न्यायालयविरुद्ध सार्वजनिक टिप्पणी बढ्दै, न्याय सम्पादन प्रभावित हुने चिन्ता
- काठमाडौंपछिल्लो केहि समययता कानुन पालना गराउने सर्वोच्च निकाय अदालतका न्यायाधीशहरुमाथि सार्वजनिक रुपमा आक्रमण हुन थालेको गुनासो बढ्दै गएको छ । विशेषगरि सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमबाट न्यायालय र न्यायाधीशलाई लक्षित गरि आक्रमण भएको सम्बन्द्ध क्षेत्रका अधिकारीहरु बताउँछन् । न्यायसम्पादनका क्रममा हुने काम कारबाहीमाथि नै प्रश्न उठ्ने गरि सार्वजनिक रुपमा भएका टिका टिप्पणीलले न्याय क्षेत्रमा हलचलको स्थिति उत्पन्न भएको छ । न्यायालयबाट भएका फैसला र आदेशप्रति चित्त नबुझेमा काुननी उपाए अपनाउन सकिने व्यवस्था भए पनि सार्वजनिक रुपमा टिप्पणी गर्दा न्याय सम्पादनमा समस्या हुने कानुनी क्षेत्रका अधिकारीहरु बताउँछन् ।
केही दिनअघि सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सञ्चारकर्मीसँग कुरा गर्दै न्यायालयमाथि पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत् भएका टिप्पणी र गलत प्रचारको फेहरिस्त पेश गरेका थिए । सो क्रममा प्रधानन्यायाधीश राउतले दिएका अभिव्यक्तिले सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट समग्र न्यायपालिकालाई अप्ठ्यारोमा पारेको बुझ्न कठिन छैन । सामाजिक सञ्जालमा अदालत र न्यायाधीशप्रति दुराशयपूर्ण सामाग्री प्रयोग भइरहेको उनको भनाइ थियो । अभिव्यक्ति स्वतन्त्रताका नाममा अदालत र न्यायाधिश माथि नै आक्रमण गर्ने छुट कसैलाई नहुने प्रधानन्यायाधीश राउतले बताए ।
प्रधानन्यायाधीशको अभिव्यक्तिको पृष्ठभूमिमा सामाजिक सञ्जालमा न्यायाधीश विशेषलाई जोडेर प्रकाशित सामाग्री निकै चर्चामा थिए । कतिसम्म भने सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफूबारे आएका सामाग्रीको सन्दर्भमा सामाजिक सञ्जालबाटै धारणा व्यक्त गरे । आफ्नो फेसबुकमा न्यायाधिश श्रेष्ठले भनेका छन्, ‘मेरो सम्बन्धमा फेसबुकमा आएका विषयलाई सूचना मानी सम्बन्धित निकायबाट छानबिन होस् । म पूरा सहयोग गर्न तयार छु । कृपया छानविनको नतिजा पनि आइदेओस् । गल्ती भएको देखिए जुनसुकै सजाय भोग्न तयार छु ।’ उनको यो अभिव्यक्तिले न्याय क्षेत्रलाई तरंगित बनायो । कतिपय व्यक्तिले प्रधानन्याधीशको सचिवालयमा फोन समेत गरेर मुद्दाको विषयमा वार्तामा बस्नुपर्ने अभिव्यक्ति दिएको घटना समेत सार्वजनिक भएका छन् ।
राज्यका अन्य निकायमा जस्तै न्यायपालिकामा समेत विकृति, विसंगति, अनियमितता र भ्रष्टाचार ठूलो समस्या बन्दै गएको आम बुझाइ देखिन्छ । त्यही परिपेक्ष्यमा २०७८ सालमा तत्कालिन न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित समितिले न्यायपालिकामा सुधारका लागि कार्ययोजनासहितको सुझाव प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनले न्यायपालिकामा सुधार गर्नुपर्ने विषय र अदालतप्रति आम नागरिकको विश्वास र भरोसा कायम राख्न चाल्नुपर्ने कदमहरु सुझावको रुपमा