आगामी निर्वाचनमा बढी दलहरुबीच प्रतिस्पर्धा, पुरानै दललाई फाइदा हुने विश्लेषण
- काठमाडौंआगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको तयारी तीव्र रुपमा अघि बढाइएको छ । पुराना र नयाँ राजनीतिक दलहरुले निर्वाचनमा सहभागिता जनाउनको लागि समयसीमा भित्र दल दर्ता गरेका छन् । प्रतिनिधिसभा निर्वाचनको तयारीमा दल दर्ता गर्ने क्रम बढेको र आगामी चुनावी माहोलमा नयाँ उत्साह देखिएको छ । जेनजी आन्दोलनपछि नयाँ पार्टी दर्ता हुने क्रम बढेको छ भने पुराना दल पनि निर्वाचनमा होमिसकेका छन् । नयाँ र पुराना दल थपिने क्रम बढेसँगै आयोगमा समेत चाप बढेको छ ।
लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन भन्ने भनिन्छ । जेनजी विद्रोहपछि मुलुक फेरि नयाँ जनादेशका लागि होमिएको छ । पूर्व प्रधानन्यायाधीश सुशिला कार्की नेतृत्वमा गठन भएको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि मिति घोषण गरिसकेको छ । सोही अनुसार निर्वाचन आयोग र सम्बद्ध पक्ष चुनावको तयारीमा लागि सकेका छन् ।
निर्वाचनमा सहभागी दलको संख्यालाई हेर्दा नेपालमा २०१५ सालमा भएको पहिलो संसदीय चुनावमा नौ वटा राजनीतिक दल सहभागी भएका थिए । त्यसपछि २०४८ सालमा भएको आम निर्वाचनमा २०, २०५१ साल २४, २०५६ सालमा ३९ राजनीतिक दलहरुले भाग लिएका थिए । २०६४ सालको पहिलो संविधान सभामा ५४ र दोस्रो संविधानसभामा १ सय २२ दलबीच प्रतिस्पर्धा भएको थियो । संविधान जारी भएपछि २०७४ सालमा ९१ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा थिए भने २०७९ सालमा ६१ दलले भाग लिएका थिए ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि चुनावी प्रयोजनका लागि पछिल्लो विवरण अनुसार १ सय ८ दल दर्ता भइसकेका छन् । निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आइतबारसम्म तोकिएको अझ दलको संख्या बढ्ने देखिन्छ । निर्वाचनमा दलहरुको सहभागीता उत्साहजनक भएको आयोगका सूचना अधिकारी सुमन घिमिरे बताउँछन् । उनले भने, ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न समय अभाव भएकाले नयाँ दलले मान्यता पाउने क्रम बाँकी भएकाले मंसिर १४ सम्म समय थपिएको छ र निर्वाचनमा भाग लिने दलहरुको उत्साह राम्रा देखिएको छ ।’
पछिल्लो एक महिनामा २१ वटा नयाँ राजनीतिक दल थपिएका छन् । जेनजी आन्दोलनपछि नयाँ राजनीतिक दल नयाँ उत्साहका साथ निर्वाचनमा होमिने भएका छन् । व्यवसायी देखि कलाकार सम्म यो निर्वाचनमा भाग लिने भएका छन् । कलाकारहरुले सामाजिक परिवर्तन, जिम्मेवारी र लगायत कारण राजनीतिमा प्रवेश गरेको अभिव्यक्ति दिँदै आएका छन् ।
