लामखुट्टेको टोकाइ मानव स्वास्थ्यका लागि गम्भीर चुनौती बन्दै
- काठमाडौंतथ्याङ्कहरुका अनुसार विश्वमा ३ हजार भन्दा बढी प्रजातिका लामखुट्टे पाइन्छन् । मानिसको जीवनसँग प्रकृतिको यो जीव पनि अभिन्न रुपमा जोडिएको छ अर्थात् यसका कारण मानव समुदायलाई निकै पिरोलिरहेको छ । खासगरी यसको टोकाइले हुने संक्रमण र रोगले विश्वव्यापी रुपमै महामारी निम्त्याएका छन् । पछिल्लो समयमा हेर्ने हो भने डेंगी, मलेरिया, जापानीज इन्सेफ्लाइटिस जस्ता रोगले नेपालमा पनि स्वास्थ्य चुनौती बढाएको छ । ती रोग नियन्त्रणका लागि गरिएका पहल भने सार्थक हुन सकेका छैनन् ।
पछिल्लो समय लामखुट्टेको टोकाइबाट संक्रमण हुने रोगमध्ये सबैभन्दा धेरै चर्चा डेंगीको छ । डेंगी नियन्त्रणका लागी अन्य रोगका लागि भन्दा बढी रकम छुट्याईएको सरोकारवालाहरुले बताउदै आएका छन् । चिकित्सकहरुका अनुसार लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफ्लाइटिस, मलेरिया र हात्तीपाइले जस्ता रोग लाग्ने गरेको पाइएको छ ।
तीमध्ये क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट हात्तीपाइले र जापानिज इन्सेफ्लाइटिस, त्यसैगरी एनोफेलिस प्रजातिको लामखुट्टेको टोकाइबाट मलेरिया तथा औलो र एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगी संक्रमण हुने गरेका छन् । लामखुट्टेको टोकाइबाट लाग्ने यी र यस्ता संक्रामक रोगहरुले वर्षेनि विश्वव्यापी रुपमा ठुलो संख्यामा मानिसको ज्यान गएको विभिन्न अनुसन्धानले देखाएका छन् ।
नेपालमा पनि अहिले यीनै रोगको संक्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग र परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार नेपालमा जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट अघिल्लो वर्ष सन् २०२४ मा ८६ जना संक्रमित मध्ये २५ को मृत्यु भएको देखिन्छ् । त्यसैगरी सन् २०२३ मा सो रोगबाट १ सय ७ संक्रमित मध्ये ७ मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख गरीएको छ ।
चालु अर्थिक वर्षको पछिल्लो ३ महिनामा मात्रै जापानिज इन्सेफ्लाइटिसबाट ८ जनाको ज्यान गएको तथ्यांक छ । लामखुट्टेको टोकाइबाट लाग्ने रोगहरुका बारेमा जानकारी दिदै संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, ‘ लामखुट्टेको टोकाईबाट विभिन्न रोगहरु लाग्दै आएका छन् ।सरकारका तर्फबाट विभिन्न कामहरु भएतापनि प्रभावकारीता देखिएको छैन् ।, त्यसैले लामखुट्टेको टोकाईबाट लाग्ने विभिन्न संक्रामक रोगहरुलाई नजर अन्दाज गर्न मिल्दैन ।’
नेपालमा सबैभन्दा धेरै फैलिएको अर्को रोग हो डेंगी । लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगका कारण ज्यान जानेको संख्या पनि उत्तिकै छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीका अनुसार हालसम्म नेपालका ७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगी फैलिसकेको छ । हालको सिजन अर्थात भदौ र असोज महिना लामखुट्टे सबैभन्दा बढि सक्रिय हुने हुने गर्दछ । र, एडिस प्रजाति बढी फैलिने भएकाले डेंगी संक्रमणको बढि जोखिम हुने भएकाले सजकता अपनाउन महाशाखाले आग्रह गदै आएको छ । मलेरियाको जोखिम पनि हटिसकेको छैन ।
एनोफिल्स प्रजातिको लामखुट्टेको टोकाइबाट हुने यो रोग सन् २०२५ सम्म उन्मूलन गर्ने सरकारको लक्ष्य थियो । तर अझैपनि यो रोग नियन्त्रणमा आएको देखिँदैन । यो रोग अन्य मुलुकबाट नेपाल आएका मानिसबाट बढी सर्ने हुँदा न्युनिकरण सहज नभएको बताइन्छ । यसरी लामखुट्टेको टोकाईबाट विभिन्न रोग फैलिंदा नियन्त्रणका लागि भएका पहलबारे प्रश्न उठ्न थालेका छन् । यी रोग नियन्त्रणका लागि कस्तो पहल भइरहेको छ त ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘लामखुट्टेको टोकाइबाट बच्नका लागी सरकारले स्थानिय तहहरुसँग समन्वय गरेर विभिन्न कार्यहरु गर्दै आएको छ । नियन्त्रणका लागि अझैपनि सरकार तयारी गर्दैछ ।’
क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट हुने संक्रमणजन्य रोग हात्तीपाइले पनि अर्को चुनौति हो । विज्ञहरुका अनुसार यो रोग लागेमा खुट्टा सुन्निने लगायत समस्या आउने गर्दछन् । सन् २००३ देखि नै यसको औषधि सुरु गरीएको थियो तरपनि हालसम्म नेपालमा ४७ हजार भन्दा बढि बिरामी रहेको सरकारी तथ्याङ्क छ । हात्तिपाइले रोग तराई भेगमा बढि देखा पर्ने गरेको बताइन्छ । लामखुट्टेले टोकेको १५–२० वर्षपछि समेत हात्तिपाइले देखा पर्ने गरेको चिकित्सकहरुले बताएका छन् । तसर्थ लामखुट्टेको टोकाइबाट बच्नका लागी सर्तकता अपनाउन आवश्यक रहेको डा. पूनले बताए ।
लामखुट्टेको टोकाइबाट लाग्ने रोगले महामारीको रुप लिने सक्ने जोखिम बढ्दै जाँदा प्रभावकारी कदम चाल्नुपर्ने बेला भइसकेको छ । यस प्रकारका रोग नियन्त्रण र न्यूनिकरणमा संघ प्रदेश र स्थानीय तहले समन्वय गरेर काम गर्न जरुरी भएको विज्ञहरुले सुझाव दिएका छन् । त्यस्तै व्यक्ति स्वयम् पनि सचेत हुनुपर्नेछ ।