विश्लेषण

मनसुन अवधिमा विभिन्न राजमार्गका ८ सय ६० बढी स्थानमा पहिरोको जोखिम

- दिपशीखा रेग्मी काठमाडौं

यस वर्षको मनसुन अवधिमा नेपालभर औसतभन्दा बढी वर्षा हुने सरकारी निकायले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष मनसुनमा कम्तीमा २० लाख मानिस प्रत्यक्ष रुपमा प्रभावित हुने सम्भावना छ । मनसुनको समयमा मुुलुकका विभिन्न राजमार्गमा पहिरो जान सक्ने स्थानको पहिचान गरी पूर्वतयारी थालिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो वर्षको मनसुन अवधिमा पहिरो जान सक्ने राष्ट्रिय राजमार्गका विभिन्न स्थानहरुको पहिचान गरेको छ । मन्त्रालयका अनुसार देशभरका चार वटा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयमार्फत संकलन गरिएको विवरण अनुसार यसवर्षको मनसुन अवधिमा करिब ८ सय ६३ स्थानमा पहिरो जान सक्ने अनुमान गरिएको छ । सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिम प्रदेशका सडकमा पहिरो जान सक्ने बताइएको छ । कर्णाली र सुदूरपश्चिममा गरी ३ सय ७७ स्थानमा पहिरो जान सक्ने अनुमान गरीएको मन्त्रालयको भनाइ छ । र मनसुन अवधीमा यसरी जान सक्ने पहिरोबाट भने २ हजार ३ सय ५ किलोमिटर सडक मर्मत र पुनर्निर्माण गर्नुपर्ने अनुमानसमेत गरीएको छ् । त्यसैगरी कोशी प्रदेशअन्र्तगतका सडकमा भने ७४ स्थानमा पहिरो गई सडक अवरुद्ध हुन सक्ने देखिन्छ । बागमती र मधेश प्रदेशका सडकका विभिन्न ३ सय ५३ स्थानमा पहिरो जान सक्ने अनुमान छ । गण्डकी र लुम्बिनी प्रदेशमा पर्ने सडकका भने ५९ स्थानमा पहिरो जान सक्नेछन् । बर्षाको पूर्वतयारी स्वरुप अघिल्ला वर्षहरुमा पहिरो गएको स्थानको पहिचान र अन्य प्राविधिक अध्ययनमा आधारित भएर ती स्थानको अवस्था मूल्यांकन भएको मन्त्रालयको भनाइ छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भिमार्जुुन अधिकारीले भने, ‘सडक डिभिजन कार्यलयले आआफ्नो कार्य क्षेत्र अन्र्तगतको सडकहरुमा वर्षा सुरु हुनुभन्दा अगावै स्थलगत अनुगमन गर्ने र सम्भावित पहिरो जान सक्ने स्थानको पहिचान गरी सडकमा अवरोध नहोस् भन्ने उद्देश्यले तयारी अवस्थामा रहेर काम गरीरहेका छन् ।’

विपी राजमार्गलाई उच्च जोखिमयुक्त सडकको रुपमा पहिचान गरीएकोे छ् । अघिल्लो वर्ष गएको बाढीले अझै पुनस्र्थापना हुन नसकेको भन्दै विपी राजमार्गलाई उच्च जोखिमयुक्त सडकको रुपमा पहिचान गरिएको हो । सो राजमार्गको १८ स्थानमा पहिरो जान सक्ने अनुमान गरीएको छ् । त्यस्तै, अरनिको राजमार्ग अन्र्तगत पर्ने कोठे, जुरे, महाभिर, डाक्लाङ, झ्याले, कोदारी र लिपिङलगायत १२ ठाउँ पहिरोको उच्च जोखिममा रहेको राष्ट्रिय विपद्ध जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यसैगरी अर्कोतर्फ थानकोट चित्लाङ सडकको नौखडे, चन्द्रागिरि भञ्ज्याङ लगायतका स्थानमा पहिरोको जोखिम देखिएको पाईएको छ । यसैबीच कान्ति राजमार्गका ठिंगन, चपली, टारकुर्चे, नयाँगाउँ, तीनपाने लगायत ७ ठाउँमा पहिरोको उच्च जोखिम रहेको राष्ट्रिय विपद्ध जोखिम न्युनिकरण तथा व्यवस्थापन प्रधिकरणका प्रवक्ता रामबहादुुर केसीले बताए । उनले भने, ‘जोखिम्पुर्ण सडकहरुको अवस्था अध्ययन गरेर तत्कालै सडक खुलाउनका लागि आवश्यक उपकरणहरु र बेलीब्रिजलगायका सामाग्रिहरु तयारी अवस्थामा राखेका छौँ । ’

नेपालमा मनसुन सक्रिय भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार यो वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा बढी स्थानअनुुसार न्यूनतम ३५ देखि अधिकतम ६५ प्रतिशतभन्दा बढी वर्षा हुने आँकलन गरीएको छ । यो वर्ष सरदरभन्दा बढी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा वर्षा हुने अनुमान छ । त्यसैगरी कोशी र बागमती प्रदेशकामेत हिमाली क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने हँदा तराईका क्षेत्रमा डुबानको समस्यामा वृद्धि हुने आँकलन गरिएको छ । त्यसैले बर्खामा बाढी, पहिरो, डुबान लगायतका समस्याले राजमार्ग अवरुद्ध भएमा अवरोध हटाई यातायात सुचारु गर्नका लागी सडक विभागले २ सय ७७ वटा मेसिन सञ्चालनमा ल्याउने तयारी गरेको विभागका उप महानिर्देशक एवम् प्रवक्ता प्रभात कुमार झाले बताए ।

सडक विभागले मनसुनको समयमा चुस्तदुरुस्त राख्नुपर्ने सडक ७ हजार ५ सय ९१ दशमलव ५४ किलोमिटर छ । त्यसैगरी खटाइएको एउटा मेसिनको भागमा ४९ दशमलव २९ किलोमिटर लम्बाइको सडक पर्ने देखिन्छ । पूर्व तयारी भएपछि वर्षापछि आउने पहिरोबाट सडकलाई जोगाउन चुनौतीपूर्ण ठानिएको छ ।