अभिनेत्री एलिजा गौतम जनादेश पार्टी नेपाल, अभिनेत्री एवम् कार्यक्रम प्रस्तोता रीमा विश्वकर्माे उज्यालो नेपाल पार्टीमा तथा अभिनेत्री निशा अधिकारी गतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन् । केही दिन अघि दल दर्ताका लागि आयोग परिसरमा बोल्दै गौतमले सुशासनको स्थापना, भ्रष्टाचारको अन्त्य, समृद्धि र विकासका लागि आफू राजनीतिमा आएको बताइन् । उनले भनिन्,‘राजनीति भन्दैमा लामो भाषण गरे भन्दा पनि आउने दिनमा काम गरेर बताउँछु ।’
नयाँ दलमा कलाकार मात्र नभएर व्यापारीदेखि पूर्वराजदूत, सामाजिक अभियन्ता, जेन–जी तथा पूर्वसांसद समेत छन् । व्यापारिक पृष्ठभूमिका बुद्ध एयरका सञ्चालक बिरेन्द्रबहादुर बस्नेतको पहलमा गतिशील लोकतान्त्रिक पार्टी दर्ता भएको छ । आफूलाई लोकतान्त्रिक धारमा आधारित र मुलुकलाई गति दिने उद्देश्यको पार्टी दर्तां भएको बस्नेतले प्रतिक्रिया दिए । उनले भने,‘समता मुलक र समृद्धि तथा सफलतामा परिणत गर्न दीर्घकालीन हिसाबमा आउने छौं ।’
निर्वाचनमा सहभागी हुने दलको संख्या बढ्नुलाई खासगरी दुई वटा कोणबाट हेरिएको छ । बढी भन्दा बढी दल सहभागी हुँदा लोकतान्त्रिक प्रतिस्पर्धालाई अझ फराकिलो बनाउन मद्धत गर्नेछ भने धेरै दलबीचको प्रतिस्पर्धाका कारण परम्परागत र पुराना भनिने दलले नै फाइदा लिन सक्ने विश्लेषण भएका छन् ।
बढी दल दर्ता हुँदैमा प्रजातन्त्र वा लोकतन्त्र बलियो बन्ने भन्ने आधार नभएको पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको भनाई छ । मतदाताहरुले राजनीतिक संस्कारलाई मानेर अगाडी बढेपनि दलहरुले सो अनुरुप गर्न नसकेको उप्रेतीको टिप्पणी छ । उनले भने, ‘दल हुनुपर्ने भएपनि दर्शन नमिल्ने दलहरु गठबन्धन गर्ने र अन्त्यमा मतदातालाई झुक्याउने प्रवृत्ति रहेको छ ।, यसलाई लोकतान्त्रि भन्न मिल्दैंन ।’
धेरै दल दर्ता हुनु फलदायी नभएको टिप्पणी गरिएपनि कतिपयले भने दलहरुको संख्या बढ्दा निर्वाचनको वातावरण बनाउन समेत सहयोग गरेको छ । बढी दलबीच प्रतिस्पर्धाबाट दल विशेषको बहुमत नआएपनि वैचारिक आधारमा गठबन्धन गरे स्थायी सरकार बन्ने सम्भावना रहेको कतिपय विश्लेषक बताउँछन् ।
राजनीति शास्त्रका प्राध्यपक कृष्ण पोखरेलले भने, ‘जनतामा राजनीति प्रति चेतना हुनु वा राजनीति प्रक्रियामा सामेल हुनु राम्रो हो ।, छनौट भएका बाहेक अन्य भने क्रमश किनार लागेर जान्छन् । र, निषेध निर्वाचन प्रणालीले सामन्यतया स्पष्ट बहुमत आउँदैन । स्पष्ट वैचारिक गठबन्ध बनाए स्थायी सरकार बन्न सक्छ ।’
जेन–जी विद्रोहपछि राजनीतिक दल खुल्ने क्रम बढ्नुलाई सकारात्मक रुपमा हेरिएको छ । कतिपय दलहरुबीच चुनावी गठबन्धन हुन सक्ने देखिँदैछ भनेसंयुक्त चुनाव चिन्हमा प्रतिस्पर्धा गर्ने तयारीमा समेत दलहरु छन् । दलीय प्रतिस्पर्धाले लोकतन्त्रलाई अझ सुदृढ गर्न सक्ने भएपनि चुनावका लागि मात्र दल खोल्ने होडवाजीलाई भने त्यति स्वभाविक रुपमा हेरिएको छैन ।