बैदेशिक रोजगारीमा जाने नेपाली महिलाको संख्या वर्षेनि बढ्दै
- काठमाडौंबैदेशिक रोजगारीमा जाने नेपाली महिलाको संख्या वर्षेनि बढ्दो क्रममा रहेको पाइएको छ । गन्तव्य मुलुकमा विभिन्न समस्या भोग्नुपर्ने अवस्था भएपनि रोजगारीका लागि जाने महिलाको संख्या बढेको हो । पछिल्लो तथ्याङ्कलाई हेर्दा १८ देखि ४४ वर्षको उमेर समूहका महिला सबैभन्दा धेरै वैदेशिक रोजगारीमा गएका छन् ।
बैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जानेमध्ये महिलाको संख्या पाँच वर्षअघि ५ प्रतिशत थियो भने अहिले ११ दशमलव ९ प्रतिशत पुगेको छ ।
रोजगारीका लागि विदेश जाने महिलाको संख्याबारे जानकारी दिँदै विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले भने, ‘पछिल्लो समय घरपरिवारको जिम्मेवारी सम्हालेका महिलाको संख्या बढ्दो क्रममा रहेको छ ।’
गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा गएका कुल ८ लाख ३९ हजार २ सय ६६ मध्ये महिलाको संख्या ९४ हजार ४ सय ५५ छ । यस्तै तथ्यांकलाई मध्यनजर गर्दा विगत एक दशकयता बैदेशिक रोजगारीका लागि विदेश जाने महिलाको संख्या बढिरहेको देखिन्छ । १७ बर्षअघिसम्म कूल श्रमस्वीकृति लिनेमध्ये ३ दशमलव ९ प्रतिशत महिला थिए ।
श्रमस्वीकृति नलिई पनि विदेश जाने क्रम नरोकिएकाले रोजगारीका लागि जाने महिलाको संऋया अझ बढि हुन सक्ने बताइन्छ । नेपाली महिला कामदार सबैभन्दा धेरै यूएई, कुवेत, कतार र मलेसिया लगायत देशमा पुग्ने गरेका छन् ।
पछिल्ला बर्षमा खाडी मुलुक बाहेक क्रोएसिया र माल्टा सहितका देशमा जाने महिलाको संख्या पनि बढ्दो क्रममा छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले भने, ‘नेपाल सरकारले तोकेका देशहरु भन्दा पनि अन्य देशमा श्रमस्वीकृति विना पनि पुगेको भेटिएका छन् । यद्यपी, यसको यकिन तथ्यांक भने छैन ।’
चालु अर्थिक वर्ष २०८२/८३ को तथ्यांक हेर्ने हो भने पनि अझै बढ्ने आंकलन विज्ञहरुले गरेका छन् । चालु आर्थिक वर्षको मंसिर महिनामा मात्रै २९ हजार ६ सय १८ जनाले बैदेशिक रोजगारीका लागी श्रम स्वीकृति लिएका छन् ।
त्यसमा पनि ४ हजार ४ सय ८६ जना महिला रहेको सरकारी तथ्यांकमा उल्लेख छ । अन्तराष्ट्रिय श्रम संगठनको एक प्रतिवेदन अनुसार अरब देशमा ६६ लाख विदेशी घरेलु कामदार कार्यरत छन् ।
त्यसमध्ये करिब ४ प्रतिशत नेपाली रहेको आँकलन गरिएको छ । तीमध्ये एक तिहाइ महिला बाल हेरचाहकर्ता, सफाइ कर्मचारी तथा वृद्धवृद्धा हेरचाहकर्ताको रूपमा कार्यरत छन् ।
रोजगारीमा जाने नेपाली महिलाको संख्या बढ्नुमा विभिन्न कारणहरु देखिएका छन् । श्रम आप्रवासन विज्ञ मीना पौडेलले भनिन्, ‘नेपालमा आन्तरीक रोजगारीका अवसरहरु न्यून छन् । नेपालमा बेथिति पनि बढ्दो छ । श्रमस्वीकृति नलिइ जानेको संख्यापनि रोकिने अवस्थामा छैन। नेपाल सरकारले गम्भीर भएर लाग्ने बेला आएको छ ।’
बैदेशिक रोजगारीको प्रवृत्तिलाई हेर्दा देशभित्र पर्याप्त रोजगारी नहुँदा र विदेशमा बढी कमाउन सकिन्छ भन्ने बुझाइमा व्याप्त बन्दैछ । कमाइको हिसाबमा राम्रै भएपनि वैदेशिक रोजगारीमा जाँदा महिलाहरुले अनेकौं समस्या झेलिरहेका छन् ।
प्रतिवेदनका अनुसार ट्रान्जिट, रोजगारी र देश विशेषबाट फिर्ता हुने महिला घरेलु कामदारले विशेषगरी राहदानी जफत, लैङ्गिक हिंसा र असुरक्षित जीवनयापन जस्ता समस्या भोगिरहेको पाइन्छ ।