सत्ता स्वार्थले गुज्रीएको मधेशमा नाटकीय राजनीतिक घटना
- काठमाडौंमुख्यमन्त्री नियुक्तीको विवादले मधेश प्रदेशको राजनीतिमा गतिरोध निम्त्याएको छ । प्रदेश प्रमुखले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्दै होटलमा शपथ गराएपछि उत्पन्न विवादले मधेसमा प्रदेश प्रमुख र सभामुख नै पदमुक्त हुने अवस्था सृजना भएको छ । त्यस्तै, नवनियुक्त मुख्यमन्त्रीविरुद्ध परेको रिटको संवैधानिक परिक्षण भइरहेको छ । आखिर मुख्यमन्त्री नियुक्तिले निम्त्याएको विवाद र यसले पारेको असर के हो त ?
मधेसको सत्ता राजनीतिको पछिल्लो शृङखला गत भदौ २४ गतेबाट प्रारम्भ भएको थियो । जेनजी आन्दोलनका क्रममा भएको विध्वंशपछि सतिशकुमार सिंहले मुख्यमन्त्रीबाट राजिनामा दिएको घोषणा फेसबुकमार्फत् गरेका थिए । त्यसलगत्तै उनको दल जनमत पार्टीले औपचारिक रुपमा राजिनामा दिन दवाव दिएको एक महिनापछि सिंहले पद त्याग मात्र गरेनन्, जनमत पार्टी समेत विभाजित भएर जनस्वराज पार्टी जन्मियो । त्यसको भोलिपल्ट नयाँ मुख्यमन्त्रीका लागि दुई समूहको तर्फबाट दावी पेश भएकोमा लोकतान्त्रिक समाजवादी पार्टीका जितेन्द्र सोनल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
संवैधानिक प्रावधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो र सोनल त्यसका लागि तयार भएका थिए । तर माओवादी केन्द्र र जनमत पार्टीभित्रको विवादका कारण विश्वासको मत नपाउने भएपछि सोनलले मुख्यमन्त्रीबाट राजिनामा दिए । त्यसपश्चात् मधेसको राजनीतिमा नाटकीय घटनाक्रम देखिन थाल्यो । ठूलो दलको हैसियतामा एमालेका नेतालाई मुख्यमन्त्री बनाउन लागिएको आशंकासहित अन्य दलले विरोध जनाएपछि प्रदेश प्रमुखको कार्यालयमा तनाव उत्पन्न भयो । त्यही क्रममा तत्कालिन प्रदेश प्रमुख सुमित्रा भण्डारीले महोत्तरीको एक होटलमा बोलाएर कात्तिक २४ गते एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्दै शपथ गराएपछि दलहरुवीच व्यापक धुव्रिकरण सृजना गरेको हो । प्रदेश प्रमुखबाट भएको गतिविधिका कारण संघीयताको मर्ममाथि नै प्रहार भएको कतिपयले टिप्पणी गरेका छन् ।
तत्कालीन प्रमुख भण्डारीले सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतलाई आधार मानेर यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । होटलमा मुख्यमन्त्री नियुक्त गरेर सपथ खुवाएको विषयमा चर्को आलोचना भएपछि भण्डारी कात्तिक २५ गते आँफै पदमुक्त भइन् । सरकारले भण्डारीलाई हटाएर सुरेन्द्र लाभलाई कात्तिक २६ मा प्रदेश प्रमुख नियुक्त ग¥यो भने मुख्यमन्त्री नियुक्ति विरुद्ध अन्य दल अदालततिर लागे । मुख्यमन्त्री नियुक्तिको विवादले प्रदेश प्रमुख गुमाएको एमालेलाई अर्को धक्का सभामुखलाई हटाउने अन्य दलको कदमबाट लाग्न पुगेको छ । पद अनुसार काम नगरेको भन्दै दलहरुको प्रस्ताव अनुसार सभामुखबाट रामचन्द्र मण्डल पदमुक्त भएपछि नयाँ सभामुख अझै चयन हुन सकेको छैन । आफूविरुद्धको प्रस्ताव असफल बनाउन मण्डलले ५ सांसदलाई हटाएपनि त्यसले सार्थकता पाउन सकेन । बरु उल्टै अन्य दलको प्रस्ताव अनुसार प्रदेशसभाले मण्डललाई पदमुक्त ग¥यो । मधेसको सत्ता राजनीतिमा एमालेविरुद्धको मोर्चावन्दीको नेतृत्व कंग्रेसले गरिरहेको छ ।
सभामुखको पदबाट हट्नुअघि मण्डलले कात्तिक २७ गते पदमुक्त गरेका ५ सांसद उर्मिला देवी सिंह, मनिष कुमार सुमन,संजय कुमार यादव, सिंहासन साह कलवार र सारदा संकर प्रसाद कलवारलाई तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालिन आदेश दिएपछि उनीहरुको पदले निरन्तरता पाएको छ । त्यस्तै, मुख्यमन्त्री यादवविरुद्ध परेको रिट अहिले सर्वोच्च अदालतमा विचाराधिन छ भने दीर्घकालिन निर्णय नगर्न आदेश भइसकेको छ । यता मुख्यमन्त्री यादवले भने परिस्थिति अनुसार आफ्नो नियुक्ती भएको बताएका छन् । निवर्तमान मुख्यमन्त्रीले राजिनामा दिएपछि रिक्त स्थानमा आफ्नो नियुक्तिलाई परिस्थितिजन्य घटनाका रुपमा बुझ्नुपर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री नियुक्तिले जन्माएको आक्रोश र विवादका कारण उत्पन्न तनाव भने अदालतको आदेशपछि मत्थर बन्दै गएको छ । यही घटनाक्रमले एमालेलाई अप्ठ्यारो पारेको मात्र नभई मधेसको समग्र राजनीतिलाई नकारात्मक दिशातर्फ उन्मुख गराएको छ । आफूलाई संविधानको रक्षकको उपमा दिँदै आएका दलहरुको गतिविधिका कारण प्रदेशमा फेरि पनि अर्को द्वन्द्व हुने जोखिम निम्तिन सक्ने मधेशको राजनीतिलाई नजिकबाट नियालिरहेका विश्लेषक तुलानारायण साह बताउँछन् ।
मधेसको विद्रूप सत्ता राजनीतिले दलहरुप्रतिको आक्रोश र असन्तुष्टी मात्र बढाएको छैन, संविधानको मर्ममाथि समेत प्रहार गरेको छ । दलगत लाभ हानीका कारण संघीय प्रणालीलाई नै कमजोर बनाउने परिघटनाले निरन्तरता पाउनुलाई अस्वभाविक मानिएको छ । त्यसैले सत्ता राजनीतिका लागि चालिने गैरजिम्मेवार कदम छाडेर दलहरुले लोकतान्त्रिक अभ्यासको पालनालाई पहिलो सर्त बनाउनुपर्ने कतिपयको धारणा छ ।
नविन कोइरालाका अन्य लेखहरु पढ्न यहाँ क्लिक गर्नुहोस्