विश्लेषण

पेट्रोलियम पदार्थमा इथानोल मिसाउँदा इन्धनको परनिर्भता घट्ने अपेक्षा

- नविन कोइराला काठमाडौं

नेपालमा पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गरि प्रयोग गर्ने बाटो खुलेको छ । सरकारले हालै गरेको निर्णय कार्यान्वयनमा आएपछि वैकल्पिक ऊर्जाको प्रयोग प्रवर्द्धन हुनुका साथै आयातित पेट्रोलियम पदार्थमा निर्भरता घट्ने अपेक्षा गरिएको छ । वातावरणीय प्रदूषण न्यूनीकरणमा समेत इथानोलको प्रयोगले सहयोग गर्ने भएपनि सम्वन्धित पक्षसँग परामर्श नभएको टिप्पणी भएका छन् ।

पछिल्ला वर्षहरुमा बढ्दो पेट्रोलियम पदार्थको आयात, विदेशी मुद्रा खर्च तथा वातावरणीय चुनौतीका कारण इथानोल मिश्रणलाई वैकल्पिक उपायका रुपमा प्रयोग गर्नका लागि सरकारले नयाँ विधि अपनाएको हो । इथानोलको मिश्रण विश्वका विभिन्न देशमा इन्धनको वैकल्पिक स्रोतका रुपमा प्रयोग भइसके पनि नेपालमा भने पहिलो पटक गर्न लागिएको छ । हाल देशभित्र नेपाल आयल निगमले अहिले दैनिक २० लाख लिटर पेट्रोल आयात गर्दै आएको छ । हालको बजार मुल्य अनुसार यो परिमाणको आयात गर्दा दैनिक झण्डै १ करोड ८० लाख रुपैयाँ बाहिरिने गरेको छ । तर, सरकारले अघि बढाएको इथानोलयुक्त पेट्रोलको विक्रि वितरण गर्न सके मोटो रकम बचत हुने देखिन्छ । इथानोल मिसाइएको पोट्रोलियम पदार्थ प्रयोग गर्न सके विदेशी मुद्रा सञ्चितिमा थप सुधार आउने आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्ट बताउँछन् ।

मुख्यतया उखु, मकै लगायतबाट उत्पादन हुने इथानोलको प्रयोग रक्सीजन्य पेय पदार्थ सहित अस्पतालमा घाउ सफा गर्न, हात धुन प्रयोग गरिने स्यानिटाइजर बनाउन र गाडीको इन्धनको रुपमा समेत हुने गरेको छ । सरकारी अधिकारीहरुका अनुसार ९९ दशमलव ५ प्रतिशत शुद्धता भएको इथानोल पेट्रोलमा राख्ने गरिन्छ । इथानोल नेपालका लागि नयाँ विषय भए पनि पेट्रोल उत्पादन हुने अन्य मुलुकमा यसको प्रयोग बढ्दै गएको छ । भारतले २० प्रतिशत इथानोल मिश्रित पेट्रोल बिक्रीवितरण गर्दै आएको छ भने अमेरिकाको कतिपय क्षेत्रमा ८० प्रतिशतसम्म इथानोल प्रयोग हुने गरेको पेट्रोलियम क्षेत्रका जानकार बताउँछन् ।

नेपालमा सञ्चालनमा रहेका विभिन्न चिनी मिलबाट निस्किएका कच्चा पदार्थबाट इथानोल उत्पादन हुँदै आएको छ । हाल सञ्चालनमा रहेका नेपाली चिनी उद्योगले दैनिक ५० हजार लिटरसम्म इथानोल उत्पादन गर्न सक्ने क्षमता रहेको बताएका छन् । यसरी उत्पादन हुने इथानोललाई नेपालले आगामी दिनहरुमा इन्धनको वैकल्पिक उपाय अपनाउन लागेको हो । तर, यसरी प्रयोग गर्न लागिएको इथानोलका बारेमा सरकारले सम्बद्ध पक्षसँग कुनै सम्वाद नगरेको उनीहरुको भनाइ छ । इथानोलको प्रयोग गर्ने विषयबारे कुनै जानकारी नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

सार्वजनिक यातायात व्यवसायी जस्तै वातावरण क्षेत्रका विज्ञहरु पनि इथानोल मिश्रणको विषयमा थप अध्ययन आवश्यक रहेको बताउँछन् । वातावरणविद् भूपेन्द्र दासका अनुसार इथानोल प्रयोगले वातावरणीय प्रदूषण न्यूनीकरण गर्न सहयोग पु¥याउने सम्भावना भए पनि यससम्बन्धी पर्याप्त र गहिरो अध्ययन अझै हुन सकेको छैन । वातावरण प्रदूषण कम गर्न इथानोलले सहयोग गर्ने भए पनि सवारीको इन्जिन र क्षमताको विषयबारे अध्ययन गर्नुपर्ने बताउँछन् ।

यसअघि सरकारले २०६० सालमा पेट्रोलमा इथानोल मिसाउन स्वीकृति दिएको थियो । तर पर्याप्त तयारी र स्पष्ट कानुनको अभावमा कार्यान्वयनमा आउन सकेको थिएन । इन्धनको खपत कम गर्न भन्दै सरकारले विद्युतिय सवारी सधानकोे प्रयोग गर्न प्रोत्साहन गर्दै आइरहेको सन्दर्भमा सरकारले लामो समय देखि थाँती रहेको योजना अघि बढाएको हो । विद्युतिय सवारी सधानको प्रयोग तीव्र रुपमा अघि बढिरहेपनि नेपाल जस्तो मुलुकमा इथानोलको प्रयोग अझै केही दशक फलदायी हुने जानकारहरुको बझाइ छ ।

पेट्रोलमा इथानोल मिसाउने सरकारको निर्णय आर्थिक र वातावरणीय दृष्टिले स्वागतयोग्य भए पनि कार्यान्वयनको विषयलाई लिएर सम्बद्ध अधिकारीहरु अझै विश्वस्त हुन सकेको देखिँदैन । सार्वजनिक यातायात व्यवसायीमा देखिएको दुविधा र प्राविधिक अनुसन्धानको क्षेत्रमा पनि अझै केहि तयारी गर्नुपर्ने उनीहरुको सुझाव छ । इथानोलको व्यवसायिक उत्पादन गरि विक्रि वितरण गर्ने तयारी भइरहँदा मूल्य निर्धारण, सवारी सधानको इन्जिनमा पर्ने असरबारे पनि व्यापक परामर्श गरि उपयुक्त नीति निर्माणमा सरोकारवाला निकायले पहलकदमी लिनुपर्नेछ ।