समेटेको थियो । र, प्रतिवेदन कार्यन्वयनका लागि काम पनि हुँदै आएका छन् । तर न्यायपालिकामाथि अनेकौं टिप्पणी र लान्छना लगाउने क्रम रोकिएको छैन । अदालतबाट भए गरेका फैसला र आदेशलाई लिएर आलोचना गर्न पाइने भए पनि निन्दा गर्न भने नपाइने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी बताउँछन् । न्यायपालिकालाई नै कमजोर बनाउने गरी भइरहेको गतिविधिलाई स्विकार गर्न नसकिने त्रिपाठीको भनाइ छ ।
न्यायसम्पादनमा ढिलाई भइरहेको गुनासोका बीच भदौमा भएको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित विभिन्न अदालतमा समेत आगजनी र तोडफोडका घटना भएका थिए । र, सो क्रममा ठूलो संख्यामा मुद्दाका फाइल र मिसिल जलेका छन् । आन्दोलनका क्रममा देशभरका २३ अदालतमाथि आगजनी र क्षति भएको थियो । जसबाट ९ लाख ३३ हजार मुद्दाका कागजात जलेर नष्ट भएको बताइन्छ । यसले गर्दा पनि न्यायसम्पादनलाई अप्ठ्यारो पारेको देखिन्छ । न्यायालयबाट भएका फैसला र आदेश चित्त नबुझेमा कानूनी उपाय अपनाउन सकिने व्यवस्था रहेपनि त्यसो हुन नसकेको कतिपयको बुझाइ छ । न्यायमूर्तीमाथि सार्वजनिक रुपमा हुने टिप्पणीले स्वच्छ र निष्पक्ष न्यायसम्पादनलाई प्रभाव पार्ने सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले बताए ।
न्यायपालिकाप्रति भइरहेका आक्रामक टिप्पणी र आलोचनालाई सम्बद्ध पक्षले गम्भीर रुपमा लिएका छन् । न्यायाधीश समाज, नेपालले केही साताअघि वक्तव्य जारी गर्दै न्यायपालिका तथा न्यायकर्मीहरुमाथि पछिल्ला दिनहरूमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत भइरहेका टिप्पणी र आलोचनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको थियो । न्यायाधीश समाजको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला दिनहरुमा भइरहेका टिप्पणी र आलोचनाहरु ‘सुधारको भावनाबाट प्रेरित रहेको भन्दा पनि पूर्वाग्रहपूर्ण, प्रतिशोधपूर्ण र तथ्यहीन’ देखिएका छन् । अदालतविरुद्ध भइरहेको प्रचारलाई रोक्नुपर्ने भन्दै कानून व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले सामाजिक सञ्जाल लगायतबाट भएका टिकाटिप्पणीले स्वतन्त्र न्याय सम्पादनमा बाधा उत्पन्न गर्ने बताएको छ ।
सर्वोच्चसहित विभिन्न अदालतमा गरी १ लाख ४८ हजार भन्दा बढी मद्दा विचाराधिन रहेको तथ्याङ्क केही महिनाअघि सार्वजनिक भएको थियो । यस्तो अवस्थामा प्रधानन्यायाधीशसहित न्यायाधीशले छिटो न्यायसम्पादन गरी मुद्दाको चाप घटाउने प्रतिबद्धता पनि जनाउँदै आएका हुन् । तर आशातित रुपमा मुद्दाको किनारा लाग्न सकेको देखिँदैन । न्यायपालिकाले आफ्नो तर्फबाट स्वच्छ र निष्पक्ष न्यायसम्पादनका लागि पहल गरेपनि अदालतप्रति बढ्दै असन्तुष्टीलाई सम्बोधन गर्न ढिलाइ भइसकेको छ । त्यसैले अदालत र न्यायिक नेतृत्वले कमीकमजोरी सुधार गर्र्दै अघि बढ्नुपर्नेछ भने आम नागरिकले पनि न्यायालयप्रति नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति त्याग्नुपर्ने देखिन्छ ।