विश्लेषण

भेनेजुएलाको स्रोतमा ट्रम्पको नजर

- सुनिता लोहनी

काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्षको दोस्रो दिन जनवरी २ शुक्रबार राती ११ बजेर ४६ मिनेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला विरुद्ध सैन्य आक्रमणका लागि आदेश दिए । सोही राती २ बजेर १ मिनेटमा अर्थात् भोलिपल्ट जनवरी ३ मा अमेरिकी फौजले भेनेजुएला र तत्कालीन राष्ट्रपति निकोलस मदुरोको निवासमा आक्रमण गर्यो । बिहान ३ बजे मदुरोले राष्ट्रिय संकटकाल घोषणा गरे । ४ बजेर २९ मिनेटमा मदुरो, उनकी पत्नी, छोरा र अन्य तीन जनालाई अमेरिकी फौजले कब्जा गरी भेनेजुएलाबाट बाहिर लग्यो । त्यसबेला उनको आँखामा कालोपट्टी बाँधिएको थियो भने हातमा हथकडी । खरानी रङको ट्याकसुटमा उनी हेलिकप्टरमा राखिएको तस्विर सार्वजनिक भएदेखि भाइरल छ । बिहान ५ बजेर २१ मिनेटमा ट्रम्पले आफ्नो सामाजिक ट्रुथमा पोस्ट गर्दै मदुरोलाई कब्जा गरेको उल्लेख गरे । ६ बजे बिहान भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रपति मदुरोलाई अमेरिकाले गरेको कब्जाबारे जानकारी गराइन् । बिहान ९ बजेर १ मिनेट जाँदा भेनेजुएलका आन्तरिक मन्त्रीले जनतालाई शान्त रहन आग्रह गरे । बिहान १० बजे फक्स न्यूजलाई अन्तर्वार्ता दिँदै ट्रम्पले मदुरो जहाजबाट न्यूयोर्क आउँदै गरेको बताए । बिहान ११ बजेर ७ मिनेटमा अमेरिकी महान्यायाधिवक्ताले मदुरोको आरोपपत्र सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरे । मध्यान्ह १२ बजेर ३८ मिनेटमा ट्रम्पले राष्ट्रको नाममा सम्बोधन गर्दै भेनेजुएलामा सैन्य कारबाही गरेको जानकारी दिए । दिउँसो २ बजेर ५८ मिनेटमा नवनियुक्त मेयर जोहरान मम्दानीले भेनेजुएलामा भएको सैन्य कारबाहीको सामाजिक सञ्जाल मार्फत् भत्र्सना गरे । अपरान्ह साढे ४ बजे मदुरो सवार जहाज न्यूयोर्क आइपुग्यो । त्यसपछि ७ बजे हेलिकप्टरमा राखेर उनी र पत्नीलाई म्यानहट्टन पु¥याइयो । त्यसपछि उनीहरुलाई राती ८ बजे हिरासत केन्द्रमा पठाइयो । राती ९ बजे उनीहरु न्यूयोर्कको हिरासत केन्द्रमा आइपुगे । सुन्दा कुनै चलचित्रको दृश्य झैँ लाग्ने गरी रातारात यसरी २४ घण्टाभन्दा पनि कम समयमा दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा अमेरिकाको हस्तक्षेप र आक्रमणले विश्वसमुदायलाई तरंगित पारेको छ । मदुरो, उनकी पत्नी र छोराले समेत लागु औषधको आतंक फैलाएको र हातहतियार राखेकोमा अमेरिकी अदालतको सामना गर्दै छन् ।

मदुरोको कब्जापछि त्यहाँ ट्रम्पले आफू अनुकूल सरकार नआएसम्म अमेरिकाले शासन गर्ने बताएपनि उपराष्ट्रपति रोड्रिगेज अन्तरिम राष्ट्रपति बनेकी छन् । उनले अमेरिकालाई आफ्नो सत्ताच्यूत राष्ट्रपति मदुरोलाई फिर्ता गर्न आग्रह समेत गरेकी छन् । ट्रम्पले आफ्नो इच्छा विपरीत गए, रोड्रिगेजको हालत मदुराको भन्दा पनि खराब हुने र ठूलो मूल्य चुकाउनुपर्ने धम्की दिइसकेका छन् । मदुरोको कब्जालाई लिएर अमेरिकामा शरण लिई बसेका कतिपय भेनेजुएयाली खुशी छन् । भेनेजुएला र दक्षिण अमेरिकी मुलुकहरुमा मदुरोमाथि गरिएको आक्रमणलाई लिएर अमेरिका विरुद्ध प्रदर्शन भएको छ । रुस, चीन, इरान, ब्राजिलगायतका मुलुकले अमेरिकाले संयुक्त राष्ट्रसंघको मान्यताविपरीत अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै आपत्ति प्रकट गरेका छन् । त्यही अमेरिकाको रणनीतिक साझेदार युरोपेली संघ र जापान, दक्षिण कोरियालगायतका मुलुक मौन बसेका छन् ।

