विश्लेषण

न्यायाधीश नियुिक्त ढिला हुँदा मुद्दाको चाप बढ्दै

- तारा ढकालकाठमाडौं

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने व्यवस्था छ । सर्वोच्चमा पुर्ण रुपमा पदपूर्ती नभएको भने २ वर्ष बढी भइसक्यो । अहिले पनि त्यहाँ चार न्यायाधीशको पद रिक्त छ । न्यायाधीश पद रिक्त हुँदै जाने तर समयमा नियुक्त नगर्ने प्रवृत्तिले २५ हजारभन्दा बढी मुद्दा वर्षौंदेखि फैसलाको पर्खाइमा छन् । न्यायाधीश नियुक्तिको सिफारिस गर्ने संवैधानिक निकायको बैठक अनिश्चित हुँदा समयमै न्यायाधीश नियुक्त हुन नसक्ने नियतिले छाडेको छैन ।

न्यायपरिषद् ऐन, २०७३ को दफा ४ मा, न्याय परिषदले उमेरको हदबाट अवकाश हुने सर्वोच्च अदालतका न्यायाधीशको पद यकिन गरी त्यस्तो पद रिक्त हुनुभन्दा कम्तिमा एक महिना अगाडि नियुक्ति सिफारिस गर्ने उल्लेख छ । तर, गत वर्षको असोज यता न्यायपरिषद्ले सर्वोच्चमा नियुक्तिका लागि सिफारिस गर्न सकेको छैन । प्रधानन्यायधीशको अध्यक्षतामा, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री,वरिष्ठतम् न्यायधीशसहित ५ जना रहने न्यायपरिषद पूर्ण हुँदा समेत न्यायधीश नियुक्तिको सिफारिस गर्न नसकेको टिप्पणी हुने गरेका छन् । तर, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले भने न्यायधीश नियुक्तिको सिफारिसका लागि काम गरिरहेको दाबी गरेको छ । न्यायधीश नियुक्ति प्रक्रियाका लागि अध्ययन भइरहेकाले चाँडै टुंगो लाग्ने कानुनमन्त्री अजय चौरसियाको भनाई छ । विदेशमा रहेका प्रधान्यायधीश प्रकाशमानसिंह राउत स्वदेश फर्किएपछि बैठक बसेर प्रक्रिया अगाडी बढाउने उनले बताए । उनले भने, ‘प्रधानन्यायाधीश मुलुक बाहिर रहेकाले फर्किए लगत्तै बैठक बसेर नियुक्ति प्रक्रिया टुङ्ग्याउँछौ ।,यसअघि समेत बैठक पटक पटक बसेको छ । नियुक्ति प्रक्रियाका लागि अध्ययन भइरहेकाले नियुक्तिमा ढिलाई भएको छैन ।’

हाल सर्वोच्च अदालतमा २५ हजार ५ सय ६९ मुद्दा फर्छयौट हुन बाँकी छ । पछिल्लो तथ्याङक अनुसार गत वर्ष सरेका सहित ३७ हजार ३ सय २९ मुद्दा रहेकोमा ११ हजार ७ सय ६० फर्छर्यौट भएको छ । २ वर्ष नाघेका मुद्दा ९ हजार ८ सय ५८ बाँकी रहेका छन् भने पाँच वर्ष नाघेका मुद्दा १८ सय ५४ रहेको छ । गत वर्षको साउनबाट लागु हुने गरि न्यायपालिकाको पाँचौ पञ्चवर्षीय रणनीतिक योजना सर्वोच्चले सार्वजनिक ग¥यो । सो योजनामा २०८६ सालसम्म २ वर्ष नाघेका मुद्दा शून्यमा झार्ने र उच्च तथा जिल्ला अदालतमा २०८२ असारसम्म २ वर्ष नाघेका मुद्दा शून्य बनाउने लक्ष्य लिएको छ । यद्यपी, समयमा अदालतले न्यायधीश नपाउँदा न्याय सम्पादनमा प्रभाव पर्दै आएको छ । सर्वोच्चमा न्यायधीशको संख्यामा कमी हुँदा लक्ष्य बमोजिम मुद्धा फर्छयौट र व्यवस्थापन प्रभावकारी बनाउन समस्या भएको सर्वोच्चको भनाइ छ । सर्वोच्चका प्रवक्ता अच्युत कुंईकेलले भने, न्यायाधीश संख्यामा कमी हुँदा मुद्दा फर्छयौट र व्यवस्थापनमा समस्या हुने गरेको छ ।’


