प्रमुख राजमार्ग निर्माण र विस्तार ढिलो हुँदा कष्टकर यात्रा गर्नुपर्ने बाध्यता
- काठमाडौंमुलुकका प्रमुख राजमार्गका विभिन्न खण्डमा सडक निर्माण र विस्तारका काम भईरहेका छन् । तर समयमै काम सम्पन्न नहुँदा कतिपय सडकमा यात्रुहरुले महिनौंदेखि सास्ती खेप्नुपरेको छ । नियमित रुपमा सडकको अवस्था जाँच नगर्ने तथा निर्माण र विस्तारमा सम्बन्धित निकायबीच समन्वयको अभाव हुने जस्ता समस्याले सडकको हालत बिग्रिएको हो । बर्षात्को समय नजिकिँदै गर्दा विगत बर्षमा जस्तै ती सडकमा यात्रा गर्दा हैरानी खेप्नुपर्ने चिन्ता देखिएको छ ।
सरकारी निकायबीच समन्वयको अभावमा सडक आयोजना वर्षांैसम्म लम्बिएका कयौँ उदाहरण छन् । कच्चा पदार्थको अभाव, स्थानीय अवरोध, जग्गा अधिग्रहण जस्ता समस्या सडक निर्माणमा देखा पर्ने गरेका छन् । अहिले बीपी राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग अन्तर्गतको नागढुंगा—मुग्लिङ सडक, नारायणगढ–बुटवल सडकखण्ड, कान्ति लोकपथ, त्रिभुवन राजपथ र हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ आउने सडक ठाउँ–ठाउँमा क्षतिग्रस्त र मर्मतका लागि भत्काइएको अवस्थामा छन् । नुवाकोट र रसुवालाई काठमाडौसँग जोड्ने पासाङल्हामु राजमार्गको तीनपिप्ले भन्दा माथि रानीपौवासम्म विस्तारको काम भैरहेको छ । सो सडकमा सात पटकसम्म समयावधि थप्दा पनि काम नभएपछि पुरानो ठेक्का तोडेर दोस्रो ठेक्का लगाइएको छ । यता नागढुंगा–मुग्लिङ सडक पनि विस्तारको क्रममा छ ।
कान्ति लोकपथमा बाढीले बगाएको बेलिब्रिज निर्माण अझै भएको छैन । निमार्णाधिन यी सडकमा सरकारले ध्यान नदिए आगामी वर्षाको समयमा अझै ठूलो क्षति हुने विज्ञहरुको भनाइ छ । पूर्वाधारविद् सुर्यराज आचार्य भन्छन्, ‘राजमार्गको निर्माणमा ढिलासुस्ती भनेको समयमा नसकिने र बजेट धेरै लाग्नेचाहिँ समस्या छ । तर कतिपय राष्ट्रिय राजमार्गहरुमा गुणस्तरको समस्या भने छैन । स्थानियस्तरका सडकहरु, ग्रामिक सडकहरुमा धेरै समस्या देखा पर्ने गरेका छन् । यसलाई सुर्धान आवश्यक छ ।’
विज्ञहरुका अनुसार राजमार्गहरुलाई खाल्डाखुल्डी मुक्त र सुरक्षित बनाउने हो भने निश्चित समयको अन्तरालमा पुनर्निर्माणको काम अनिवार्य रुपमा गर्नुपर्छ । तर, नेपालमा अहिलेसम्म सडक निर्माण र विस्तारमा त्यसो हुन सकेको छैन । जसकारण वर्षाको समयमा सडक यात्रा निकै कष्टकर बन्दै आएको छ । एक दशक बढी समयदेखि ओखलढुङगा—काठमाडौँ रुटमा यात्रुबाहक गाडी चलाईरहेका ओखलढुङगाको लिखु गाउँपालिका ९ पोकलीका निखिल खड्काको अनुभवमा गत असोजयता जस्तो बीपी राजमार्गमा सवारी चलाउन मुस्किल कहिल्यै भएको थिएन । गत असोजको दोस्रो साताको बाढीले सो राजमार्गको १२ किलोमिटर सडक क्षतिग्रस्त छ । उनले भने, ‘सामान्य मर्मत गरिएको सडकमा दैनिक सवारी चलाउनु पर्दा दुर्घटनाको भय त छँदैछ, धुलोको हैरानी पनि उत्तिकै छ ।’
