विश्लेषण

निर्वाचन आचारसंहिता तयार

- पुजनी श्रेष्ठकाठमाडौं

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ स्वीकृत गरेको छ । सो आचारसंहिता आयोगको निर्णय अनुसार लागू हुनेछ ।

आचारसंहितामा चुनावको अवधिमा आर्टिफिसियल इन्टेलिजेसन अर्थात् एआई र सामाजिक सञ्जालको प्रयोगका सन्दर्भमा समेत विभिन्न प्रावधान राखिएको छ ।

त्यस्तै, दल वा उम्मेदवारले चुनाव प्रचार प्रसारका क्रममा बढीमा १० वटा राष्ट्रिय झन्डा मात्र प्रयोग गर्न पाउनेछन् ।

निर्वाचनमा कुनै पनि धर्मको नाममा प्रचार प्रसार गर्न आचारसंहिताले रोक लगाएको छ । आचारसंहिताका मुख्य प्रावधान समेटेर तयार पारिएको एक सामाग्री

स्वच्छ, निष्पक्ष, पारदर्शी, भयमुक्त तथा मितव्ययी रुपमा चुनाव गर्नका लागि आयोगले निर्वाचन आचारसंहितालाई अन्तिम रुप दिएको हो ।

आचारसंहितालाई संवैधानिक निकाय, सरकार र सरकारका मन्त्रीदेखि तीन तहका राजनीतिक नेतृत्व र कर्मचारी, राजनीतिक दल, सार्वजनिक पद धारण गरेको व्यक्ति, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, विकास साझेदार संस्था लगायतले पालना गर्नुपर्नेछ ।

आचारसंहितामा चुनावी प्रचारमा सामाजिक सञ्जालको प्रयोगसम्बन्धी दायरा फराकिलो पारिएको, हरित निर्वाचन सम्बन्धी व्यवस्था गरिएको आयोगको भनाइ छ ।

निर्वाचनको प्रक्रियालाई प्रतिकूल प्रभाव पार्नेगरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचार–प्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने व्यवस्था राखिएको छ ।

सामाजिक सञ्जालमा गलत र भ्रामक सूचना प्रवाह गर्न, गराउन वा झुटा साइट, एकाउण्ट संचालन गर्न वा गराउन नहुनुका अतिरिक्त कसैको चरित्र हत्या हुनेगरी व्यक्तिगत लाञ्छना या मानहानि हुने प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न, प्रकाशन वा प्रसारण गर्न निषेध गरिएको छ ।

आर्टिफिसियल इन्टिलिजेन्स एआइको प्रयोग गरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, द्धेषपूर्ण भाषण अर्थात् हेट स्पिच जस्ता कार्य गर्न नहुने बिषय पनि आचारसंहितामा समेटिएका छन् ।

कुनै राजनीतिक दल वा उम्मेदवारले आफ्नो निजी वा आधिकारिक पेजमा आफ्नो सिद्धान्त, विचार, प्रतिवद्धता र कार्ययोजना राखी प्रचार–प्रसार गर्न सकिने हुँदा सामाजिक सञ्जालको उपयोगलाई मर्यादित र व्यवस्थित ढंगले परिचालन गर्न आयोग आग्रह गरेको छ ।

आचारसंहिताले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो, स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क, लकेट वा झोला जस्ता सांकेतिक सामग्री लगाउन वा बोक्न नहुने व्यवस्था गरेकाले यसतर्फ सचेत हुन आयोगले भनेको छ ।

राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला एवं निर्वाचन प्रचार–प्रसारसम्बन्धी कार्य गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने, जुलुस वा आमसभामा भाग लिने वा प्रचार–प्रसार गर्ने व्यक्तिले सोको पालना गर्न भनिएको छ ।

उम्मेदवारको मनोनयन पत्र पेश गर्न जाँदा वा प्रचारका लागि घरदैलो कार्यक्रम गर्दा २५ जना भन्दा बढीको जुलुश लिएर जान नहुने तथा बाजागाजा र झाँकीसहित प्रचार गर्न नपाइने प्रावधान छ ।

त्यस्तै, सवारीसाधन प्रयोग गर्दा सोही बमोजिमको आकार र संख्याको दलको झण्डा र चुनाव चिन्ह मात्र प्रयोग गर्न आयोगले अनुरोध गरेको छ ।

आचारसंहिता उल्लंघन गरेको खण्डमा उल्लंघनको प्रकृति र स्वरुप हेरी सचेत गराउने, सूचना सार्वजनिक गर्ने, कानूनतः जरिवाना वा दण्ड सजायलाई कार्यान्वयन गर्ने तथा उम्मेदवारको उम्मेदवारी रद्ध हुनेसम्मको कानूनी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने आयोगले जनाएको छ ।

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सोको श्रोत समेत खुलाउनु पर्ने, उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा, बैंक तथा वित्तिय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने तथा उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवारी पदाधिकारी तोक्न आयोगले भनेको छ ।

मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनितिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन ।

सरोकारवालासँगको समन्वय र सहजीकरणलाई व्यवस्थित गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न आचारसंहिताको अनुगमनलाई आयोगले प्राथमिकतामा राखेको छ ।

यसका लागि केन्द्रदेखि जिल्ला तहसम्म विभिन्न अनुगमन संरचना तथा संयन्त्रहरु क्रियाशील रहने छन् ।

निर्वाचन आचारसंहिताको पूर्णपालना गरि निर्वाचनलाई विश्वसनीय बनाउनुका साथै खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई नैतिकता र इमान्दारिताको अभ्यास, स्वनियन्त्रण पद्धतिको अनुसरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने विषयमा साझा संकल्प र इमान्दार प्रयत्न आवश्यक रहने आयोगको भनाई छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बाताबरणमा सम्पन्न गरी नागरिकलाई मताधिकारको निर्वाध उपयोग गर्ने अवसर सिर्जना गर्ने तथा निर्वाचनमार्फत् लोकतन्त्रको सुदृढीकरण र सुशासन प्रवर्धनमा योगदान पुयाउनेतर्फ आयोगले सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।