हुन्छ । साथै, खेलाडीले पनि सोही अनुसार आफ्नो तयारी गर्न पाउँछन् । हामी खेलकुदमा कति व्यवस्थित छौं भन्ने प्रमाण पनि तीनै क्यालेण्डरहरुले प्रस्तुत गर्थे ।
तर, कुन मितिमा कस्तो प्रतियोगिता आयोजना गर्ने र अन्तर्राष्ट्रिय सहभागिताका बारेमा समेत कुनै जानकारी नराखी प्रतियोगिता शुरु हुनै लाग्दा गर्ने तयारीले हाम्रो खेलकुद उँभो लाग्दैन । अन्तर्राष्ट्रि स्तरमा पदक जित्ने त परको कुरा ।