दैनिक लाखौँ यात्रु हिँड्ने सडकमा सरकारको काम गराइ निकैै ढिला भएको सडक निर्माणबारेका जानकारहरुको बुझाइ छ । गत असोज दोस्रो साता आएको बाढीले बीपी राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म आठ किलोमिटर सडक पूरै बगाएको थियो । सो खण्डको बाँकी चार किलोमिटर सडक पनि क्षतिग्रस्त नै थियो । काठमाडौँलाई पूर्वी नेपालका जिल्लासँग जोड्ने छोटो राजमार्ग डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएको छ । असोज दोस्रो साताको अविरल वर्षापछि पु¥याएको क्षतिका कारण बीपी राजमार्गको पूर्ण सञ्चालनलाई लिएर निकै चासो प्रकट भएको छ । तराईका जिल्ला र पूर्वी नेपाललाई छोटो दूरीमा राजधानी काठमाडांैलाई जोड्ने उद्देश्यले जापान सरकारको सहयोगमा निर्माण गरिएको राजमार्गको पुर्ननिर्माणले कहिले सार्थकता पाउँछ भन्ने निश्चित छैन । सडक विभागका अनुसार बीपी राजमार्गको पुनर्निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । राजमार्ग पुनर्निर्माणबारे सडक विभमगका महानिर्देशक रामहरी पोखरेलले भने, ‘सडक बिग्रीनुमा निमार्ण पक्षको मात्रै दोष हुँदैन । स्थानीय सडकहरु खोल्ने, निर्माण सामाग्रीहरु सडकमै राख्ने, लगायतका कामहरु गर्दा सडकको गुणस्तरलाई असर गरीरहेको छ ।
सडक खन्दा र बनाउँदा खल्बलिएका पुरै भागलाई स्थिर बनाउन वैज्ञानिक प्रविधि प्रयोग गर्नुपर्नेमा त्यसो नभएको विज्ञहरुको भनाइ छ । तोकिएको भार भन्दा गहु्रुंगा मालवाहक सवारी साधनका कारण राजमार्गका सडकलाई कमजोर बनाएका छन् । समय–समयमा जाँच गरेर बलियो बनाउने गरी काम हुन नसक्दा सडकहरु व्यवस्थित नभएको देखिन्छ । समयमा सडक निर्माण र विस्तार पुरा नहुँदा सरकारले ठेकेदार र ठेकेदारले सरकारी निकायलाई दोष दिइरहेका हुन्छन् । यस्तो अवस्थामा सडक निर्माण र विस्तारबारे भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भने, ‘निमार्णको चरणमा छौँ, क्रमशः कामहरु भैरहेका छन् । मध्यपहाडी राजमार्ग, हुलागी राजमार्ग, कालीगण्डकी करीडोरलगायका स्थानमा ७८ प्रतिशत कामहरु भैसकेको छन् । अन्य ठाउँमापनि कामहरु धमाधम भैरहेका छन् ।’
निर्धारित समय सडक निर्माण र विस्तारले पूर्णता नपाउँदा यात्रुहरुले सास्ती व्यहोरिरहेका छन् भने पूर्वाधार निर्माणमा सरकारको भूमिकामाथि आम नागरिकको असन्तुष्टी बढ्दै गएका छन् । बर्षात्को समय नजिकिँदै गर्दा ती सडकहरुको दुरावस्थाले फेरिपनि यात्रुलाई पिरोल्ने निश्चित छ । त्यसैले प्रभावकारी समन्वयमार्फत् सडक निर्माण र विस्तारलाई सम्पन्न गर्नुको विकल्प छैन ।