यता, नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावली संशोधन गरेर न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन लागिएको भन्दै विरोध जनाउँदै आएको छ । न्याय परिषद नियमावली २०७४ को संशोधन गर्दै मुख्य रजिष्ट्रार न्यायाधीशमा नियुक्त हुँदा स्वतः मुख्यपछिको वरियता पाउने व्यवस्था गरिए पछि बार सो प्रवाधान प्रति असन्तुष्टी जनाउँदै आएको हो । बारमा गत चैत देखि वरिष्ठ अधिवक्ता विजय प्रसाद मिश्र सहितको नयाँ कार्य समिति चयन भएर आएको छ । मिश्रसहितको नयाँ कार्यसमितिले समेत सो अडानलाई कायम राखेको छ । न्यायधीश नियुक्ति प्रक्रिया न्यायपरिषदको नियमित कार्य भएपनि सो अनुसार हुन नसक्दा समेत समस्या भएको बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाको भनाई छ । उनले भने, ‘न्याय परिषद नियमावली नियम ११ खारेज हुनुपर्ने अडान कायमै छ । पक्कै पनि न्यायाधीश सिफारिस गर्दा योग्य, सक्षम र इमान्दरलाई गर्नुुपर्छ । यद्यपि, परिषदको काम नै न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएकाले अगाडी बढाउन समस्या नहुनु पर्ने हो ।’

दलहरु भागबण्डा नमिल्दा समेत न्यायधीश नियुक्तिका लागि सिफारिस प्रक्रिया समयमा हुन नसकेको विभिन्न टिकाटिप्पण्ी न्यायीक वृत्तमा हुने गरेको छ । गत असोजको तेस्रो साता प्रधानन्यायाधीश बनेका प्रकाशमान सिंह राउतले न्यायालयलाई चुस्त दुरुस्त राख्न रिक्त सबै पदमा तदारुकताका साथ नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर एकातर्फ सर्वोच्चमा मुद्दाको चाप बढ्दै जाने तथा अर्कोतर्फ संविधान र कानून अनुसार हुनुपर्ने न्यायाधीश नियुक्त समयमै हुन नसक्ने विडम्वना झाँगिदै गएको छ । हरेक पटक न्यायधीश नियुक्ति सिफारिसको प्रक्रिया ढिलाई हुनु उपयुक्त नभएको वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको भनाइ छ । उनले भने, राजनीतिक पात्रबाट ढिलासुस्ती भएकाले न्यायधीश नियुक्ति प्रक्रिया ढिला हुने समयमा नहुने नियती नै बनेको छ ।’

सर्वोच्चमा ४ र उच्च अदालतमा २६ न्यायाधीशको पद रिक्त छ । ती पदमा नियुक्तिका लागि न्याय परिषद्को बैठक पटक–पटक बसे पनि प्रक्रिया अघि बढ्न सकेको छैन । न्यायाधीश नियुक्ति प्रक्रियामा ढिलाई नगर्न न्यायपरिषद अध्यक्ष समेत रहेका प्रधानन्यायाधीशले सक्रियता देखाउनुपर्ने पूर्व न्यायाधीश बलराम केसीको सुझाव छ । न्यायपालिकालाई प्रभावकारी बनाउने जिम्मा प्रधानन्यायधीशको भएकाले जवाफदेही भएर लागेमा न्यायधीश नियुक्ति प्रक्रिया अगाडी बढ्न सक्ने उनको दाबी छ । केसीले भने, ‘न्यायाधीश नियुक्ति प्रक्रियामा ढिलाई भए, प्रधानन्यायाधीश आफै जवाफदेही भएर प्रक्रिया अगाडी बढाउनुपर्छ ।’

न्यायसम्पादनमा ढिलाइ भइरहेको जनगुनासोकाबीचमा सर्वोच्च अदालतमा न्यायाधिश नियुक्ति अविलम्ब हुन आवश्यक छ । अन्यथा समयमै अदालतले न्यायाधिश नपाउने नियतिले फेरि पनि निरन्तरता पाइरहने निश्चित छ ।