अमेरिकाको चर्चित अखबार द न्यूयोर्क टाइम्सले सम्पादकीय लेख्दै ट्रम्पको सो कदम गैरकानुनी र मुख्याई भएको भन्दै टिप्पणी गरेको छ । ट्रम्पले काराकसलाई धम्की दिँदै पछिल्ला केही महिनादेखि सो क्षेत्रमा सैन्य बल लादेको, लागु औषधको कन्टेनर पक्राउ गर्ने भन्दै १५ हजार सैनिक, कम्तिमा सात वटा युद्ध जहाज परिचालन गरेको थियो । यद्यपि, अमेरिकाको विदेश नीतिलाई हेर्दा अफगानिस्तानमा २० वर्षसम्म पनि स्थिर सरकार गठन गर्न नसकेर बीचमै छाड्नु, लिवियामा तानाशाही सरकार हटाउँदै छिन्नभिन्न अवस्थामा देशलाई पु¥याउनु तथा सन् २००३ को इराक र मध्यपूर्वको अशान्त बनाएर छाडेका उदाहरणले भेनेजुएलाको भविष्य सुखद देखिँदैन । त्यति मात्र होइन, दक्षिण अमेरिकामा अमेरिकाले वर्षौदेखि अस्थितरता निम्त्याउन चिली, क्युवा, ग्वाटेमाला र निकारागुवाको सरकारलाई सैन्य फौजबाट सत्ताच्यूत गर्न अमेरिकाको भूमिका गलत भएको द न्यूयोर्क टाइम्सको टिप्पणी छ ।

त्यसो त मदुरो आफैँ विवाद भन्दा पर छैनन् । पूर्व राष्ट्रपति ह्युगो चाभेजको निधनपछि उत्तराधिकारीको रुपमा उदाएका मदुरोले १२ वर्षदेखि शासन गर्दै थिए । उनको तानाशाही र शासनकालमा विपक्षी नेता र विरोधीहरुलाई गरेको हिंसा, यौन हिंसा, हत्या, यातनाबारे हालै संयुक्त राष्ट्रसंघले रिपोर्ट समेत सार्वजनिक गरेको थियो ।

आखिर राष्ट्रपति ट्रम्पले किन एकाएक भेनेजुएलामाथि आक्रमण गरे, त्यो बारेमा बुझ्न ट्रम्प सत्तामा आएपछि उनले चालेको नीतिहरुमा नजर दिन जरुरी छ । कतिपयले ट्रम्पले भेनेजुएलामा गरेको आक्रमण त्यहाँको पेट्रोलियम पद्धार्थमाथि वासिंटनको लोभ बताइरहेका छन् । हो, तेल रिजर्भमा भेनेजुएला विश्वको सबैभन्दा ठूलो मुलुक मानिन्छ । यहाँ ३०३ विलियन ब्यारेल तेल छ । तर, तेलको खपत विश्वव्यापी रुपमा कम हुँदै गएको छ । सन् २०२५मा तेल २५ प्रतिशतले कम हुँदै छ । विद्युतीय सवपारी, सौर्य प्यानल, ब्याटरी, सेमी कन्डक्टर, दुर्लभ खनिज पद्धार्थले विश्व बजार कब्जा गर्दैछ । दुर्लभ खनिज र चुम्बक बजारको बादशाह चीन बन्दैछ । तामा, आल्मुनियम, लिथियम र दुर्लभ खनिजजस्ता धातुमा चीनको ‘मोनोपोली’ चल्छ । हालै ट्रम्पले फ्रि ट्रेड नीतिको विरुद्ध अमेरिकी व्यापार घाटा कम गर्ने भन्दै गरेको ‘ट्यारिफ वार’ मा वासिंटनले बेइजिङमाथि चर्को कर लगाएपनि दुर्लभ खनिज र धातुको प्रतिबन्ध लगाएपछि ट्रम्प प्रशासन लचिलो हुनुपरेको थियो । अमेरिका यस्तो भविष्य त कतै चाहँदैन, जहाँ उसको उद्योग चीनको वस्तुमा निर्भर होस् । त्यसैले ट्रम्प प्रशासनसँग एउटै विकल्प रह्यो, त्यो भनेको दक्षिण अमेरिकाको एन्डिज क्षेत्रमा रहेको खनिज पद्धार्थको ठूलो भण्डारबाट बेइजिङलाई बञ्चित गराउने । एन्डिज क्षेत्र अन्तर्गत चिली, पेरु, बोलेभिया, अर्जेन्टिना र पुछारमा भेनेजुएला पर्छन् । जुन खनिज पद्धार्थ प्रचुर मात्रा रहेको क्षेत्र मानिन्छ । विश्वको सबैभन्दा धेरै तामा उत्पादन गर्ने मुलुकमा पेरु पर्छ । तर, तामा प्रशोधन गर्न त्यहाँको उद्योग एक तिहाइ चीनको अधिनमा छ भने ल्याटिन अमेरिकी क्षेत्रमा चीनको बीआरआइ अन्तर्गतका परियोजना पनि प्रशस्त छन् । त्यसैले ट्रम्पले भेनेजुएलामा आक्रमण गर्न बाध्य भए । कतिपयले भेनेजुएला त मात्र गन्तव्य पुग्ने मार्ग मात्र भएको, खास अमेरिकाको नजर पेरु रहेको कतिपयको विश्लेषण छ ।

फेरि, यो पनि यर्थाथ हो, चीनले आफ्नो पुरानो व्यापारिक मार्ग भनेर चिनिने रेशम मार्ग व्युँताउदै दक्षिण अमेरिकी महादेशका कोलम्बिया, पेरु, चिली, ब्राजिल, बोलिभियामा व्यापाक लगानी गरेर आफ्नो प्रभुत्व कायम गरिरहेको छ । त्यसले अमेरिकाको स्थायी महाशक्ति राष्ट्र बन्ने अठोटमा ठेस लाग्ने नै भयो । त्यसैले, ट्रम्प प्रशासनले भेनेजुएलामा गरेको आक्रमणलाई शक्ति राष्ट्रको होडबाजीको रुपमा हेरिएको छ ।

(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)