आगामी निर्वाचनको माहोल बढ्दै, ८ वटा दल नयाँ स्वरुप र संरचनासहित चुनावी तयारीमा
- काठमाडौंफागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनको माहोल शुरु भइसकेको छ । निर्वाचन आयोगले चरणवद्ध रुपमा चुनावी तयारीलाई अघि बढाएको छ भने समानुपातिकको बन्दसूची बुझाएका दलहरुभित्र प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस हुन थालेका छन् ।
जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमसँगै तय भएको निर्वाचनमा दलहरुको प्रतिस्पर्धा रोचक बन्ने संकेत देखिदैछन् । यसैक्रममा २०७९ सालको निर्वाचनबाट संसदमा प्रतिनिधित्व गरेका १२ दलमध्ये ८ वटा दल यो पटक भिन्न स्वरुप र संरचनासहित चुनावमा सहभागी हुन लागेका छन् ।
२०७९ को निर्वाचनमा ३२ सिटसहित तेस्रो भएको माओवादी केन्द्र र १० सिटसहित सातौं स्थानमा रहेको एकीकृत समाजवादी आगामी निर्वाचनमा भने नयाँ स्वरुप र संगठनसहित चुनावी प्रतिस्पर्धा गर्दैछन् अर्थात् ती दुई दल समेत मिलेर बनेको नेपाली कम्युनिष्ट पाटी फरक संरचना अगाँल्दै प्रतिनिधिसभा निर्वाचनमा होमिने तरखरमा छ । विचार मिल्ने दलहरु एक ठाउँमा उभिनु सकारात्मक भएको र त्यसै अनुसार चुनावमा जान लागेको नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नी सापकोटाको भनाइ छ ।
अघिल्लो चुनावमा चौथो शक्ति बनेर राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पनि भिन्न परिवेश र एकीकरणपछि चुनावमा होमिएको छ । २०७९ को चुनावमा २१ सिट जितेको रास्वपाले विवेकशील साझा पार्टीसँग एकता गरेको केही सातापछि काठमाडौंका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीसँग एकीकरण गर्दै बलियो वैकल्पिक शक्ति बनाउने अभियानलाई अघि बढाएको छ ।
सहकारी ठगी मुद्धामा धरौटीमा रिहा भएपछि रास्वपा सभापति रवि लामिछानेले पार्टी एकीकरणसहितका गतिविधिलाई तीव्रता दिएका छन् । यसैक्रममा चितवनमा आयोजित कार्यक्रममा लामिछानेले भनेका छन् ।
त्यसो त निर्वाचनमा कम्युनिष्टदेखि राजावादी र मधेशकेन्द्रीत कतिपय दलहरु नयाँ स्वरुपमा चुनाव लड्दैछन् । अघिल्लो पटक १४ सिट जितेर पाँचौं भएको राप्रपाले केही दिनअघि राप्रपा नेपालसँग एकता गरिसकेको छ । विचार र सिद्धान्त मिल्ने दलहरुबीच मिलेर अघि बढ्नु स्वभाविक भएको नेता सगुन लावतीको भनाइ छ ।
मधेश केन्द्रीत दलहरु समेत निर्वाचन नजिकिएसँगै फेरि मिलेर जाने तयारीमा लागेका छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपाले पार्टी एकताको सहमति गरेका छन् ।
त्यस्तै, अशोक राई नेतृत्वको जसपाबाट असन्तुष्ट नेताहरु उपेन्द्र यादवको पार्टीमा समाहित भएका छन् । उता, राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) भने रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपाल र राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीसँग चुनावी गठबन्धनमा सामेल भएको छ ।
चुनावी एकीकरणलाई अन्यथा लिन नमिल्ने नेतृ रञ्जु झाले बताइन् । २०७९ को चुनावमा क्षेत्रीय दलको रुपमा उदाएको नागरिक उन्मुक्ति पार्टी अहिले आएर छिन्नभिन्न भएको हो ।
पार्टी विभाजनपछि रेशम चौधरी संरक्षक रहेको एउटा पार्टी र रञ्जीता श्रेष्ठ नेतृत्वको अर्को पार्टी अस्तित्वमा आएका थिए । तर नागरिक उन्मुक्ति पार्टी नाउपाले नेपाली कम्युनिष्ट पार्टी नेकपासँग १० बुँदे हस्ताक्षर गर्दै एकता गरिसकेको छ । नाउपा नेपालका संरक्षक चौधरी नीति सिद्धान्त तिलाञ्जली दिएर पार्टीहरु एक हुने विधि ठिक नभएको बताउँछन् ।
मधेशको बैकल्पिक शक्ति बनेर २०७९ मा उदाएको सिके राउत नेतृत्वको जनमत पार्टी पनि विभाजनबाट मुक्त हुन सकेन । डा.शरदसिंह यादवसहितका नेताहरुले जनअधिकार पार्टी खोलेका छन् । अरु दलले मधेशका मुद्दा उपयुक्त स्थानमा पु¥याउन नसकेपछि वैकल्पिक शक्तिका रुपमा आफ्नो दल आएको यादवको दाबी छ ।
दलहरुबीचमा वैचारिक दृष्टिकोणभन्दा समेत तत्कालको परिस्थितिबाट फाइदा लिने अभिप्रायका साथ विभाजन र एकताका घटनाक्रम देखिएको कतिपयको बुझाइ छ । जेनजी आन्दोलनको पृष्ठभूमिमा दलहरुभित्र रुपान्तरण र पुस्तान्तरणको अपेक्षा भएपनि एक–अर्कासँग मिल्ने प्रवृत्ति देखिएको हो । नयाँ भनिएका दल समेत विचार र एजेन्डाको कमजोर भएकाले संगठनको बलमा नभई अंक गणितको बलमा मिल्न थालेको विश्लेषक केशव दाहालको भनाइ छ ।
दलहरु मिल्नु र विभाजित हुनु नेपाली राजनीतिको नियमित चक्र जस्तै बनिरहेको छ र आगामी निर्वाचनको सन्दर्भमा त्यसले फेरि निरन्तरता पाएको छ । चुनावमा दलहरु मिलेर जानु स्वभाविक भएको पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको भनाइ छ ।
अघिल्लो चुनावबाट पहिलो शक्ति बनेको कंग्रेस र दोस्रो स्थानको एमालेले भने अहिलेसम्म कुनै दलसँग चुनावी तालमेल वा गठबन्धन गर्ने ठोस निर्णय गरिसकेका छैनन् । त्यस्तै, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा पनि एक्लाएक्लै चुनाव लड्ने तयारीमा छन् ।