विश्लेषण

जाडोयामसँगै देशका विभिन्न भागमा वायु प्रदूषण बढ्दो/सचेत रहन विज्ञहरुको सुझाव

- दिपशीखा रेग्मी काठमाडौं

जाडो महिना लागेसँगै फेरि वायु प्रदूषणले नेपालमा पनि असर पार्न थालेको छ । वायुको गुणस्तर पनि दिनानुदिन अस्वस्थकर स्तरमा पुग्दै गएको विज्ञहरुले बताएका छन् । वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले सचेत हुनुपर्ने देखिएको छ ।

वायुको गुणस्तर १ सय १ भन्दा माथि गएमा मानव स्वास्थ्यका हिसाबले हानिकारक मानिन्छ । एक्यूआई ० देखि ५० देखिएमा त्यसलाई सामान्य अथवा राम्रो अवस्था मानिन्छ भने ५१ देखि १ सयसम्मलाई मध्यम मानिन्छ । त्यसैगरी १ सय १ देखि १ सय ५० एक्यूआईलाई संवेदनशील समूहका लागि अस्वस्थ मानिने विज्ञहरुको भनाइ छ । एक्यूआई १ सय ५१ देखि २ सय सबैका लागि अस्वस्थ र २ सय १ देखि ३ सय धेरै अस्वस्थ तथा ३ सय १ देखि ४ सय पुगेमा खतरनाक अवस्था मानिनेछ । यसैगरी ४ सय १ देखि ५ सयलाई भने धेरै खतरनाक अवस्थामा गनिने गरीएको छ ।

काठमाडौँ उपत्यकाका लागि केही वर्षअघि बनाइएको वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामा निर्धारण गरिए अनुसार वायुको गुणस्तर सूचकाङकको मान ३ सय भन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने बताईएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले देशभर २८ वटा स्टेशनबाट रियल टाइम तथ्यांक दिने वायुको गुणस्तर सूचकाङक एक्युआई मापन गर्दै आएको छ । पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै दाङको देउखुरी स्टेशनमा १ सय ६४ एक्यूआई देखिएको थियो ।

दोस्रो नम्वरमा भक्तपुर स्टेशनमा १ सय ५८ एक्यूआई तथा काठमाडौँको शंखपार्क स्टेशनमा १ सय ५७ एक्यूआई सम्म पुगेको थियो । पछिल्लो समय देखिएको वायु प्रदुषणको अवस्थाबारे वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले भने, पछिल्लो समय बढ्दै गएको उद्योग कलकारखाना, सवारी साधनको बढ्दो चापले वायु प्रदुषण निम्तने गर्दछ । यद्यपी, सरकारी तवरबाट यसलाई न्युनिकरण गर्ने प्रयास भने भईरहेको छ ।

वातावरण विभागद्धारा स्थापित स्टेशनबाट रियल टाइम डेटा दिने वायुको गुणस्तर सूचकाङक एक्युआई अनुसार पछिल्लो पटक सबैभन्दा थोरै मुस्ताङमा ३४ एक्यूआई मापन गरिएको थियो । स्टेशनमा जडान गरिएका उपकरणले स्वचालित ढंगले हावामा रहेका धुलोका कणका मात्रालाई मापन गर्छ । विभागका अनुसार केही स्टेसनमा कार्बन मोनो अक्साइड र ओजन जस्ता ग्यासको पारामिटर मापन गर्ने उपकरण समेत जडान गरिएको विभागले जनाएको छ ।

हावामा देखिने धुलोका कणले मानिसको फोक्सोमा सजिलै प्रवेश गर्ने र श्वासप्रश्वास सम्बन्धी विभिन्न रोग निम्त्याउन सक्ने विज्ञहरुको भनाई छ । घरभित्र र घरबाहिरको वायु प्रदूषणका कारण संसारभर वर्षेनि ७० लाखभन्दा बढी मानिसले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । जाडो यामको समयमा पुस र माघ महिनामा कम वर्षा र न्यून तापक्रमका कारण पनि प्रदूषण बढ्ने गरेको देखिन्छ ।

हिउँदयाममा वायु प्रदूषण के कारणले हुने गर्दछ् भन्ने प्रश्नमा जल तथा मौसम पुर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले भने, जाडोयाममा वायुमण्डल स्थिर अवस्थामा रहने भएकाले हावा पनि नचल्ने, घाम पनि राम्रोसँग नलाग्ने, र वर्षा समेत नहुने हुदाँ प्रदुषणको दर बढ्ने गर्दछ् ।

नेपाल अहिले वायु प्रदूषण बढी हुने देशमध्ये एक हो । प्रदूषणको प्रभाव विस्तार भइरहँदा विभिन्न स्वास्थ्य समस्या बढ्दैछन् । नसर्ने रोग फैलनुमा पनि प्रदूषणको असर कारक पक्ष हो । प्रदूषण बढि भएका ठाउँमा साधारणतया मानिस हिँडडुल गर्दा पनि आँखा पिरो हुने, नाक पोल्ने, वाकवाकी लाग्ने, रिँगटा लाग्ने, श्वासप्रश्वासमा असहजता हुने जस्ता लक्षणहरू देखा पर्ने गरेको विज्ञहरुले बताए ।

काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, वायु प्रदूषणको प्रमुख असर भनेको मानिसको स्वास्थ्यमा एकपछि अर्को असर गर्दै जानु हो । यसले श्वासप्रश्वाससम्बन्धी रोग जस्तै दम, एलर्जी, सिओपिडी फोक्सो क्यान्सर, मुटु तथा रक्तसञ्चार प्रणाली र प्रजनन स्वास्थ्यसम्बन्धी असर पर्ने गर्दछ ।

प्राकृतिक र मानवीय कारणले गर्दा काठमाडौँ उपत्यकामा वायु प्रदूषणको असर अन्य सहरभन्दा बढी छ । सडकबाट निस्किने धुलो, सवारी साधनबाट आउने धुवाँ लगायतले प्रदूषण बढाउदै लगेकाले यसबाट जोगिन व्यक्ति स्वयम्ले सावधानी अपनाउनुपर्ने देखिन्छ भने वायु प्रदूषण रोक्नका लागि आवश्यक पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको सुझाव छ ।