विश्लेषण

एकता घोषणा हुने गरिको तयारी भइरहेको राप्रपा नेताहरुको दाबी

- श्रीकृष्ण न्यौपाने

काठमाडौँ । जेनजी आन्दोलनपछि विभिन्न दलहरुबीचको ध्रुवीकरण तीब्र बन्दै गएको छ । परिवर्तित राजनीतिमा अस्तित्व रक्षाका लागि दलहरुबीच एकीकरणको अभियान चलेको हो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका केही दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । आफूलाई वैकल्पिक ठान्ने रास्वपा र विवेकशील साझा पार्टीले पनि केही दिन अघि एकता गरेका छन् । सुशासन र लोकतान्त्रिक अभ्यास सुदृढ पार्ने भन्दै कतिपय दलहरु एउटै मोर्चामा उभिन थालेका बेला राजावादी दलहरू पनि मिल्ने चरणमा पुगेको बताउन थालेका छन् । पटक–पटक जुट्दै फुट्दै आएका पूर्व पञ्चहरु यसपटक भने नफुट्ने गरि मिल्न लागेको बताउन थालेका छन् । पार्टी फुटाउन कीर्तिमानी बनाएको आरोप खेप्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब हुने एकता कहिल्यै पनि नटुट्ने दाबी गरेका छन् । यस्तै दाबी उनले २०७६ सालको फागुन २८ गते राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा कार्यक्रममा पनि गरेका थिए । त्यतिबेला थापाले हिन्दू धार्मिक ग्रन्थ गीता हातमा लिएरै पार्टी नफुटाउने कसम खाएका थिए । तर यस्तो कसम खाएको दुई वर्ष नपुग्दै थापाले पार्टी फुटाएका कारण उनीमाथि भरोसा गर्न नसकिने कतिपयको भनाइ छ ।

तर यसपटक भने थापा सोचेजस्तो संगठन विस्तार र जनमत बलियो बनाउन नसकेकोमा पार्टी एकताका लागि विलम्ब गर्न नहुने भन्दै यसअघि भएका कमजोरीमा एक अर्काविरुद्ध आरोप–प्रत्यारोप गर्नुभन्दा पनि समयको मागअनुसार अब एक हुनुपर्ने बताउँछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि आफ्नै घर फर्किने भन्दै राप्रपा नेपाल ब्यूँताएका थापा पार्टी छोडेकोमा प्रायश्चित गर्न थालेका छन् । थापाले यसअघि भएका गल्तिबाट पाठ सिकेको भन्दै अब त्यस्तो नदोहरिने दाबी गरे ।

हिन्दु धर्म र राजसंस्थाका लागि राप्रपा, राप्रपा नेपालसहित केही समूह र अभियानले केही वर्ष यता छुट्टा–छुट्टै गतिविधि गर्दै आइरहेका छन् । एउटै मुद्दाका लागि यति धेरै दल र समूह ‘इन्गेज’ हुँदा जनमत बाडिएको भन्दै साझा नेतृत्वको बहस पनि तिब्र हुन थालेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन यही भावनालाई सम्बोधन गर्न राजावादी शक्तिहरुलाई तत्काल एक ठाँउमा ल्याउन आफू लागिरहेको बताउँछन् ।

कसैले संवैधानिक राजतन्त्रलाई मूल मन्त्र मानेका छन् भने कसैले पूर्ण राजतन्त्रको वकालत गरेका छन् । यही प्राविधिक विषयलाई आफ्नो हठ बनाएकैले यसअघिका एकता नटिकेको प्रष्टै छ । राजावादीहरुको सिद्धान्त र विचार भनेकै गणतन्त्रको अस्वीकार्यता नै हो तर नेताहरुको अहमतालाई लेपन लगाउन उनीहरुले विचार र सिद्धान्त फरक भएको तर्क भने गर्न छाडेका छैनन् । यस्तो अवस्थामा राजावादी दलहरुलाई एक ठाउँमा ल्याउन तपाईको भूमिका के हुन्छ भनेर सोधेको प्रश्नमा लिङदेनले भने, “अबको केही दिनमा राप्रपा नेपाल मात्र होइन अन्य समूह र संगठनलाई पनि एक ठाँउमा ल्याउने गरिको काम गरिरहेको छु ।”

बदलिँदो राजनीतिमा जनमतको रुचि युवा पुस्ताको अपेक्षा र राष्ट्रिय एजेण्डाको नयाँ प्राथमिकतालाई बुझ्न नसक्दा राजावादी दलहरु एकै धारमा उभिन नसकेको कतिपय विश्लेषकहरुको बुझाई छ । नेतृत्वको शैली, संगठन विस्तारको तरिका र आन्दोलनको स्वरूप, यी सबै पक्षमा देखिएका अन्तर–विरोधले पनि उनीहरु मिल्न सक्ने स्पष्ट आधार भने अझै तयार भइनसकेको कतिपयको बुझाई छ । राप्रपाका पुराना नेता केशरबहादुर बिष्ट एजेण्डामा इमान्दार बन्ने हो भने आफूले पनि साथ दिने बताउँछन् ।

सतहमा एकता र एकीकरण सुनिएपनि सारमा भने राजावादी दलमा रहेका पुराना र स्थापित नेताबीचको पुरानै प्रतिस्पर्धा, पारस्परिक अविश्वास र आफ्नो–आफ्नै वर्चस्व स्थापित गर्ने मनोविज्ञानले एकताको दिर्घायु कमजोर बन्ने गरेको स्वयम् कार्यकर्ता सुनाउँछन् । उनीहरुबीच दलीय संगठनलाई जोड्नेभन्दा पनि नेतृत्वमा को रहने भन्ने विषय नै मुख्य चुनौतिका रुपमा देखापर्दा एकताको भविष्य दिगो नभएको उनीहरुको बुझाई छ । राप्रपाका युवा नेता अनिता बिमली कार्यकर्ताको तहमा एकताको कुरा सुन्दा मिठो लागेपनि पदीय बाँडफाँट र नेतृत्वको अहमताका कारण दिगो नभएको बताउँछिन् ।

गणतन्त्रवादी तथा वैकल्पिक दलहरू समान मुद्दा र साझा उद्देश्यमा अघि बढिरहदा राजावादी दलहरू भने पुरातन संरचना, उस्तै कार्यशैली र कार्ययोजना बोकेर भन्दा पनि नविन सोचलाई जोडेर त्यही अनुरुपको नेतृत्व निर्माणमा लाग्नुपर्ने कतिपयको सुझाव छ । राजनीतिक दृष्टि, नेतृत्वको रणनीति र भविष्यको स्वरूपबारे स्पष्ट नभएसम्म गरिने जुन सुकै दलका एकता पनि दिगो नहुने निश्चितै छ ।